NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० मंसिर १३ गते

किताबै नपढी अधिकृतमा नाम निकालेँ

भोजपुरको भुल्के मेरो जन्मस्थान । २०३९ सालमा जन्मिएँ । बुबा सरकारी विद्यालयमा पढाउनुहुन्थ्यो। उहाँको जागिर झापा भएकाले सपरिवार बसाइँ सरेर त्यतै गयौं।

प्राथमिक शिक्षा महेशपुर प्रावि, महेशपुरबाट गरेँ। त्यसपछि सदरमुकामस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट ०५४ सालमा एसएलसी दिएँ । प्रथम श्रेणीमा एसएलसी पास भएपछि मेची क्याम्पसमा ‘आर्टस्’ र ‘कमर्स’ पढ्न थालेँ । त्यहीँबाट आइए, आइकम, बिए र बिबिएस पास गरेँ । सँगै, एक वर्षे बिएड गरेँ।
सम्बन्धित समाचार

हतियार बोकेर राज्यसँग विद्रोह गर्ने विद्रोहीको लोकसेवा अनुभव: भूकम्प आउँदा नि पढिरहेँ

स्नातकोत्तर (एमए) पढ्न भने काठमाडौं आएँ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली सहित्य, समाजशास्त्र र राजनीतिशास्त्र पढेँ । एमए पढ्दा भोगेका दुःखको पहाड बेग्लै छ । बेरोजगारी, भोको पेट र रित्तो खल्तीको बाबजुद् एमए सक्नेबित्तिकै मैले पिएचडीको तयारी थालेँ।

सम्बन्धित समाचार

सास नफेरी पढ्ने अभ्यास गर्थेँ

किर्तिपुरमा एमए पढ्दा ‘रुममेट’ हुनुहुन्थ्यो रामबाबु रिजाल, उहाँ खरिदार हुनुहुन्थ्यो । मेरो पढाइ पनि राम्रो भएकाले मौका पायो कि अधिकृतको लागि तयारी गर्न कर गरिहाल्नुहुन्थ्यो ।

मैले भने त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयतर्फ त्रि वि सेवा आयोगमा उपप्राध्यापकको लागि परीक्षा दिएको थिएँ । घरमा बुबा पनि शिक्षक भएकाले मेरो मोह मास्टरी पेशातिरै थियो । लोकसेवाबारे चाहिँ केही थाहा थिएन । कुन पदका लागि के पढ्नेसमेत ज्ञान नभएको म साथीको करले लोकसेवाको परीक्षातिर डोरिएँ ।

उहाँले अति नै कर गरेपछि अधिकृतको फारम भर्ने निर्णय गरेँ । फारम भर्दा त्यहाँ भएका बुँदातिर यसो आँखा डुलाएँ । पास गर्न सक्छु भन्ने आत्मविश्वास पलायो ।

त्यसपछि तयारी त थाल्नुपर्यो । तर, मलाई किताबमा धेरै रटान लगाउन मन थिएन । किनभने मेरो मन सेवा आयोगमा नाम निकालेर जसरी पनि उपप्राध्यापक बन्नेतिर गएको थियो । त्यसकारण अधिकृतको तयारीलाई उति चासो दिइनँ ।

फारम भरेपछि नजिकैको किताब पसलमा गएर अधिकृतको तयारीका लागि एउटै पढे पुग्नेगरि कुनै एउटा किताब दिन आग्रह गरेँ । पसलेले मलाई सिद्धराज जोशीको किताब दिनुभयो । उहाँले दिएको किताब हेर्दै सोधेको थिएँ, ‘यो किताब रटेपछि अधिकृतमा नाम निस्किन्छ ?’ अहिले आफूले गरेको यो प्रश्न सम्झँदा पनि हाँसो उठ्छ ।
सम्बन्धित समाचार

२२ वर्षमा अधिकृत, अब पालो सचिव हुने

किताब सरर हेर्दा खासै रटान लगाउन सक्छुजस्तो लागेन । तर, विषयवस्तु भने आफूलाई थाहा भएको ज्ञानसँग मिल्दाजुल्दो थियो । त्यो एकदिन हेरेपछि मैले फर्केर पनि किताब पल्टाइनँ । जागिरमा पनि व्यस्त थिएँ, पढ्छु भन्दाभन्दै जाँच आइसकेछ ।

मेरो एउटा बानी छ, पढेपछि राम्ररी मन लगाएर पढ्ने, नपढेपछि पढ्दै नपढ्ने । परीक्षा आउँदासम्म पनि त्यही बानी हाबी भयो । यतिसम्म कि, मलाई पाठ्यक्रममा के हुन्छ भन्ने पनि राम्ररी थाहा थिएन । अधिकृत भएपछि के भइन्छ, कमाइ कति हुन्छ भन्ने पनि ज्ञान थिएन । न त लोकसेवा तयारीको लागि कुनै कक्षा लिएँ, न कसैसँग परामर्र्श । परीक्षाको दिन आयो । मैले आफूले जानेको गरेँ ।

पढ्दै नपढी दिएको परीक्षामा त नाम निस्किएछ । जम्मा १ सय २६ मध्येमा खुलातर्फ १९ नंबरमा नाम निस्कियो । यस्तो कल्पना पनि गर्न नसकेको फल पाएपछि एकछिन त रन्थनिएँ । अझ नसोचेको त त्यतिबेला भयो, केही समयपछि सेवा आयोगमा पनि नाम निस्कियो ।

त्यतिबेला गृह मन्त्रालयमा मेरो पोस्टिङ्ग भइसकेको थियो । तत्कालीन गृह सचिव लीलामणि पौडेलको सहयोगीको रूपमा काम गर्थें ।
सम्बन्धित समाचार

छ महिना पढेर एकैपटक पाँचवटा परीक्षा पास गरेँ

मेरो इच्छा त शिक्षक बन्ने नै थियो । ठूलो दोधारमा परेपछि उहाँसँगै सल्लाह लिएँ । उहाँले भन्नुभयो, ‘पढाउने काम त निजामतीमा रहेरै पनि गर्न पाइन्छ । यो काम नछोड ।’ उहाँको सल्लाहपछि शिक्षक बन्ने सपनालाई त्यागेँ । शिक्षक बन्ने सपनालाई लत्याएपछि नै हो, माथिल्लो पदका लागि अझै पढ्नुपर्छ, आफूलाई अझै परिस्कृत गर्दै लैजानुपर्छ भन्ने बोध भएको ।

अधिकृतको जागिर खाँदा नै मैले माक्र्सवादी साहित्यमा विद्यावारिधि पनि गरिसकेको थिएँ । विद्यावारिधि गर्दा म २७ वर्षको थिएँ । त्यसपछि मैले उप–सचिवको तयारी गर्न थालेँ । यसको लागि भने खुब मिहिनेत गरेँ । तर, मिहिनेत गरेको पदमा भने सोचेभन्दा फरक भयो । अधिकृत भएको चार वर्ष पछि ०७१ सालमा मैले उप–सचिवमा नाम निकालेँ । तर, अन्तर्वार्तामा फालिएँ ।

त्यसको एक वर्षपछि ०७२ मा उप–सचिव र सह–सचिव दुवै पदका लागि परीक्षा दिएको थिएँ । दुवैमा नाम निस्कियो तर सह–सचिवको अन्तर्वार्तामा फालिएँ । उप–सचिवमा भने पहिलो नम्बरमै नाम निस्कियो । संयोगले मैले अधिकृतको तयारीको लागि जसको किताब किनेको थिएँ, सिद्धराज जोशी, उहाँको पनि उप–सचिवमा नाम निस्किएको थियो ।
०७३ सालमा फेरि सह–सचिवको लागि परीक्षा दिएको थिएँ । लिखित कटाएँ तर अन्तर्वार्तामा फालिएँ । त्यसपछि अब फेरि सह–सचिवको लागि परीक्षा दिइहाल्न जाँगर छैन । अवकाश जीवन फेरि कसरी बिताउने भन्ने अर्को चटारो थपिन्छ।

अन्तर्वार्तामा फालिँदा सिकेको पाठ
धेरै साथीहरूले अन्तर्वार्तामा फालिएपछि लोकसेवा आयोगले मिलेमतोेमैै फाल्यो भन्ने आक्षेप लगाउनुहुन्छ । तर, मलाई चाहिँ त्यसो लाग्दैन । त्यसो हो भने त पहिलो पटक उप–सचिवमा एक नम्बरमा नाम निकाल्ने मलाई अन्तर्वार्तामा किन फालिन्थ्यो र ? सुरुमा आफ्ना कमजोरी पनि नियाल्नुपर्ने हुन्छ । दुईपटक अन्तर्वार्तामा फालिएपछि मैले केही कुराहरू आत्मबोध गरेको छु । अन्तर्वार्तामा आफूसँग भएको ज्ञान भन्दा पनि आफ्नो व्यवहार र दृष्टिकोण कस्तो छ भन्ने विषय बढी अर्थपूर्ण हुने रहेछ ।
सम्बन्धित समाचार

गोठालो जाँदा पनि पढ्थेँ, पहिलो पोस्टिङ्ग हुँदा सात दिन हिँडेर कार्यालय पुगेँ

आफूसँग भएको ज्ञानलाई नम्र र असल रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । सबै कुरा जान्नैपर्छ भन्ने पनि हुँदैन । त्यहाँ अन्तर्वार्ता लिन बस्नुहुनेले पनि हामीबाट सबै जान्नैपर्छ भन्ने अपेक्षा राख्नुभएको हुँदैन । आफूलाई जानकारी नभएको कुरालाई पनि नम्र भएर प्रस्तुत गर्न र बुझाउन सक्नुपर्छ।
प्रश्नको उत्तर दिँदा कुटनीतिक रूपमा बुझाउने र आफ्नो आवरणमा पनि ध्यान दिनुपर्छ।

नपत्याउने कुरा
मैले अधिकृतको तयारी गर्दा एकपटक पनि पढेको होइन । तयारी नै नगरी नाम निकाल्दा म अपवाद ठहरिएँ होला तर त्यसका पछाडि अरू पनि कारण छन् । अहिले सम्झिँदा लाग्छ, म समाजशास्त्र, राजनीतिशास्त्र, नेपाली साहित्य र अर्थशास्त्रकै विद्यार्थी भएकै कारण सहज भयो।

यी विषय पढ्दा रातको दुई÷तीन बजेसम्म बसेर पढ्थेँ । मैले कहिल्यै पनि करले यी विषय पढेको थिइनँ । जति समय पढेँ, मन लगाएर एकदमै रमाएर पढेँ । त्यसकारण पनि मेरो बुझाइमा इँटा थपियो।

बुझ्नका लागि पढेको भएरै पनि अधिकृतको परीक्षा दिँदा मलाई सहज भएको हुनुपर्छ । ०७३ सालमा रोल्पामा सिडिओ भएर जाँदा त्यहाँका साथीहरूले जिल्लामै अहिलेसम्मकै कान्छो सिडिओ पनि भन्नुुहुन्थ्यो । तर, यसबारे तथ्यांकगत रूपमा पुष्टि गर्नतिर नलागेको हुँदा ठ्याक्कै भन्न सक्दिनँ ।

समाज बुझे लोकसेवा पास
लोकसेवा भनेपछि सबैले रटान नै लगाउनुपर्ने बुझ्छन् । रटान लगाउनु त अर्को पाटो हो । हामीले मुख्य पाटोमा बढी ध्यान दिनुपर्छ । मुख्य कुरा समाज बुझ्नुपर्छ । हाम्रो समाजको बनावट, यसका विशेषता, यहाँ भएका विकृति, विकासलगायतका मसिना कुरालाई गहन रूपमा बुझ्ने हो भने लोकसेवा पास गर्न गाह्रो छैन । मेरो अनुभवले पनि त्यही भन्छ।

यी विषयले हामीलाई समसामयिक विषयवस्तुसँग पनि जोड्छन्, जसले गर्दा त्यहाँ सोधिएका प्रश्नको व्याख्या विश्लेषण गर्न सहज हुन्छ । त्यसकारण लोकसेवा तयारी गर्नेलाई मेरो पहिलो सुझाव भनेकै समाज बुझाइमा दख्खल राख्नु हो । अर्को कुरा, लोकसेवा तयारी गर्छु भनेपछि त्यसकै लागि समर्पित भएर लाग्न सक्नुपर्छ । समर्पित भएर लाग्ने हो भने तीन वर्षमा त जस्तोसुकै पढ्नेले पनि पास गर्न सक्छ ।

आकर्षण ढिलो भयो तर कडा भयो
सुरुमै लोकसेवाप्रति आकर्षण भएर म यो विधामा आएको होइन । तर, समयक्रमसँगै यसमै मोह बस्दै गयो । म २६ वर्षको उमेरमा अधिकृत हुँदासम्म मेरो घर परिवार, नजिकका आफन्त कोही पनि निजामतीमा थिएनन् । परिवारमा निजामती सेवा प्रवेश गर्ने म नै पहिलो हुँ । अहिले मेरो ठूलो बुबाको परिवारमा समेत गरेर हामी नौजना निजामतीमा छौं । परिवारमा एक किसिमको मार्गदर्शन भयो भने पनि एकै विधामा पारिवारिक आबद्धता रहन्छ जस्तो लाग्छ ।
निजी जागिरको तुलनामा तलब सुविधा औसत भए पनि निजामतिमा भिन्नै आकर्षण हुने रहेछ । यो पेशा प्रतिष्ठित पनि छ। राज्यको प्रतिनिधिको रूपमा काम गर्न पाउनु अर्को सम्मानको विषय हो । यसले आफूमा आत्मविश्वास पनि बढाउँछ।

लोकसेवाको निष्पक्षताको त झन् चर्चै गर्नु परेन । एमए पास गरेपछि मैले काठमाडौंका प्राइभेट स्कुल र कलेजमा आफ्नो बायोडाटा लिएर चाहारेँ । मलाई कसैले योग्य ठानेनन् किनभने काठमाडौंका निजी कार्यालयमा जागिर लगाउन यहाँ मेरा कोही आफन्त थिएनन् । निकै हण्डर खाएपछिमात्रै विकास बोर्डमा काम गर्न थालेको हुँ । त्यसपछि लोकसेवाले नै हो– मेरो जीवनमा आशाको दियो बालेको ।

(जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग गोप्य र निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ। इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ। उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । त्यसका लागि सफल भएकाहरूको अनुभवले निकै मद्दत पुर्‍याउँछ। यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले ‘लोकसेवा अनुभव’ स्तम्भ सुरु गरेको छ । यसको छैटाैं श्रृङ्खलामा प्रस्तुत छ–राष्ट्रिय विपद् जोखम न्यूनिकरण तथा व्यवस्थानप प्राधिकरणमा कार्यरत उपसचिव डिजन भट्टराईको अनुभव । यो सामग्री नेपालवाचकर्मी कञ्चन न्यौपानेले भट्टराईसँग गरेको कुराकानीमा आधारित छ । –सम्पादक)

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८, १६:०८:००

ताजा अपडेट

नेपालवाच विशेष