NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

छानबिन समितिले सिइओ रेग्मीमाथिको प्रतिवेदन अध्यक्षलाई बुझायो, कारबाहीको सिफारिश

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीमाथि भइरहेको छानबिन टुंगिएको छ । छानबिन सकिएसँगै समितिले आज उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको छ । बोर्डको सञ्चालक समितिको अध्यक्षता मन्त्रालयका सचिवले गर्ने नियम छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयका कर्मचारीमाथि कुटपिट गरेर विवादमा आएका सिइओ रेग्मीमाथि विभिन्न आर्थिक अनियमितताको आरोप लागेको थियो । उनले विभिन्न समयमा पदको दुरुपयोग गर्दै आर्थिक अनियमितता भएको समितिले पुष्टि गरेको छ ।

समितिका संयोजक तथा बोेर्डका उपाध्यक्ष चन्द्र रिजालका अनुसार रेग्मीले बेलायतमा भएको विश्व पर्यटन मेलामा जाँदा आफूखुशी मान्छे लगेका थिए । त्यहाँ १५ जना नभइ कार्यक्रम नगर भनेर निर्देशन दिएकोमा उनले ६ जनामात्रै लगेर कार्यक्रम गरेको प्रतिवेदनमा जनाइएको छ ।

त्यस्तै, कार्यकारी समितिले गरेका निर्णय कायान्वयन नगरेको, आफ्नो सचिवालय सजावट गर्दा आर्थिक अनियाितता गरेको, टेण्डर छलेर काम गरेको, खर्चको विवरण नै नराखी बोर्डको नाममा होडल रेष्टुरेन्टमा खर्च गरेकोबारे पुष्टि भएको छ । बेलायतबाट आउँदा उनले कर्मचारीसँग गरेको व्यवहार पनि कानूनसम्मत भएन भन्ने निष्कर्ष निस्किएको छ ।

योसँगै समितिले रेग्मीलाई कारबाही गर्न पनि सिफारिश गरेको छ ।

मन्त्रालयले बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । बोर्डका सदस्य ङावा निमा शेर्पा, मन्त्रालय सहसचिव होमप्रसाद लुईटेल र उपाध्यक्ष रिजालको तीन सदस्यीय समितिले छानविन टुंगाएको हो ।