NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

लियोनल मेस्सी : पेले र म्याराडोनाको कीर्तिमानबाट अब कति टाढा ?

सेमिफाइनलमा क्रोएसियालाई पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले मनाएको उत्सवलाई दर्शकले लामो समयसम्म सम्झिरहनेछन् ।

त्यस पल मैदानमा गोलो घेरा बनाएर खुसी मनाउँदै खेलाडीहरू अर्कै संसारमा पुगेका थिए ।

यस संसारको नाम हो, ‘विश्वकप फुटबलको फाइनल ।

सन् २०२२ को कतार विश्वकपमा ३२ देश मैदानमा उत्रिएकोमा अर्जेन्टिनासहित फ्रान्स फाइनलमा पुगेका छन् । अर्जेन्टिनाले छैटौं पटक फाइनलमा स्थान कायम गरेको हो ।यसअघि यो टोली सन् २०१४ मा पनि फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा प्लेयर अफ द म्याच चुनिएका लियोनल मेस्सी त्यतिबेला २७ वर्षका थिए । उनी २०२६ को विश्वकपमा अर्जेन्टिनाको टोलीमा रहने वा नरहने भन्ने विषयमा सबै विज्ञहरु बहस गरिरहेका छन् ।

‘मेस्सीको जादू जारी छ’

भूत र भविष्यभन्दा बाहिरको वर्तमानलाई हेर्नेहरूमध्ये धेरैले मेस्सीको निपुणता र उनको जादूलाई हेर्छन्। उनलाई सर्वकालीन खेलाडीद्वय ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासँग तुलना गरिन्छ । यी दुई महान् खेलाडी र मेस्सीमा केही अन्तर छ । उनीहरूले आफ्नो देशलाई विश्वकप दिलाएका थिए भने मेस्सी करिअरको अन्ततिर प्रयासरत छन् ।

अझै पनि विश्व मेस्सीप्रति विश्वस्त छ । उनका प्रशंसकहरूमा पूर्व खेलाडीदेखि अन्य क्षेत्रका दिग्गजहरू छन् , जो मेसीले अर्जेन्टिनाका लागि ट्रपी उचालून भन्ने चाहन्छन् ।

इङ्ल्यान्डका पूर्व फुटबलर एलन शियरर अर्जेन्टिना मेस्सीकै कारण फाइनलमा पुगेको बताउँछन् ।

अर्जेन्टिनाको प्रत्येक जितपछि ‘मेस्सी, मेस्सी’ भन्दै स्टेडियम भर्ने र विश्वका कुनाकुनामा दीपावली मनाउने फ्यानहरूको निष्कर्ष पनि एलनकै जस्तो छ ।

क्रोएसियामाथि अर्जेन्टिनाको जितपछि एलन शियररले भने, ‘उनीसँग उस्तै गति नहुन सक्छ, तर अझै पनि उनको जादू चल्छ।’

उनले थपे, ‘सर्वश्रेष्ठ विपक्षीहरू पनि उनीहरूको खेलको अगाडि सामान्य देखिन्छन्, जब वास्तविकतामा ती टोलीहरू त्यति खराब छैनन्।’

विपक्षी पनि विश्वस्त छन्

क्रोएसियाको हकमा पनि त्यस्तै भयो । ब्राजिललाई हराएर अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने स्थान तय गरेको क्रोएसियाको टोली सेमिफाइनलमा यति सजिलै पराजित हुन्छ भन्ने कसैले सोचेका थिएनन् ।

तर सेमिफाइनल खेलको ३४ औं मिनेटमा पेनाल्टी लिन आएका मेस्सीले क्रोएसियाका गोलकिपर डोमिनिक लिभकोभिकलाई चकित पार्दै गोल गरेपछि यो टोलीको डिफेन्स लाइन नै चकनाचुर भयो ।

क्रोएसियाका म्यानेजर ज्लात्को डालिचले मेस्सी चम्किँदाको परिणाम पहिल्यै प्रक्षेपण गरिसकेका रहेछन् ।

प्रतियोगिताबाट आफ्नो टोली बाहिरिएपछि डालिचले भने, ‘मेस्सीको बारेमा धेरै भन्न आवश्यक छैन। उहाँ विश्वकै उत्कृष्ट खेलाडी हुनुहुन्छ। उहाँ आजको उत्कृष्ट र खतरनाक हुनुहुन्थ्यो। हामीले देख्ने आशा गरेका मेस्सी उहाँ नै हुनुहुन्थ्यो ।’

सेमिफाइनलमा मेस्सीको जादू चरमोत्कर्षमा थियो तर उनी एक खेलको मात्रै नायक भने होइनन् । तथ्याङ्कले देखाउँछ कि फुटबल लिजेन्ड र फ्यानहरू उनलाई किन मन पराउँछन्।

सफलताको खुशी मेस्सीको अनुहारमा पनि देखिन्छ र उनको बोलीमा समेत झल्किन्छ ।

फाइनलमा स्थान सुरक्षित गरेलगत्तै मेस्सीले भने, ‘म धेरै रमाइलो गरिरहेको छु। यो विश्वकपमा आफ्नो टोलीलाई मद्दत गर्न पाएकोमा धेरै खुसी छु।’

मेस्सीले यसअघि पनि यस्ता खुसीका क्षण देखेका छन् । सन् २०१४ मा पनि उनको टोली फाइनलमा पुगेको थियो तर अन्तिम मोर्चामा जर्मनीले अपेक्षालाई चकनाचुर पारेको थियो ।

यस पटक पनि यो प्रश्न सोधिएको छ कि पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र ब्राजिलका लागि नेयमारले जे गर्न सकेनन्, के मेस्सीले अर्जेन्टिनाका लागि गर्न सक्छन् ?

यो प्रश्नको कारण पनि छ । ट्रफी र मेस्सीबीच अझै एक खेलको अन्तर छ । फाइनलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्नेछ ।

साउदी अरेबियाको टोलीले महत्त्वपूर्ण अवसरमा अर्जेन्टिनाको टोलीलाई विपक्षी टोलीबाट कसरी दबाबमा राख्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले हराएको थियो । त्यो हारको पीडा मेस्सीको मनमा पनि छ ।

मेस्सी भन्छन्, ‘म भन्न चाहन्छु कि पहिलो खेल हाम्रा लागि ठूलो झट्का थियो। हामीले लगातार ३६ खेल जितेका थियौं। हामीले साउदी अरेबियासँग हार्ने कल्पना पनि गर्न सकेनौं।’

मेस्सीले पनि त्यो हारले आफ्नो टोलीलाई एकताबद्ध बनाएको बताएका छन् ।

उनी भन्छन्, ‘यो सम्पूर्ण टोलीका सदस्यको परीक्षा थियो। हामीले प्रमाणित गरेका छौं कि हामी कति बलियो छौं।आइतवार हुने फाइनलमा पनि यस्तै शैली हुनेछ।’

अन्तिम परीक्षा

फाइनलमा अर्जेन्टिनाले फ्रान्सको सामना गर्दैछ । जसको पहिलो उद्देश्य मेसीलाई रोक्नु हुनेछ । मेस्सीलाई घेरेपछि मात्रै ट्रफी उचाल्न सकिनेछ भन्नेमा सुस्पष्ट भएर मात्र उनीहरू मैदानमा उत्रनेछन् ।

क्रोएसियाको टोलीले पनि सेमिफाइनलको पहिलो केही मिनेटमा नै यस्तै प्रयास गरेको थियो ।

मेस्सी निरन्तर खेलिरहेका छन् । तर अब उमेरले उनलाई साथ दिने छैन । धेरै विज्ञहरू विश्वास गर्छन् कि अर्जेन्टिनाले उनीमाथि राखेको भरोसा कालान्तरमा देशकै लागि समस्याको कारण हुन सक्छ।

तर सेमिफाइनलमा चम्कने २२ वर्षीय स्टारले मेस्सीको आशा जगाउनेछन् । उनको नाम जुलियन अल्भारेज हो।

सेमिफाइनलमा अल्भेरेजले दुई गोल गरेका थिए । पेनाल्टीमा पनि उनको योगदान छ ।

मेस्सी र अल्भारेजको संयोजन कत्तिको विशेष छ भन्ने कुरा यस विश्वकपमा अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ११ गोल ​​मेस्सी र अल्भारेजको योगदानबाट भएका गोलले प्रष्ट पार्छन् ।

तर यो जोडीको सबैभन्दा ठूलो परीक्षा आउन बाँकी छ ।
र, सोही परीक्षाले विश्वकपमा मेस्सीको सहभागिता रोनाल्डो र नेयमारजस्तै निराशाजनक हुन्छ वा पेले र म्याराडोनाजस्तै सफल भन्ने निर्धारण गर्नेछ ।