NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३२ गते

कुवेतको जेलमा सकसपूर्ण २४ घण्टा

साउन एक गते, २०६१ साल । बिहानको ११ बज्दै थियो कुवेतमा । मसँग थिए एउटै कोठामा बस्ने, सँगै काम गर्ने साथी काठमाडौंका रबिन ठकुरी ।

दुवैजनाको कुवेत भिसा अवधि सकिएको तीन दिन भएको थियो । भिसा सकिएकै दिन काम गर्ने रेस्टुरेन्टमा सिभिल आइडी (कुवेत भित्र स्थायी वा अस्थायी बसोबास गर्ने सबैले बोक्नुपर्ने आइडी) लिन कम्पनीले कार्यालय आउन इमेल पठाएछ । तर कामका कारण जान सकिएको थिएन । त्यस दिन बल्ल समय मिलेको थियो । रूटको बस चढेर हामी हेड अफिस कुवेत सिटीको मालियातिर लाग्यौं ।

बाटोमा कुवेती प्रहरीको जाँच पर्‍यो। कुवेती नियमअनुसार, त्यस देशमा रहने व्यक्तिसँग सिभिल आइडी नभए कि भिसा लागेको पासपोर्ट, त्यो पनि नभए समय–अवधि भएको पेपर भिसा हुनुपर्ने रहेछ। हामी दुईसँग त भिसा सकिएको कागजात मात्र थियो । बसका अरू सात जनाको पनि स्थिति उही रहेछ ।

प्रहरीले उनीहरूकै मोटरमा राखेर हामी नौ जनालाई कैफान भन्ने ठाउँको जेलमा लग्यो। भर्खरै कुवेत पुगेको अनि अरेबिक भाषाको ज्ञान पनि उति नभएकोे । हामीलाई त्यहाँको नियम के थाहा ? कैदी बन्नुको विकल्प रहेन ।

प्रहरी कार्यालयको प्रमुखले एउटा कोठामा लगेर नौ जनालाई नै लाइनमा उभ्यायो । अनि सबैलाई पालैपालो आफू काम गर्ने कम्पनी, नाम र धर्म सोध्यो । हामीले बतायौँ । त्यसपछि हामीले आफ्नो कम्पनीमा फोन गरेर खबर गर्‍यौं । तर, मेनेजरले हाम्रो सिभिल आइडी लिएर आउन ढिला गरिदियो । त्यसैले २४ घन्टे मुद्दा दर्ता गराएर अर्काे कोठामा लगियो । मसँग भएको मोबाइल पनि लगियो, पेटी, नैनीलगायतका धातुनिर्मित सामानहरू प्रहरीले नै झोलामा हालेर राखे ।

दुई बङ्गलादेशी नागरिक, रबिन र मसहित चार जनालाई एउटा कोठामा राखियो। जुलाइको मध्य गर्मी, त्यसमा पनि पहिलो पल्ट खाडी मुलुकमा, अनि एयर कन्डिसनबिनाको अँध्यारो कोठा। ओच्छ्याउने केही पनि नभएको खाली भुइँ र घुँडासम्म बारिएको खुल्ला चर्पी । अनि त्यसको गन्धको पिरलो उस्तै ! भन्दा पनि दिगमिग र अत्यासलाग्ने ! पहिले त भित्र छिर्नै गा¥हो लाग्यो तर हामी कैदीसँग दोस्रो विकल्प के थियो र ? खाली भुइँमै बस्यौं।

केही बेरमै प्रहरी कार्यालयमा हाम्रो कम्पनीको मेनेजर आइपुगे र भने, ‘केही चिन्ता नलिनू, अब भोलि हामी लिन आउँछौँ।’ उनी बाहिरिएपछि हामीले ठहर गर्‍यौं, हामी बन्दी नै भएका रहेछौं ।

केहीपछि जेलमा कार्यरत एक जना बङ्गलादेशी नागरिकले हामीलाई पानी ल्याइदिए । अनि फलामको बारभित्र रहेको धेरै पुरानो लाग्ने बोतलमा बाहिरबाट अलग्गै पानी हालिदिए । यो दृश्य देख्दा चिडियाघरमा जनावरहरूलाई मान्छेहरूले बाहिरबाटै खानेकुरा फालिदिएजस्तो लाग्यो । मैले त्यस्तो पानी पिउन सकिनँ । २४ घन्टा पानी नपिएरै बिताएँ ।

गाईको मासु
एकछिनपछि फेरि अघिकै स्टाफले हामीलाई खाना ल्याइदिए । सानो प्लास्टिक–कागजमा प्याक गरिएको खाना अघिकै फलामको बारबाट छिराइदिए । खोलेर हेर्दा त्यो त बिफ–पुलाउ (गाइगोरुको मासु हालेको पुलाउ) रहेछ । मैले त्यो पनि खाइनँ । त्यस्तो बेलामा त समय बित्नै गाह्राे हुने रहेछ । एक मिनेट पनि एक घन्टा जस्तो लाग्ने, घडीको सुई हेर्दै बसेँ।

बेलुकाको सात बजेतिर हामी चार जनाका लागि बेलुकाको खाना स्वरूप खबुस (सुख्खा रोटी) र एक–एक ओटा सुन्तला अनि एक–एक कप सुन्तलाको जुस दिइयो । अति पानी प्यास र खरोपन भएकोले सुन्तला र जुस खाएँ । जुन कोठामा छिर्दासमेत घिन लागेको थियो, त्यही कोठाको भुइँलाई ओच्छ्यान बनाइयो । आफ्नै हातलाई सिरानी बनाउँदै अनि आफूले लगाएको सर्ट पाइन्टलाई नै सिरक र डसना बनाउँदै खाली भुइँमा पल्टियौं ।

निद्रा त कहाँ लाग्थ्यो र ? विदेशको, त्यो पनि जीवनकै पहिलो जेल अनुभव, कसरी निन्द्रा लाग्नु ? कडा र खाली भुइँ भएकोले बस्दा–बस्दा जिउ नै दुखेको थियो । मन हतास र चिन्तित भएकाले त्यहाँको बसाइ लामो लाग्दै थियो । रातभर जाग्राम बसेँ म । हरेक घन्टा–घन्टामा ड्युटीमा रहेका कुवेती प्रहरीहरू जेलको कोठाको ढोकामा रहेको बारलाई आफ्नो लठ्ठीले हान्दै र जुत्ता बजाउँदै आउने–जाने गर्थे । कतिपय कैदीहरूलाई पिटेको र कैदीहरू रोएको स्वर पनि प्रष्ट सुनिन्थ्यो ।

बिहान हुँदै गर्दा बाहिरको उज्यालो म बसेकोे कोठामा पनि छिर्‍यो । उज्यालो भएको केही बेरमा हिजोकै स्टाफ हाम्रो अगाडि देखापर्यो । उसले बिहानको खाजा खबुस र जुस लिएर आएको थियो । एकाबिहानै खबुस त खाइनँ तर जुस चाहिँ ‘सिल्डप्याक’ भएकाले खाएँँ । अनि फेरि घडी हेर्दै ‘कति बेला एघार बज्ला र कम्पनीबाट मान्छे आएर लिएर जाने हो’ भन्दै बसेँ ।

आफ्नो रुचि र रहरको विषयमा भुल्न पाउँदा मान्छे समय गएको पत्तो पाउँदैन तर कष्टको बेला घडीको सुई नै घुम्दैन जस्तो लाग्यो । अनि साथीहरूसँग गफ पनि के गर्नु ? सबै जना चिन्तित । त्यस्तो बेलामा परिवार सम्झँदा त झन मन एकतमासको हुने ।

बिहानको दस बजे नै मेनेजर हाम्रो सिभिल आइडी र ‘कन्ट्रयाक्ट पेपर’ लिएर आएछन् । एक प्रहरी आएर म र रबिनजीलाई हातको इसाराले ढोका खोलेर बोलायो । अनि भन्यो– ‘एल्ला ताल’ (यता आइज) ।

हामी चुपचाप उसको पछि लाग्दै काउन्टरतर्फ गयौँ । प्रहरीले हामीसँग लिएको मोबाइललगायतका सामान फिर्ता दिएर एउटा कागजमा सही गरायो । अनि भन्यो– ‘मा–सलाम’ (अरबिक भाषामा बिदाइको अभिवादन) । उसले हामीलाई मेनेजरको जिम्मा लगाइदियो ।

हामी मेनेजरको कारमै हेडअफिस गयौँ । उसले बाटोमा हामीलाईसन्चो–बिसन्चो सोध्यो । अङ्ग्रेजी भाषामा कुवेतको नियम–कानुनका बारेमा सम्झायो । हामीलाई समयमै निकाल्न नसकेकोमा क्षमा पनि माग्यो । हामीलाई पनि ‘जेजस्तो भयो, यसलाई ठूलो इस्यू बनाएर काम छैन’ भन्यो ।

हेड अफिसमा कफी पिउँदै नास्ता गरेर कम्पनीको मोटरबाटै कोठामा गयौं । सबै साथी हाम्रै बाटो हेरेर बसेका रहेछन् । इजिप्सियन रेष्टुरेन्ट मेनेजर पनि हामीलाई नै कुरेर बसेको रहेछ ।

साथीहरूमाझ छोटो बन्दी जीवनको दुःख बाड्यौँ । मेनेजरले ‘बन्दी भएवापत’ दुई दिनको बिदा दियो । हामीले सुतेरै दुई दिन बिताइदियौँ ।

खाडीः एक निचोड
नेपालबाट कुवेत पुगेको चालीस दिनभित्र भोग्नु परेको कुवेतको चौबिस घन्टे जेल बसाइ साह्रै नरमाइलो लाग्यो। सामान्य नियम उल्लंघन गर्दा त हाम्रो त्यो हाल भयो भने खाडी मुलुकमा जेल सजाय पाएका डोल्मा शेर्पालगायत नेपाली र अन्य प्रवासी श्रमिकहरूको स्थिति के होला ?

कुवेती प्रहरीहरूमा खासै मानवता र अनुशासन मैले देखिनँ । उनीहरू कार्यालय समयभित्र कार्यालयमै चुरोट पिउँथे । पक्राउ परेका व्यक्तिलाई सोधपुछकै क्रममा पिट्थे र अरेबिकमा अश्लील गाली गर्दथे ।

अझ छोटो समयका लागि थुनिने बन्दीको हकमा त त्यहाँ नेपाल भन्दा गएगुज्रेको हालत रहेछ । खाने र बस्ने व्यवस्थाको हकमा झन् दिक्दार लाग्ने रहेछ । कैदीखानाको त्यो अवस्था र सुरक्षाकर्मीको त्यस्तो व्यवहार देख्दा विश्वकै महँगो मुद्रा भएको, ठूला तेल खानी भएको र अमेरिकासँगको हातेमालोले भौतिक समृद्धि हासिल गरेको देश भए पनि मानवीय मर्यादा र सामाजिक जीवन भने तल्लो स्तरको रहेको महसुस भयो । अहिले नेपालमा छु, तर त्यहाँ हुँदा कहिलेकाहीँ कुवेत सिटी जाँदा–आउँदा ‘कैफान बस स्टेसन’ पुग्दा २४ घन्टे बन्दी जीवनको कुरा याद आउँथ्यो ।

मान्छेहरूले भनेको सुनेको छु, ‘खाडी देशमा त शत्रु पनि नआउन्।’ तर मलाई लाग्छ, संसारका अनेकौँ अनुभूति संगाल्ने ठाउँमध्ये खाडी पनि एक हो । जहाँ संसारका सबै देशका मान्छेहरू काम गर्न पुग्छन्। अर्काे कुरा, केही अपवादहरू छाडेर नियम–कानुन कार्यान्वयनको सवालमा खाडी कडा छ । त्यो कुरा तारिफयोग्य छ । तर छोटो होस् या लामो, चराझैँ उड्न चाहने मानवले कुनै पनि देशमा कैदी जीवन बिताउन नपरोस् ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८, २०:२६:००