रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर
रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताए । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उनको भनाइ छ ।
बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताए । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उनको भनाइ छ ।
हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताए । समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उनले बताए । यस्तै वडा नं. २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया