NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाको पोल्टामा

काठमाडौं । विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

भर्खरै सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि पोल्टामा पारेको हो ।

योसँगै मेसीको आफ्नो करिअरमा विश्वकप उपाधि दिलाउने सपना साकार भएको छ भने फ्रान्सको लगातार च्याम्पियन बन्ने सपना चकनाचुर बनेको छ । फ्रान्स सन् २०१८ मा सम्पन्न विश्वकप फुटबलमा क्रोएसियालाई परास्त गर्दै विजेता बनेको थियो ।

कतारको लुसेल रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ मा सुरु खेल निकै रोमाञ्चक र प्रतिस्पर्धापूर्ण रह्यो । खेलको सुरुवातमा नै दबाबमा परेको फ्रान्सले अर्जेन्टिनाका डि मारियालाई डि एरियामा लडाएपछि पेनाल्टी पाएको थियो । जसलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।

लगत्तै डि मारियाले अर्को गोल फर्काएर अर्जेन्टिनालाई २–० को अग्रता बनाए । जुन गोलमा मेसीले असिस्ट गरेका थिए ।

पहिलो हाफमा २–० ले पछि परेको फ्रान्स दोस्रो हाफमा भने चम्कियो । उसले अर्जेन्टिनाकै शैलीमा दुई गोल गरेर खेललाई बराबरीमा ल्यायो । थपिएको अतिरिक्त समयमा दुवै टिमले समान १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा फ्रान्स अभागी सावित भयो । अर्जेन्टिनाका गोलकिपरले लगातार दुई प्रहार रोकेपछि फ्रान्सको उपाधि रक्षा गर्ने सपना चकनाचुर बनेको हो । अर्जेन्टिनाले ४ प्रहारमा चार गोल निकाल्दा फ्रान्सले २ प्रहार मात्र गोलमा परिणत गर्न सक्यो ।

अर्जेन्टिनाले लामो समयदेखिको उपाधिको खडेरी तोड्दै इतिहास रचेको छ । तेस्रो पटक विश्वकप फुटबलको उपाधि पोल्टामा पारेर अर्जेन्टिनाले इतिहास रचेको हो । यसअघि उसले सन् १९७८ र १९८६ मा उपाधि जितेको थियो ।

योसँगै कतारमा आयोजना गरिएको विश्वकप फुटबल २०२२ को श्रृंखला पूरा भएको छ । यो खेलमा ३२ देशले प्रतिस्पर्धा गरेका थिए ।

फुटबलको कुम्भ मेला मानिने विश्वकप फुटबलको अर्को श्रृंखला अब सन् २०२६ मा हुनेछ ।