NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन २ गते

सास नफेरी पढ्ने अभ्यास गर्थेँ

स्कुलमा औसत, लोकसेवामा अब्बल

०६९ फागुनमा खरिदारको पदबाट निजामती सेवामा प्रवेश गरेको हुँ । त्यसपछि ०७१ मा नायब सुब्बा पदमा उत्तीर्ण भएँ र ०७२ मा शाखा अधिकृत पदमा दोस्रो नम्बरमा उत्तीर्ण भएँ।

निजामती सेवामा प्रवेश गर्नुअघि म निजी विद्यालयहरूमा शिक्षण गर्थें । बुबा–आमाको निरन्तरको उत्प्रेरणा, दाजुबहिनी र साथीहरूबाट आफूमा परेको प्रभाव र निजी शिक्षण संस्थाहरूमा श्रमको तुलनामा असाध्यै न्यून तलब हुनुले पनि म निजामती सेवाप्रति आकर्षित भएँ।
निजामती सेवामा प्रवेश पाउन दिनुपर्ने लोकसेवा परीक्षाका सन्दर्भमा मेरा गज्जबका अनुभव रहे। मैले मोटामोटी छ तरिका प्रयोग गरेको रहेछु, तिनले जादु नै गरे।

समय–कला
लोकसेवा आयोगले हामीसँग कति ज्ञान छ भनेर मात्र होइन, सीमित समयमा आफ्नो ज्ञान अभिव्यक्त गर्ने कलाको पनि परीक्षा लिएको हो । त्यसैले यो केवल ज्ञानको परीक्षण मात्र होइन, समय व्यवस्थापनको परीक्षण पनि हो । परीक्षाको तयारीका दौरान होस् अथवा परीक्षामा सहभागी हुँदाको क्षण, समय व्यवस्थापन अत्यन्तै महत्वपूर्ण कला वा चनौतीको रूपमा रहिरहन्छ ।

सामूहिक तयारी
मैले धेरैजसो समय समूहमा बसेर लोकसेवा तयारी गरेँ । साथीहरूसँगको निरन्तरको अन्तरक्रिया र छलफलले आफूमा भएका गलत बुझाइहरूको निराकरण हुन्छ । द्विविधाहरू हट्छन् र विषयवस्तुको गम्भीरताबोध हुन्छ । प्रत्येक दिन कुनै एक साथीले प्रश्नपत्र तयारी गर्ने र बाँकीले परीक्षा दिने गर्दा एकातिर मनबाट परीक्षाको डर हट्थ्यो भने अर्कातिर ज्ञान र आत्मविश्वास अभिवृद्धि हुन्थ्यो।
ऐनाको साथ
घरमा हुँदा प्रायः जसो ऐनाअगाडि उभिएर पढ्थेँ । अल्छी लाग्दा कोठामा हिँड्दै पनि पढ्थेँ । मनमनै पढ्दा ध्यान बाहिर जान्छ भनेर म आज पनि सँधै बोलेर पढ्ने गर्छु । लोकसेवाको तयारी गर्दा आफू अधिकृत भएर काम गरिरहेको कल्पना गर्दै पढ्थेँ ।

म स्कूल–कलेजको परीक्षामा अब्बल होइन, औसत छात्र नै हुँ । तर समयक्रममा जिम्मेवारीबोध भयो। आफ्नो स्वभावअनुकूल पढ्ने शैली बदलेँ र मेहनत गर्ने बानी विकास गरेँ । त्यसैले मलाई एकेडेमिक परीक्षामा भन्दा लोकसेवा अयोगमा आशातीत सफलता मिल्यो । मेरो जीवनमा लोकसेवा पास गर्ने मानक स्कुल–कलेजको सर्टिफिकेट–अंक कहिले पनि बनेन।

ब्रेथलेस मेथड
सामान्य ज्ञानका कतिपय विषय अध्ययन गर्दा मैले ‘ब्रेथलेस मेथड’ प्रयोग गरेँ । जस्तै, जिल्लाहरूको नाम वा बाइसे–चौबिसे राज्यहरूको नाम वा अन्य यस्तै प्रकारका धेरै विषयहरू सम्झँदा म एकै स्वासमा भन्ने प्रयत्न गर्थें । भारतका शंकर महादेवनले ‘ब्रेथलेस गीत’ गाएजस्तै वा हामीले सानो छँदा कबड्डी खेलेजस्तै एकै स्वासमा भन्ने प्रयत्न गर्दा पढ्दा पनि खेल खेलेको अनुभुति हुने रहेछ । यो तरिका मेरा लागि यति प्रभावकारी भयो कि स्वास नै नफेरि ४०/५० वटा जिल्लाहरूको नाम १५ सेकेन्डभित्र भनिसक्थेँ।

सिर्जनात्मक अभ्यास
मैले धेरैजसो नेपाली र हिन्दी चर्चित गीतहरूको लयमा आफ्नो पढाइसम्बन्धी गीत बनाएको थिएँ। तयारीको दौरान आफ्नो पढाइसम्बन्धी झन्डै तीन सयभन्दा बढी गीत मोबाइलमा रेकर्ड गरेको थिएँ। त्यसलाई हरेक दिन स्पिकरमा बजाएर सुन्थेँ र सँगसँगै गाउँथे । ‘फास्ट बिट’का गीतहरूमा नाच्दै पनि पढेँ।
सम्झन गाह्रो हुने कतिपय विषयहरूलाई अपत्यारिला वा हाँसोलाग्ने कथाहरू बनाएर पढ्थेँ । कतिपय विषयहरूलाई कविताको लयमा वाचन गर्दै पढ्थेँ।

आत्मप्रेरणा
परीक्षा तयारीको दौरान मनमा धेरै नकरात्मक भावना खेल्छन् । तर कोही अब्बल भनिएका प्रतिस्पर्धीहरूको अनुहार हेरेर आफूलाई कमजोर बनाउनु हुँदैन । हामी सबै अब्बल छौं । प्रश्न यति मात्र हो कि हामीले आफ्नो अध्ययन शैलीलाई आफ्नो स्वभाव अनुकूल बनायौँ कि बनाएनौं ? अथवा हाम्रो लेखन शैली सिर्जनशील र कलात्मक भयो कि भएन ?

म स्कूल–कलेजको परीक्षामा अब्बल होइन, औसत छात्र नै हुँ । तर समयक्रममा जिम्मेवारीबोध भयो। आफ्नो स्वभावअनुकूल पढ्ने शैली बदलेँ र मेहनत गर्ने बानी विकास गरेँ । त्यसैले मलाई एकेडेमिक परीक्षामा भन्दा लोकसेवा अयोगमा आशातीत सफलता मिल्यो । मेरो जीवनमा लोकसेवा पास गर्ने मानक स्कुल–कलेजको सर्टिफिकेट–अंक कहिले पनि बनेन।
समग्रमा भन्नुपर्दा, लोकसेवा आयोगको परीक्षामा उत्तीर्ण भएर मात्र पुग्दैन । तुलनात्मक रूपमा आफूलाई अब्बल सावित पनि गर्नुपर्छ । त्यसैले सकारात्मक सोच, धैर्यता, लगनशीलता, निरन्तरको परिश्रम र समाधानमुखी दृष्टिकोणले नै अपेक्षित सफलता दिलाउन सक्छ।

(जनताको विश्वास छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण कायम छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाको अनिवार्य सर्त हो । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । हरेक आइतबार प्रकाशन हुने यो स्तम्भको दोस्रो श्रृङ्खलामा प्रस्तुत छ– हाल करदाता सेवा कार्यालय, चन्द्रपुर, रौतहटमा कार्यरत कर अधिकृत उद्धवप्रसाद अधिकारीको अनुभव । –सम्पादक)