सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता
चितवन । भरतपुर महानगरपालिकाले सहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कामलाई निरन्तरता दिएको छ । गत आर्थिक वर्षबाट कार्यविधि बनाएर सहायता वितरण थालिएको हो ।
महानगरले एक सूचना जारी गरी तत्कालीन जनयुद्ध र जनआन्दोलनमा सहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने जनाएको छ ।
आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । सहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको महानगर प्रमुख रेनु दाहालले बताइन् । स्थानीय तहमा पहिलोपटक महानगरले यो कार्यक्रम ल्याएको हो ।
यसबाट केही हदसम्म भए पनि प्रभावित परिवार लाभान्वित हुने उनको भनाइ छ ।
आर्थिक सहायताका लागि आधिकारिक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ । महानगरले गत वर्ष पनि जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा सहिद वा बेपत्ता पारिएका परिवारलाई सम्मान गर्दै नगद भत्ता वितरण गरेको थियो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता पौडेलका अनुसार गत आवबाट सहयोग दिन थालिएको हो । ती परिवारलाई मासिक रु दुई हजारका दरले सहयोग दिने गरी कार्यविधि बनेको छ । गत वर्ष १३ बेपत्ता परिवार र ४७ सहिद परिवारले सहयोग लिएका थिए । यसरी सहयोग लिनेमा सशस्त्र द्वन्द्वमा परेका माओवादी, नेपाल प्रहरी, नेपाली सेनाका परिवार रहेको उनले जानकारी दिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया