NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १४ गते

छ महिना पढेर एकैपटक पाँचवटा परीक्षा पास गरेँ

‘सँगैका साथी उपसचिव भइसके । आफू भने करारमा जागिर खाइरहेको छु । लोकसेवा पढेको भए कम्तिमा अधिकृत त भइसक्थेँ ।’ केमेस्ट्री शिक्षक दीपक थापाले दुखेसो पोखिरहँदा मैले बुटवल बहुमुखी क्याम्पसबाट बिएस्सीको परीक्षा दिइसकेको थिएँ।

एमएस्सी पास शिक्षकको दुखेसो सुन्दा मलाई पनि चस्स भयो । सोचेँ– मेरो पनि त्यस्तै ताल भयो भने के गर्ने ? त्यसरी दुःखी भएर पढाइबस्न मलाई मन थिएन।

कुराकै मेसोमा दीपक सरले लोकसेवामार्फत निजामति सेवामा प्रवेश गर्ने आफ्नो धोको पनि सुनाउनुभयो । उहाँको त्यो कुरा मलाई घत पर्यो । त्यसको केही दिनमै बुटवल छोडेर काठमाडौं आएँ । ०७३ मंसिरको कुरा थियो त्यो ।
मूल घर प्यूठानको साविक बादिकोट गाविस (हाल झिम्रुक गाउँपालिका)मा भए पनि एसएलसीपछि उच्चशिक्षाका लागि बुटवल झरेको थिएँ । बुटवल छोड्दा मैले प्रण गरिसकेको थिएँ, ‘लोकसेवामा नाम निकाल्न तीन वर्ष समय दिन्छु ।’

त्यसैले काठमाडौं आउनेबित्तिकै लोकसेवाको तयारी थालेँ । लोकसेवाबारे धेरै ज्ञान थिएन । त्यसैले, बिहान लोकसेवाको कक्षा लिन थालेँ ।

इखालु मिहिनेती
विद्यालयमा हुँदा पढाइमा राम्रोमध्येमै गनिन्थेँ । कक्षा दशसम्म ‘टप थ्री’ मै रहेँ । निकै क्षमतावान् विद्यार्थी त ठान्दिनँ तर, मिहिनेतीचाहिँ हुँ । मिहिनेत गरेपछि  फल पाइन्छ भन्ने विश्वास थियो । अर्को कुरा, कसैले मलाई ‘योचाहिँ गर्न सक्दैनस्’ भन्यो भने खुब इख पलाउँथ्यो । ‘गरेरै देखाउँछु’ भन्ने भूत सवार हुन्थ्यो ।
एकपटक त्यस्तै भयो । मेरो अंग्रेजी कमजोर थियो । त्यसैकारण विद्यालयमा एकजना शिक्षकले ठोकुवा गरे– तैंले उच्चशिक्षामा विज्ञान पढ्न सक्दैनस्।

त्यसपछि त मैले जसरी पनि विज्ञान पढ्ने अड्डी कसें । घरमा बुबाआमाको पनि छोराले विज्ञान पढोस् भन्ने चाहना थियो नै। निकै मिहिनेत गरेँ । प्रथम श्रेणीमै पास गरेँ ।

स्नातक पढ्न थालेपछि विद्यार्थी राजनीतिमा सक्रिय भएँ । संविधान जारी भएको  थियो । मौलिक हकसम्बन्धी नेताका भाषण सधैं कानमा गुञ्जिन्थ्यो । साथीभाइबीच छलफलको विषय पनि राजनीतिसँगै सम्बन्धित हुन्थे । दैनिक पत्रपत्रिका पढ्ने र समसामयिक विषयमा रुचि त राख्ने नै भएँ । यसले मलाई लोकसेवा तयारीमा खुब मद्दत गर्यो ।

म सधैं बिबिसी सुन्थें, पत्रपत्रिका दैनिक पढ्थेँ । गोरखापत्रको बुधबारे श्रृंखला  पछ्याउँथे। त्यहाँबाट आफूलाई चाहिने र केही नयाँ कुरा भेटेमा टिपिहाल्थेँ ।

लोकसेवाको कक्षा लिन थालेपछि निकै मिहिनेत गर्न थालेँ । ध्यान नबिथलियोस् भनेर फेसबुक अकाउन्ट ‘डिएक्टिभेट’ गरेँ ।  तयारी अवधिभर घरमा पनि समय दिएर कुराकानी गरिनँ । आमाबुबाले धेरै बेर गफिन खोज्दा भन्थेँ– अब सिधै जागिर खाएसी धेरै कुरा गरम्ला ।

आमाले भन्नुहुुन्थ्यो, ‘जागिर नखाँदा त यो ताल छ, खाएपछि झन् के होला ?’
छ महिना तयारी गरेपछि मैले खरिदार, सुब्बा, अधिकृतलगायत पाँचवटा परीक्षा एकैपटक दिएँ । सबै विषयको परीक्षा केही दिनको अन्तरालमै भएको थियो । एउटामा नभए अर्कोमा नाम निस्किन्छ भन्ने सोचाइ थियो ।

परीक्षा दिएर आएपछि तनाव बढ्न थाल्यो । सँगैका साथी एमएससी पढ्न थालिसकेका थिए । मभने लोकसेवाको पछि लागेको थिएँ । तीन वर्षमा पनि नाम निकाल्न सकिनँ भने के गर्ने ? चिन्ताले खुब सताउँथ्यो । चिन्ताले दिमाग भाउन्न भएर आएपछि किताब बोकेर छतमा जान्थेँ । मन भुलाउन छतमा गएर चिच्याइ–चिच्याइ पढ्थेँ ।

नसोचेको जीवन
जीवनमा नसोचेकै हुने रहेछ । मेरो त झनै त्यस्तै भयो । म जन्मिनुभन्दा अघि र पछि मेरी आमा धेरै बिरामी पर्नुभएछ । त्यो बेला गाउँमा अस्पताल थिएनन् । आमा बिरामी भएकाले म बाँच्दिनँ भन्ने सोचेर हजुरबाले मलाई मलखाल्डामा पुर्न भन्दै हुनुहुन्थ्यो रे । मलखाल्डोमा पुर्ने तयारी गर्दै गर्दा अरूले रोकेछन्।
आमा बिरामी भएका कारण आमाको दुध खान पाउने कुरा भएन । त्यसपछि मलाई दुई–तीन दिन माइली आमाले दुध खुवाएर बचाउनु भएछ । त्यस्तो अवस्थामा जन्मिएकाले मेरो जन्म समय पनि याद नभएर अहिलेसम्म जन्मकुण्डली बन्न सकेको छैन ।

पछि मलाई बाआमाले अरू सन्तानलाई भन्दा बढी माया गर्न थाल्नुभो, हुर्काउनु भो, पढाउनुभो । अहिलेसम्म यो स्थानमा आउनुमा उहाँहरूकै देन छ । लोकसेवाको जाँच पास गर्न नसकूलाँ कि भनेर चिन्ता गर्दा पनि उहाँहरूले खुब साथ दिनुभयो । त्यो नभए अरू हुन्छ भनेर विकल्प देखाउनुहुन्थ्यो । अहिले पनि मलाई लाग्छ– घरमा सबैभन्दा प्यारो मै छु ।

पाँचै परीक्षामा पास
पाँचवटा परीक्षा दिएर छट्पटाउँदै परिणामको प्रतिक्षा गरिरहेथेँ । सुरुमा खरिदारमा नाम निस्किएको खबर आयो । केहीबेर त पत्याउन पनि सकिनँ । समाचार सुनेर आएको खुसीसँगै डर मिसियो । लिखित त पास भएँ तर अन्तर्वार्तामा फेल भएँ भने ? पीरले फेरि लखेट्न थाल्यो ।
त्यही भएर पास भएको कुरा गुपचुप राखेँ । पछि अन्तर्वार्तामा पनि पास भएपछि मात्रै सबैले थाहा पाए । त्यसपछि त खुसी ‘लहरो तान्दा पहरो झरे’जसरी पो आउन थाल्यो ।

खरिदारमा काम गर्न थालेको केही महिनामा अधिकृतमा पनि नाम निस्कियो । खरिदार बनेको पाँच महिनामै अधिकृतमा पोस्टिङ भयो । त्यतिबेला २२ वर्षको थिएँ । सानै उमेरमा ठूलो जिम्मेवारी आएजस्तो महसुस भयो ।

एक वर्षको अवधिभित्र पाँचैवटामा मेरो नाम निस्कियो । त्यसपछि त आफैंमाथि अचम्म लागेर आयो । किनभने, तयारी कक्षा लिँदै गर्दा इन्स्टिच्युटले लिने परीक्षामा सधैं फेल हुन्थें । अरू पास भएको देख्दा डाहा लाग्थ्यो । तर एकै पटकमा पाँचैवटा परीक्षा कटाउँदा आफैंमाथि पो डाहा लागेर आयो ।

त्यसपछि नै हो मैले लोकसेवाको वास्तविक अर्थ मनदेखि बुझेको । लोकसेवामात्रै एक यस्तो ठाउँ हो, जहाँ आफूसँग पढ्ने, लेख्ने र बोल्ने क्षमता छ भने सफल भइन्छ । यसमा न जात हेरिन्छ, न कुनै शक्ति ।

मेरो पारिवारिक पृष्ठभूमि खेती किसानी हो । राज्य व्यवस्थामा वा ठूलो पदमा कोही हुनुहुन्न । आफ्नै मिहेनत र क्षमताकै कारण सफल भएँ । मुख्य कुरा, लोकसेवाले मलाई आफ्नो क्षमता चिनायो । आफूलाई विश्वास गर्न लोकसेवाबाटै सिकेँ ।

इन्टिच्युटको परीक्षामाचाहिँ सधैँ किन फेल भएँ भन्नेबारे मैले पछिमात्रै चाल पाएँ । त्यहाँ एकै किसिमले रटाइन्थ्यो । प्रशिक्षकहरूले लेखाएको उत्तरमात्रै लेख्नुपर्छ भन्ने मानसिकता थियो । तर, म त सधैं मौलिक उत्तर दिन्थें । मेरो पढ्ने र उत्तर दिने तरिका नै फरक परेको थियो ।

सम्झिने तरिका
लोकसेवा तयारी गरिरहँदा सबै चिज सम्झिन गाह्रो हुन्छ । त्यसको लागि केही विधि अपनाउन सकिन्छ । मैले तयारी गर्दा मेमोरी सम्बन्धी केही तरिका अनन्तराम केसीबाट सिकेको थिएँ  । उहाँले सिकाएको विधि अपनाएर अंकलाई चित्र बनाएर सम्झने बानी बसालेँ ।

मौलिक हक, नीति, सिद्धान्तलगायतका विषयलाई साथीको नामसँग मिलाएर सम्झिन्थेँ । संविधानका धारालाई कविता बनाएर पढ्थेँ । कविता बनाएर जोडेर पढ्दा सम्झन सजिलो हुन्थ्यो।

कुनै पनि विषयबारे पढ्न सुरु गर्दा सामान्य विषयबाट प्रवेश गर्नुपर्छ  । जुन विषयमा थोरै ज्ञान छ, त्यसबाटै सुरु गर्नुपर्छ  । त्यसपछि मात्रै थप गर्दै जाने हो । उदाहरणका लागि हामीले कसैको बारेमा जान्नुपर्दा सुरुमा नाम सोध्छौं । त्यसपछि घर, परिवार, परिवारका सदस्य, उनीहरूले गर्ने काम आदि हुँदै व्यक्तिबारे पूर्ण रूपमा जानिन्छ । सुरुमै जटिलतिर जाँदा या अन्य सूचना सोध्दा पछि नाम नै बिर्सिने अवस्था आउन सक्छ।

त्यसैले सामान्य विषयबाट सुरु गरेर त्यसमा अरु सूचना थप गर्दै लानुपर्छ । सुरुमै विस्तृतमा जान्न खोज्यो भने केही पनि बुझिन्न ।

लोकसेवा तयारी गर्ने अधिकांशलाई कानुनी विषयमा पढ्दा समस्या हुन्छ । धेरैले त्यसलाई रट्नेमात्रै हो भन्ने बुझेका छन् । तर, त्यसको दफा र संविधानको धारा मात्रै रट्ने हो । बाँकी त बुझेर पढ्ने हो । बुझेर पढ्यो भने लेख्न पनि सजिलो हुन्छ । त्यसकारण कानुनी कुरा पढ्दा अर्थको अनर्थ नलाग्नेगरि बुझेर पढ्नुपर्छ।

लोकसेवा पास गर्न कुनै अद्भूत क्षमता चाहिँदैन । यसको लागि मिहेनत नै सबैभन्दा ठूलो कडी हो । ठिक समयमा आफूले ठिक ठाउँमा मिहेनत गर्नुपर्छ । मिहेनत गरेपछि सफल भइन्छ । त्यसको लागि वातावरण आफैंले तय गर्ने हो ।

घोकेरमात्रै हुन्न
इन्टिच्युटको परीक्षामाचाहिँ सधैँ किन फेल भएँ भन्नेबारे मैले पछिमात्रै चाल पाएँ । त्यहाँ एकै किसिमले रटाइन्थ्यो । प्रशिक्षकहरूले लेखाएको उत्तरमात्रै लेख्नुपर्छ भन्ने मानसिकता थियो । तर, म त सधैं मौलिक उत्तर दिन्थें । मेरो पढ्ने र उत्तर दिने तरिका नै फरक परेको थियो ।

जब म आफू त्यही तरिका प्रयोग गरेर सफल भएँ । अहिले लोकसेवा तयारी गरिरहेकालाई आफ्नो मौलिक उत्तर दिन सुझाउँछु । लोकसेवामा घोक्नेबित्तिकै पास भइन्छ भन्ने मनोविज्ञान गलत हो । मैले घोकेर लोकसेवा पास गरेको होइन । आफूले पढेका विषयमा बुझेर उत्तर दिनुपर्छ । त्यसो गर्दा अरूको भन्दा पृथक र मौलिक उत्तर दिन सकिन्छ ।

कक्षा दशसम्म ‘टप थ्री’ मै रहेँ । निकै क्षमतावान् विद्यार्थी त ठान्दिनँ तर, मिहिनेतीचाहिँ हुँ । मिहिनेत गरेपछि  फल पाइन्छ भन्ने विश्वास थियो ।

सुब्बाको परीक्षा दिँदा मैले १० अंकको दुईवटा प्रश्न छुटाएको थिएँ । तैपनि २९ जनाभित्र नाम निकाल्न सफल भएँ । अहिले सम्झिँदा मौलिक उत्तर दिएकै कारण त्यसमा पनि पास भएँजस्तो लाग्छ ।

लोकसेवा तयारीको अर्को सबैभन्दा महत्वपूर्ण कुरा भनेको समसामयिक विषयमा रुचि राख्नु हो । त्यसको लागि समाचार सुन्ने र पढ्ने बानीको विकास गर्नुपर्छ ।

म सधैं बिबिसी सुन्थें, पत्रपत्रिका दैनिक पढ्थेँ । गोरखापत्रको बुधबारे श्रृंखला  पछ्याउँथे। त्यहाँबाट आफूलाई चाहिने र केही नयाँ कुरा भेटेमा टिपिहाल्थेँ । पत्रपत्रिकामा प्रशासनसँग सम्बन्धित लेखहरू छन् भने चासोका साथ पढ्थेँ । त्यसमा पनि मुख्य कुरा भेटेमा टिपोट गर्थें।

बजारमा लोकसेवासम्बन्धी थुप्रै किताब पाइन्छन् । ती सबै किताबबाट आफूलाई चाहिने गुदी कुरा थुत्न सक्नुपर्छ । त्यसैको आधारमा साना–साना नोट बनाउन सकिन्छ । नोट बनाउँदा आफैंले लेखिने हुँदा सम्झन पनि सजिलो हुन्छ । उत्तर पनि अरूको भन्दा फरक हुन्छ । यसरी कम्तीमा पनि छ महिना दैनिक छ घण्टा पढ्नेले ढुक्क भएर लोकसेवा पास गर्छ ।

०००

(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको चाैथाे श्रृङ्खलामा प्रस्तुत छ–  अधिकृत नारायण पाैडेलको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले पाैडेलसँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)

ताजा अपडेट

नेपालवाच विशेष