NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मानव तस्करलाई सघाएको आरोपमा गृहले नौ अधिकृतलाई फिर्ता बोलायो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नौजना अधिकृतलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । भिजिट भिसामा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गर्दै मानव तस्करलाई सघाएको आरोपमा उनीहरूलाई फिर्ता बोलाइएको विमानस्थल स्रोतले बतायो ।

अध्यागमन कार्यालयबाट फिर्ता पठाइनेमा अधिकृत रामप्रसाद ओली, दीपककुमार आचार्य, मौसम ढुंगेल, अच्युत केसी, नयन्द्रकुमार पौडेल, पुष्पराज शर्मा, हेमराज जोशी, यमबहादुर भट्टराई र अविलाश राई छन् ।

उनीहरूमाथि मिलेमतोमा सर्वसाधारणलाई भिजिट भिसामा मलेसिया र खाडी मुलुुक पठाउन अध्यागमनमा सेटिङ मिलाउने गरेकोे आरोप छ । मन्त्रालयले फिर्ता बोलाएसँगै उनीहरूमाथि अहिले छानबिन सुरु भएको छ । यसबारे मन्त्रालय र विभागले छुट्टै समिति बनाएर छानबिन थालेका छन् ।

विमानस्थल स्रोतका अनुुसार त्यही अनुसन्धानका लागि समितिको एक टोली आज विमानस्थल पुगेको छ । यस्ता क्रियाकलाप विमानस्थलमा भइरहने उनी बताउँछन् ।

‘यो अभियोगमा कर्मचारीलाई मन्त्रालय फिर्ता बोलाउने काम भइरहन्छ,’ उनी भन्छन्, ‘यस्तो पहिलैदेखि हुँदै आएको हो । यथेष्ट प्रमाण भेटेर कारवाही भने अहिलेसम्म हुन सकेको छैन ।’

अधिकृतमात्रै नभएर यस्तो काममा अध्यागमनका माथिल्लो निकायकै कर्मचारीको मिलेमतोमा मात्रै सम्भव हुने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १५:२०:००