समानुपातिक तर्फको सिट बाँडफाँट अन्तिम चरणमा
काठमाडौं । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ।
आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उक्त प्रणालीअन्तर्गत राजनीतिक दलहरूले प्राप्त गरेको मतसङ्ख्या, प्रतिशत र सिट सङ्ख्या निर्धारण गरी सोबारे निर्णयको प्रस्ताव तयार गरेको छ ।
मुख्य निर्वाचन अधिकृत आयोगका सचिव गोकर्णमणि दुवाडी, सम्बन्धित उच्च अधिकारी र तथ्याङ्कसम्बन्धी विज्ञ सो कार्यमा संलग्न छन् । सो कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आँकडा र निर्वाचन अधिकृतिको कार्यालयबाट लिखतरूपमा प्राप्त विवरणलाई भिडाएर अलगअलग परिणाम प्रतिवेदन (प्रस्ताव) को तयारी गरिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै सबै परिणामको विवरण टुङ्गो लगाउन निर्देशन दिएका छन ।
आयोगबाट निर्णयलगत्तै बुधबार सम्बन्धित दललाई पत्र पठाइनेछ । प्रतिनिधि सभा तर्फ कूल सदर मतको तीन र प्रदेशसभातर्फ कूल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउने दलले थ्रेस होल्ड कटाएको मानी स्थान निर्धारण गरिनेछ ।
उक्त थ्रेसहोल्डको प्रतिशत कटाए पनि प्रति सांसदका लागि आवश्यक पर्ने मतभार बराबरको मत सङ्ख्या प्राप्त नगरेमा ती दलले समानुपातिकमा सदस्य सिफारिस गर्न पाउने छैनन् ।
आयोगमा दलहरूले बुझाएको समानुपातिकका उम्मेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम समावेशी समूह मिलाएर सिफारिसका लागि दलहरूलाई पत्राचार गर्नेछ ।
सोका लागि दलहरूले प्रतिनिधिसभा र प्रदेशसभातर्फ संसाेधित कानुन अनुसार तीन दिन समय पाउनेछन् । दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २६ गतेभित्रमा निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया