NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

मुस्ताङमा भारी हिमपात, विद्युत् तथा यातयात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोमा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा विद्युत् अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय जोमसोमले जनाएको छ ।

सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित भएको छ । उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाएर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए ।

वर्षा र हिमपातले किसानमा भने खुशीयाली छाएको छ । यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो । वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–२ का वडाध्यक्ष नरप्रसाद हीराचनले बताए ।

हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने तथा उत्पादन बढ्ने किसान बताउँछन् । स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यक पर्ने भएकाले पनि हिमपात स्याउ जोनका लागि सकारात्मक भएको नाप्रस एमुना लामाले बताए । स्याउ, जौँ, गहुँ, उवा, फाँपर बाली सप्रने किसानको विश्वास छ ।

ताजा अपडेट

नेपालवाच विशेष