पुलले जाेड्दै दुई प्रदेश
दमौली । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।
हाल तनहुँतर्फको सफ्टफिट स्ल्याब ढलान कार्य सकिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । “स्ल्याब ढलान सकिएपछि अब वालको ढलान कार्यको तयारी हुँदैछ”, उनले भने, “त्यसपछि डेक स्ल्याबको ढलान हुनेछ ।” उक्त कार्य सकिएपछि नदी डाइभर्सन गरी बाँकी रहेको एउटा पिल्लरको काम हुनेछ ।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पुलको काम युनाइटेड बिल्डर्सले पाएको छ । दुई सय १० मिटर लामो उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो ।
पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ । दुई लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण हुन लागेको हो । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।
यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन् । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रुपमा आवतजावत गर्न सकिन्छ । मोटरेवल पुल निर्माण भएपछि दुई स्थानीय तहका हजाराैं सर्वसाधारण लाभान्वित हुनेछन् ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया