धान बिक्री नहुँदा बाँकेका किसान मर्कामा
बाँके । बाँकेका किसान उत्पादन गरेको धान सरकारले खरिद नगर्दा मर्कामा परेका छन् ।
नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।
सरकारले यसवर्ष मोटा धानको समर्थन मूल्य दुई हजार नौ सय ६७ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई दुई हजार चार सय चारमा बिक्री गरिरहेको डुडुवा कम्दीका किसान हरिराम यादव बताए ।
रकम अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उनको भनाइ छ । खजुरा-३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउँछन् ।
सरकारले तोकेभन्दा प्रतिक्विन्टल पाँच सय कममा व्यापारीले धान खरिद गरिरहेको उनको भनाइ छ । नेपालगञ्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् ।
उक्त कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद नभएको बताए ।
धान खरिदका लागि छलफल चलिरहेको भन्दै उनले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताए । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया