NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते
विश्वकप फुटबल

यी खेलाडीले तान्नेछन् आज दर्शकको नजर

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को आज मैजारो हुँदैछ । कतारको लुसेल रंगशालामा आज हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन् ।

खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

यी दुवै टिम स्टार खेलाडीले भरिएका छन् । त्यसैले आज धेरै खेलाडीमाथि दर्शकको नजर तानिनेछ ।

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी यसपटक विश्वकपको ट्रफी उचाल्न चाहन्छन् । यो उनका लागि अन्तिम मौका पनि हो । उनले जारी विश्वकपमा अहिलेसम्म पाँच गोल गरेका छन् । फ्रान्सका अर्का स्ट्रार खेलाडी एम्बाप्पेले पनि मेस्सीकै बराबर ५ गोल गरेका छन् । जसले मेस्सीलाई सर्वाधिक गोलकर्ताको रेकर्ड कायम गर्न थप गोल निकाल्नुपर्ने दबाब परेको छ । मेस्सी गोलको खोजीमा हुँदा आजको खेल थप दर्शनीय बन्ने छ ।

विश्वकपको जारी श्रृंखलाको उपाधि अर्जेन्टिजनाको पोल्टामा परेमा उनलाई डिएगो म्याराडोनाको जस्तै ‘आइकन’ दर्जा मिल्नेछ ।

जुलियन अल्भारेज : जारी विश्वकपमा अर्जेन्टिनाका लागि राम्रो प्रदर्शन गर्ने अर्का खेलाडी हुन्, अल्भारेज । उनले अहिलेसम्म चार गोल गरेका छन्। तीव्र गतिमा दौडन सक्ने २२ वर्षीय अल्भारेजे सेमिफाइनलमा क्रोएसियाविरुद्ध ३–० ले जित दिलाउन मेस्सीसँग बलियो साझेदारी गरेका थिए ।

एमिलियानो मार्टिनेज : अर्जेन्टिनाका यी गोलकिपर ६ फिट चार इन्च अग्ला छन्। फाइनल खेल पेनाल्टी सुटआउटमा गएमा मार्टिनेजको भूमिका निर्णायक हुनेछ। उनले नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल र गत वर्ष कोपा अमेरिकाको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा अर्जेन्टिनाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

नहुएल मोलिना : मोलिना यस्ता डिफेन्डर हुन्, जो एक डिफेन्डरमा हुनुपर्ने सबै गुणले निपुर्ण छन् । एट्लेटिको मड्रिड आबद्ध २४ वर्षीय मोलिना विपक्षीका अगाडि घातक बन्दै आएका छन् ।

एन्जो फर्नान्डेज : फर्नान्डेजले जारी विश्वकपलाई विकल्पको रूपमा सुरु गरे, तर मेक्सिकोमाथि अर्जेन्टिनाको जितमा गोल गरेपछि मुख्य आधार बने। उनी अर्जेन्टिनाको मिडफिल्डका प्रमुख खेलाडी हुन् ।

फ्रान्स

केलियन एमबाप्पे : एमबाप्पे आफ्नो गति र गोल गर्ने क्षमताका लागि परिचित छन्। पेरिस सेन्ट जर्मेनबाट क्लब फुटबल खेल्ने २३ वर्षीय स्ट्राइकरले अहिलेसम्म विश्वकपमा मेस्सीबराबर पाँच गोल गरेका छन् । यदि फ्रान्सले अर्जेन्टिनाविरुद्ध जित निकालेमा उनी उत्कृष्ट खेलाडीमा पर्नेछन् ।

एन्टोनी ग्रिजम्यान : ३१ वर्षीय ग्रिजम्यान यस विश्वकपमा फ्रान्सका लागि महत्त्वपूर्ण खेलाडी साबित भएका छन् । फाइनलमा उनको मेस्सीसँगको भिडन्त हेर्न लायक हुनेछ । उनले महत्त्वपूर्ण अवसरमा टोलीका खेलाडीलाई गोल दिलाउन भूमिका खेलेका छन् ।

ह्युगो लोरिस : ३५ वर्षीय ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्ने बाटोमा छन् । उनले फ्रान्सका लागि सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान राखेका छन् ।

राफेल वरन : २९ वर्षीय वरन टोलीको रक्षा पंक्तिका बलियो कडी हुन्। स्पेनिस टोली रियल म्याड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण रह्यो।

ओरेलियन टुचोम्नी : टुचोम्नीले विगत चार वर्षदेखि आफ्नो मिडफिल्ड भूमिकामा पल पोग्बालाई विश्वासपूर्वक बदलेका छन्। मिडफिल्डबाट उनलाई क्रस गर्न अर्जेन्टिनालाई सहज हुनेछैन ।