NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

घुँडा धसेर लोकसेवा पढ्नेले त्यसरी नै काम किन गर्दैन ?

नागरिकता लिन, पासपोर्ट बनाउन या कुनै सेवा लिन हामी सबै सरकारी कार्यालय कुनै न कुनै कामले पुगेकै हुन्छौं । विद्यार्थी जीवनमा हुँदा यस्तै कामले सरकारी कार्यालय पुग्दा त्यहाँका धुलाम्मे कुर्सी, टेबलतिर आँखा डुलाउँथे । लाग्थ्यो, ओहो ! सरकारी कर्मचारीलाई आज नयाँ लुगा लगाएर अफिस जान्छु भन्ने जाँगर पनि नचल्दो हो।

त्यसमाथि कर्मचारीको स्वभाव देख्दा दिक्क लागेर आउँथ्यो । झट्ट हेदा ‘स्मार्ट’ पनि नलाग्ने। यसले गर्दा कहीँ केही गर्न नसकेपछि अन्तिममा गएर निजामती सेवातिर जाने होला भन्ने छाप गढेको थियो।

अर्कोतर्फ घरपरिवारमा पनि कोही निजामती सेवामा हुनुहुन्न । त्यसो भएपछि आफैंलाई पनि जाउँ भन्ने ‘रेडिमेड’ सोच पनि खासै नआउने रहेछ।

सन् २०११ मा अमेरिकाको ‘अरिगन स्टेट युनिभर्सिटी’बाट पब्लिक पोलिसीमा स्नातकोत्तर गरेँ । नेपाल फर्किएपछिको केही समय गैरसरकारी संस्थामा बिताएँ । त्यहाँ अध्ययन–अनुसन्धानसँग सम्बन्धित काम गरेँ ।

पारिश्रामिक र काम गर्ने वातावरण पनि मैले सोचेजस्तै थियो । सबै जोड्दा ९० हजार रुपैयाँ हाराहारी पारिश्रामिक थियो।
त्यही समय साथीहरूले लोकसेवा पढेर परराष्ट्रमा जाऊ भन्न थाले । मलाई सरकारी कार्यालय पनि फरक–फरक हुन्छन् भन्नेसमेत ज्ञान थिएन । अझ कार्यालयबारे मेरो मष्तिस्कमा उही पुरानै चित्र हावी थियो ।

साथीहरू भन्थे, ‘निजामती सेवामा पाइने अवसर अन्य कुनै निजी ठाउँमा हुने कामसँग तुलना हुँदैन ।’
विदेशमा पढेर आएकोे र अवसरका हिसाबले पनि मेरो लागि निजामती सेवा नै उपयुक्त हुन्छ भनेर साथीहरुले उक्साउन थाले ।

तर, तलब सुविधा आकर्षक थिएन । झन् मैले आफूले गरिरहको कामको तुलनामा त हुँदै होइन ।
एकातिर पारिश्रामिक पनि आकर्षक छैन । त्यसले दिने सेवा पनि उम्दा छैन । त्यसका बावजुद सोचेँ, पैसा नै सबैथोक होइन । त्यसमाथि मेरो पढाइ पनि पब्लिक पोलिसीमै थियो । त्यो हुँदा सरकारमा रहेर पोलिसीसँग सम्बन्धित काम पनि गर्न पाइएला भन्ने लाग्यो । अनि, राजीनामा दिएर निजामतीमै आएँ ।

निजामतीमा आउनुअघि पैसा धेरै कमाए पनि कसैले कहाँ काम गर्ने भनेर सोध्दा मलाई हेर्ने दृष्टिकोण सामान्य थियो । अहिले म गृह मन्त्रालयमा नेपाल सरकारको अधिकृत छु भन्दा मान्छेले हेर्ने दृष्टिकोण सम्मानजनक छ ।
निजामतीमा आउनुभन्दा अघि यति धेरै फरक हुन्छ जस्तो लागेको थिएन ।

मैले बुझेको निजामती सेवा
निजामती सेवामा ज्ञानको दायरा फराकिलोे हुन्छ। फरक–फरक कार्यालयमा बसेर काम गर्ने अवसर पाउछौं। उदाहरणको लागि, एउटै अफिसरले फरक–फरक कार्यालयमा बसेर त्यहीँको ‘म्यान्डेट’ अुनसार काम गरिरहेको हुन्छ । त्यसले गर्दा पनि उसमा ज्ञानको दायरा फराकिलो हुन्छ ।

एउटा अफिसमा दुई वर्ष बसेर काम गर्दा त्यो विधामा मोटामोटी ज्ञान भइसकेको हुन्छ । जस्तो, जिल्ला प्रशासन कार्यालयमा बस्दा जिल्लाको सुरक्षा समन्वयदेखि लिएर सेवा प्रवाहबारे ज्ञान हुन्छ भने अध्यागमनमा बस्दा अध्यागमन प्रशासन सम्बन्धी ज्ञान हुन्छ । गृहको एउटा शाखामा बस्दा त्यो शाखाको ज्ञान हुने भयो । तर, गृह मन्त्रालयबारे पूर्ण रूपमा जानकार हुन भने फरक–फरक शाखामा बसेर काम गर्नुपर्ने हुन्छ । यसमा आफ्नो ज्ञान र सीपलाई माथिल्लो निकायले कत्तिको प्रयोगमा ल्याउँछ भन्ने कुराले पनि फरक पार्छ ।

निजामतीमा छ वर्ष पूरा गर्दा मैले के बुझें भने, हामी निजामतीमा काम गर्नेले आफूले गरेका कामको ‘ब्राण्डिङ’ र ‘मार्केटिङ’ गर्न नजान्ने रहेछौं ।

अर्कोतर्फ यहाँ कामको आधारमा मूल्यांकन हुने चलन पनि छैन। रीति पुर्याउने हिसाबको मात्रै कार्यसम्पादन मूल्यांकन हुन्छ । त्यसैले यो कर्मकाण्डीजस्तै भएको छ। कामलाई नै सबैले महत्व दिने र कामकै आधारमा कर्मचारीको वृत्तिविकास हुने हो भने काम गर्नुपर्छ भन्ने कुरामा सबै सजग हुन्थे।

त्यो नहुँदा आफू जुन भूमिकामा बस्दा जे जिम्मेवारी आउँछ, त्यो जिम्मेवारीलाई राम्रोसँग पूरा गर्नतिर मात्रै ध्यान जाने रहेछ । यस्तो भएपछि त्यो भन्दा फरक या पृथक काम गर्छु भन्नेतिर चासो जाँदैन।

आफ्नो कामको ‘ब्राण्डिङ’ गर्न नसक्नुमा अर्को समस्या पनि छ । हामीले धेरैथरि काम गरिरहेका हुन्छौं तर त्यो काममा संस्था जोडिएको हुन्छ। विभागमा छौं भने महानिर्देशक, मन्त्रालयमा छौं भने उपसचिव, सचिव र मन्त्रीसम्म जोडिनुहुन्छ।

त्यसकारण पनि कतिपय कामको क्रेडिट एक्लैले लिन मिल्दैन । कतिपय काम माथिबाट निर्देशित भएपछि मात्रै गरिरहेका हुन्छौं । त्यो हुनाले मैले यहाँ आएर यो काम गरें भन्ने ठाउँ नहुने रहेछ ।

तर, विदेश पढेर आएपछि नेपालको प्रशासनमा बसेर काम गर्नु पछिको पुस्ताको लागि प्रेरणा हो जस्तो लाग्छ । व्यक्तिगत रूपमा यसैमा मैले सन्तुष्टि लिएकी छु ।

सुधार गर्नुपर्ने धेरै छन्
नेपालको निजामती सेवामा भएका कमजोेरीका सूची लामो छ। कमजोरी पहिल्याउने हो भने नै पनि हामी विज्ञ हुन्छौं होला । कुनै पनि विषयवस्तुलाई हेर्न तिन थरी दृष्टिकोण हुनुपर्छ । ‘माइक्रो’, ‘म्याक्रो’ र ‘एरियल’ । हाम्रो निजामतीमा कुनै पनि विषयलाई सानो नजरबाट हेरेर सोचाइ बनाउने र त्यसकै आधारमा निर्णय लिने गरेको अवस्था छ।

यहाँ कमजारीसँगै आशावादी हुने ठाउँ पनि छन् । अहिले सह–सचिव स्तरको नेतृत्वमा अधिकांश युवा हुनुहुन्छ।
उहाँहरू हामीजस्ता युवा पिँढीसँग सल्लाह सुझाव लिन तयार हुनुहुन्छ । अन्य निजी क्षेत्रतिर पनि के भइरहेको छ भन्नेबारे ध्यान दिनुहुन्छ। यो राम्रो पाटो हो ।

माथिल्लो तहमा हुनुभएका सचिव र हामीबीच भएको ‘जेनेरेसन ग्याप’ ले पनि कहिलेकाहीँ फरक पारिरहेको हुन्छ । यस्तो हुँदा कुनै पनि काममा पहल लिएर अघि बढ्ने, नयाँ ढंगले जाऔं भन्ने प्रवृत्ति अलि कम देख्छु । सायद, पहल लिँदा बेकारको दुःख पाइन्छ भनेर पो हो कि ?

अर्को, अब आउने पुस्ता कस्तो हुनुपर्छ भन्नेबारे पनि हाम्रा अग्रजहरूसँग स्पष्ट खाका छैन । यस्ता विषय ट्रेड युनियनले नै उठाउने हो नि त भनेर पनि अब आउने पुस्ता कस्तो हुनुपर्छ भन्नेबारे अघिल्लो पुस्तामा ध्यान नपुगेको हो कि ?

दश वर्षपछिको निजामती सेवा कस्तो हुन्छ भन्ने कुरा त हामी भन्दा माथिका सह–सचिव, सचिवहरूले हामीलाई कस्तो संस्कार दिनुहुन्छ र कसरी तयार गराउनुहुन्छ भन्नेमा भर पर्छ। कत्तिको जोखिम आफूले लिनुहुन्छ र आफूले लिएको पहलमा नयाँ पुस्तालाई पनि समेट्नुहुन्छ भन्नेमा पनि भर पर्छ।

मैले देखेको आदर्श निजामती सेवा
अबको निजामती सेवा चुस्त र दुरुस्त हुनुपर्छ । कुनै पनि निर्णय लिँदा धेरै अलमलिएर, सोचेर, घोत्लिएर बस्ने भन्दा पनि तुरुन्तै एक्सनमा जानुपर्छ । र, त्यहाँ जानुभन्दा अघि चाहिने जति गृहकार्य गर्ने र नतिजामा केन्द्रित हुनुपर्छ । नतिजा केन्द्रित भइरहँदा फेरि यतातिर आफूले गरेको कामको सही मूल्यांकन पनि हुनुपर्यो ।

त्यो कामकोे आधारमा उसको वृत्तिविकास हुनुपर्यो भने कामकै आधारमा पुरष्कृत र कारबाही पनि हुनुपर्यो । निजामती र प्रशासनका कर्मचारीलाई काममा भन्दा पनि परीक्षामा केन्द्रित गराउनुमा लोकसेवाको पनि कमजोरी हो । त्यसमा पनि सुधार हुँदै जानुपर्छ ।

प्रश्नका चाङ, उत्तर खोज्नुको छैन विकल्प
राजनीतिक र ब्यूरोक्रेटिक नेतृत्वले निजामती सेवामा अब आउने पुस्ता कस्तो बनाउने भन्नेबारे भिजन प्रष्ट पार्नुपर्छ। किनभने नयाँ आउने पुस्ता काँचो माटो हुन्। लोकसेवामा घुँडा धसेर पढ्ने मान्छेले घुँडा धसेरै काम किन गर्दैन ?

काम गर्ने सिलसिलामै उसले चार पाँचवटा डिग्री हासिल गर्छ तर आफ्ना कामसँग सम्बन्धित कुरामा अध्ययन–अनुसन्धान गर्ने जोश जाँगर किन हुँदैन ? यो अहिलेको गम्भीर प्रश्न हो।

हामीले माथिबाट जारी भएको निर्देशनअनुसार नै काम गर्ने हो । त्यसैले, नयाँ पुस्ता आउँदैमा धेरै खुसी हुनुपर्ने अवस्था छैन । जति नयाँ आए पनि नयाँ अनुहारहरू माथिबाटै निर्देशित हुन्छ । त्यसैले प्रणालीमा सुधार नल्याइ सुख छैन।

(यो सामाग्री घिमिरेसँग नेपालवाचले गरेको कुराकानीमा आधारित हो । )

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८, १६:१३:००