NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न पौडेलले मागे माधवको साथ

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेपालनिवास कोटेश्वर पुगेर वरिष्ठ नेता पौडेलले सोमबार बिहान भेटवार्ता गरेका हुन् ।

कांग्रेस वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीका आकांक्षी छन् । यसका लागि माहोल निर्माण गर्न पौडेल केही समयदेखि सक्रिय छन् । उनले सोमबार भएको नेपालसँगको भेटमा पनि आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेको बताइएको छ । साथै उनले गठबन्धनको निरन्तरतामा पनि जोड दिए ।

जवाफमा नेपालले प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताएको नेपालका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए ।

कांग्रेसमा यस पटक सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापालगायत नेता प्रधानमन्त्रीका आकांक्षी छन् । प्रधानमन्त्रीको उम्मेदवार हुन नेपाली कांग्रेसमा सबैभन्दा पहिले पार्टीको संसदीय दलमा निर्वाचित हुनुपर्छ । तर संसदीय दलको नेताको टुंगो नलाग्दै पौडेल अहिलेदेखि नै आन्तरिक गृहकार्यमा जुटेका छन् । यसक्रममा उनले विभिन्न दलका नेतासँग भेटवार्ता गरिसकेका छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन हुने भएको छ । तर अहिलेसम्म कसको नेतृत्वमा सरकार गठन हुने टुंगो लागेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले यही गठबन्धनलाई निरन्तरता दिएर आफू दोहोरिन चाहे पनि सरकार निर्माणमा निर्णायक मानिने माओवादी केन्द्रले कुनै प्रतिक्रिया जनाएको छैन ।

उता, नेकपा एमालेले पनि माओवादीलगायत दललाई आफूतिर तानेर सरकार निर्माण गर्ने चाहना देखाउन थालेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष