NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

मलाई गोली हान्न लेखा अधिकृतले भारतीय सार्प सुटरलाई सुपारी दिए : व्यवसायी रायमाझी

काठमाडौं । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीले आफूलाई गोली हान्न बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले सुपारी दिएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै रायमाझीले पोखरेलले तीनजना भारतीय सार्प सुटरलाई सुपारी दिएर आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।

‘भारतीय सार्प सुटरलाई लगाएर बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पोखरेलले मेरो हत्या गर्न खोजे ,’ रायमाझीले भने ।

हरिवन बजारको कडरिया चोकमा भारतबाट आएका तीनजना सुटरले आफूलाई गोली हान्ने प्रयास गरे पनि जोगिएको रायमाझीले बताए ।

हरिवन नगरपालिका–११ घर भएका रायमाझीले ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले सो योजनाबारे आफूलाई जानकारी दिएको दाबी गरे । योजना चुहिएपछि आफूले विश्वराज सहित आठ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएको बताए ।

आफूलाई एउटै स्कुल पढेका पोखरेलले गोली हान्न भारतीय सुटरलाई सुपारी दिएकोबारे उनले भने,‘विश्वराज र म एउटै स्कुल पढेका हौ तर उनी अलि सिनियर हो । मलाई मार्नलाई यतिसम्म गर्ला भनेर कहिल्यै सोचेको थिइन् ।’

रायमाझीले पोखरेलका आफन्तको जग्गा आफ्नो सीमानामा रहेको, उनका आफन्तले भोगचलन गरेको सम्पत्ति उनीहरूकै सल्लाहमा खरिद गरेको बताए । तर पछि विभिन्न बहाना गरेर विवाद झिकेपछि आफू बाध्य भएर सोही विषयमा अदालत जान बाध्य भएको उनको भनाइ छ ।

ताजा अपडेट

नेपालवाच विशेष