जब स्तब्ध एम्बाप्पेलाई सान्त्वना दिन राष्ट्रपति नै मैदानमा पुगे

काठमाडौं । कतारको लुसेल रंगशालामा गएराति सम्पन्न विश्वकप फुटबलको फाइनल निकै नै रोमाञ्चक र प्रतिस्पर्धापूर्ण रह्यो ।
पहिलो हाफमा दुई गोल गरेर फ्रान्सलाई दबाबमा राखेको अर्जेन्टिनाले दोस्रो हाफको करिब अन्त्यतिर त्यसलाई रक्षा गर्न सकेन । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै फ्रान्सले खेल बराबरीमा ल्यायो ।
८० औं मिनेटमा पेनाल्टीबाट गोल गरेका एम्बाप्पेले लगत्तै ८१ औं मिनेटमा अर्को चामत्कारिक गोल गरेर अर्जेन्टिनालाई दबाबमा पारेका थिए ।
खेलको १०८ औं मिनेटमा मेस्सीले पुनः अर्को गोल फर्काएर अर्जेन्टिनालाई अग्रता त दिलाएका थिए तर त्यो एम्बाप्पेका अगाडि १० मिनेट पनि टिकेन । ११८ औं मिनेटमा ह्याट्रिक पूरा गर्दै एम्बाप्पेले सहज जित निकाल्ने अर्जेन्टिनाको चाहना पूरा हुन दिएनन् । तर एम्बाप्पेको यो ह्याट्रिकले पनि यस पटक फ्रान्सलाई विश्व च्याम्पियन भने बनाउन सकेन ।
थपिएको अतिरिक्त समयमा हारजित नभएपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेको खेलमा फ्रान्सलाई स्तब्ध पार्दै अर्जेन्टिनाले ४–२ को जित निकाल्यो । अर्जेन्टिनाका खेलाडीले गरेको चार प्रहार गोलमा परिणत हुँदा एम्बाप्पेपछिका दुई खेलाडीको प्रहारलाई रोकेर अर्जेन्टिनाका गोलरक्षक नायक बने ।
जितपछि अर्जेन्टिनाको टोलीले उत्सव मनाइरहँदा एम्बाप्पे भने निकै निराश मुद्रामा मैदानमा बसिरहे ।
उनलाई साहस र सान्त्वना दिन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन स्वयं मैदान प्रवेश गरेका थिए । उनले एमबाप्पेको पिठ्युँ मुसारेर सान्त्वना दिए तर एम्बाप्पे शान्त रहे । निराश अनुहारको मुद्रामा कुनै परिवर्तन आएन ।
यसपछि म्याक्रोनले उनलाई अँगालो हालेर टाउकोमा हात हालेर केही भने । र पनि एम्बाप्पेको हाउभाउमा कुनै परिवर्तन आएन ।
एम्बाप्पेलाई सान्त्वना दिइरहेको म्याक्रोनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । मानिसहरूले फ्रान्स र एमबाप्पेको प्रदर्शनको तारिफ गरिरहेका छन्।
म्याक्रोन मैदानमा आउनुअघि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले एमबाप्पेको हात समातेर सान्त्वना दिएका थिए ।
एमबाप्पे कतारमा सम्पन्न विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । गोल्डेन बुटका लागि लियोनल मेस्सी प्रतिस्पर्धामा रहे पनि एम्बाप्पेले एक गोलले पछि पारे ।
एम्बाप्पे अवार्ड लिन स्टेजमा पुग्दाको दृश्य पनि निकै दर्शनीय थियो । उनको मुहारमा कान्तिको क्लेस पनि थिएन । निकै शान्त भएर उनले विश्व च्याम्पियनको ट्रफी हेरे र अगाडि बढे ।
Not the moment, mate: Mbappé and Deschamps both completely blank President Macron pic.twitter.com/bpOxpQOhD6
— Jeremy Vine (@theJeremyVine) December 18, 2022
प्रतिक्रिया