अस्पताल नै खाली हुने गरी चुनावमा खटाइए स्वास्थ्यकर्मी
हुम्ला । जिल्ला अस्पताल हुम्लाका स्वास्थ्यकर्मी चुनावमा खटिँदा स्वास्थ्य सेवा नै प्रभावित बनेको छ । अस्पताल नै खाली हुने गरी जिल्ला स्वास्थ्यसँगको समन्वयविनै कर्मचारी खटाइँदा एक्सरे सेवा ३० कात्तिकदेखि बन्द छ भने आकस्मिक सेवा, ल्याब, फार्मेसी, परिवार नियोजन सेवा पनि प्रभावित बनेका छन् ।
फुटबल खेल्दा हात भाँचिएर उपचारका लागि अस्पताल पुगेका भीम बुढा स्वास्थ्यकर्मी नहुँदा त्यसै फर्किएका छन् । खार्पुनाथ गाउँपालिका– ३ घर भई सिमकोट मावि कक्षा १० मा अध्ययनरत बुढाको हात फुटबल खेल्दै गर्दा भाँचिएको थियो । ‘अस्पताल त गएँ, तर एक्सरेसमेत भएन, जिल्लामा अन्यत्र कतै एक्सरे गर्ने ठाउँ छैन,’ बुढाले भने, ‘एक्सरे सेवाका कर्मचारी चुनावमा खटिनुभएको रहेछ, अब चुनावपछि एक्सरे गर्नुपर्ला ।’
एक्सरे सेवामा दुईजना कर्मचारी रहेकामा दुवैजना चुनावमा खटिएका छन् । नयाँ पत्रिकाकर्मी जिल्ला अस्पताल पुग्दा सिमकोट गाउँपालिका– ५ का बिजु रोकाया उपचारका लागि पुगेका थिए । पिसाब रोकिएपछि अस्पताल आए पनि उपचार नभएको भन्दै उनी भौँतारिरहेका थिए । पारा मेडिक्सका सातैजना निर्वाचनमा खटिएकाले उनको उपचार हुन नसकेको हो ।
सातजना नर्सिङ स्टाफ रहेकामा दुईजना मात्र आकस्मिक सेवामा काम गरिरहेका छन्, बाँकी सबैलाई निर्वाचनमा खटाइएको छ । ल्याबका ६ जना निर्वाचनमा खटिँदा एकजनाले मात्र धानिरहेका छन् । अस्पतालमा ६ जना चिकित्सक रहे पनि डा. रोशन रावत निर्वाचन अधिकृत भएर खटिएका छन् ।
अस्पतालमा भेटिएका डा. कृशान्त भण्डारीले पनि स्वास्थ्यकर्मी चुनावमा खटिँदा अस्पतालको सेवा प्रभावित भएको स्वीकार गरे । ‘औषधिको पनि कमी थियो, त्यसैमा कर्मचारी पनि चुनावमा गएका छन्,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया