NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

लादेन र कुरेशीको हत्या संयोग, यसरी बन्यो आतंकवादी सिध्याउने अमेरिकी योजना

काठमाडौं । भनिन्छ, इतिहास आफूलाई पुनः दोहोर्‍याउँछ  । बिहीबार ह्वाइट हाउसको सिचुएशन रुमको अवस्थालाई मध्यनजर गर्ने हो भने यो उक्ति केही मिल्न जान्छ ।

करिब ११ वर्षअघि अमेरिकी राष्ट्रपति बराक ओबामा र हालका राष्ट्रपति जो बाइडेन बराका लेफ्टिनेन्ट अर्थात् उपराष्ट्रपति थिए । त्यसपछि अमेरिकी सिल कमाण्डोहरुले अलकायताका नेता ओसामा बिन लादेनलाई पाकिस्तानको एबोटाबादमा विशेष अप्रेशनका क्रममा मारे ।

यस्तै, ४ फेब्रुअरी २०२२ अर्थात बिहीबार सिरियाको राजधानी दमास्कस नजिकैको एउटा सहरमा इस्लामिक स्टेट आइएसएसका नेता इब्राहिम अल हाश्मी अल कुरेशी मारिए ।

हाश्मीलाई अमेरिकी कमाण्डोले भने मारेको होइन । गिरफ्तारीको त्रासले कुरेसीले आफूलाई नै विस्फोट गराएको बताइएको छ । तर, यो आश्चर्यजनक कुरा भने होइन, किनकी यो आइएसआइएसको मोडस अपरेन्डी काम गर्ने तरिका हो । जब गिरफ्तारीको सम्भावना बढ्छ त्यहाँ लडाकूले आत्मघाती विस्फोट गराउँछन् ।

तर, सिएनएनको एक रिपोर्टमा हाश्मी आफैंले विस्फोट गराएको भन्ने विषयमाथि भने प्रश्न उठाएको छ । यसै क्रममा एनवाइटीसँगको कुराकानीमा ह्वाइट हाउसका एक अधिकारीले भने, ‘धेरैतर्फबाट घेरिएपछि हाश्मीले आत्महत्या गरेको देखिन्छ ।’

जब बिन लादेन मारिए तब राष्ट्रपति ओबामा आफ्नो टोलीसँग ह्वाइट हाउसको सिचुएसन रुपमा उपस्थित थिए । त्यसको तस्वीर ह्वाइट हाउसका प्रेस कर्मचारीले नै जारी गरेका थिए । त्यसबेला ओबामाको अनुहारमा तनाव स्पष्ट देखिन्थ्यो ।

करिब १४ हजार किलोमिटर टाढा रहेको अमेरिकी नौसेनाको एलिट सिल कमाण्डो फोर्सले अँध्यारो रातमा पाकिस्तानमा विश्वकै सबैभन्दा खतरनाक आतंकवादीलाई मार्ने अप्रेसन चलाइरहेको थियो ।

कमाण्डोको हेल्मेटमा नाइट भिजन क्यामेरा जडान गरिएको थियो । यसका माध्यमबाट तस्बिरहरू सिधै ह्वाइट हाउससम्म पुगेका थिए ।
यस्तै बिहीबार पनि आइएसआइएस नेता इब्राहिम अल–हाश्मी अल–कुरेशी सिरियामा अमेरिकी वायुसेनाको एलिट कमाण्डो इकाईद्वारा मारिए ।

करिब १२ हजार किलोमिटर टाढा गरिएको यो अपरेसनलाई ह्वाइट हाउसको सिचुएसन रुममा बसेर राष्ट्रपति बाइडेनको टोलीले प्रत्यक्ष हेरिरहेको थियो । यसको तस्बिर पनि ह्वाइट हाउसका प्रेस स्टाफले जारी गरेका छन् । बाइडेनको अनुहारमा पनि त्यही तनाव झल्किएको थियो जुन ११ वर्षअघि ओबामाको अनुहारमा देखिएको थियो ।

लादेन र कुरेशीको मृत्युसँग धेरै संयोग मिल्न पुग्छन् । एउटा मात्रै ठूलो भिन्नता देखिन्छ । त्यो भिन्नता लादेनको हत्याको समयमा ओबामा राष्ट्रपतिको सट्टा सामान्य कुर्सीमा थिए, बाइडेन भने कुरेशीको हत्या हुँदा राष्ट्रपतिकै कुर्सीमा आशिन देखिन्छन् ।

बिन लादेन र हाश्मीलाई मार्ने अभियानमा देखिएका संयोग 

१. ओसामा बिन लादेन र इब्राहिम अल–हाशमी दुबै एलिट फोर्सका कमाण्डोहरूद्वारा मारिएका हुन् । फरक यति हो कि बिन लादेनलाई नेभी सील कमाण्डोले मारेको थियो र अहिले हाश्मीलाई वायुसेनाको एलिट कमाण्डो फोर्सले मारेको हो ।

२. दुवै अप्रेसनको समयमा दुई महत्वपूर्ण महिलाहरूको उपस्थिति राष्ट्रपतिको कक्षमा देखिन्छ । बिन लादेनको समयमा हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री थिइन् र उनले यो अपरेसन प्रत्यक्ष हेरिरहेकी थिइन् । यसपटक कमला ह्यारिस बाइडेनकी लेफ्टिनेन्ट हुन् र उनले हाश्मीको अन्त्य हेरेकी थिइन् । तर, बिन लादेनको समयमा एक प्रेस सचिव पनि उपस्थित थिए ।

३. बिन लादेनको समयमा बाइडेन उपराष्ट्रपति थिए । ओबामाको दाहिनेतिरको सोफामा बसेर उक्त अप्रेसन हेरिरहेका थिए । यसपटक उनी राष्ट्रपतिको कुर्सीमा छन् । कमला ह्यारिस भने उनको दायाँतर्फ थिइन् ।

४. बिन लादेन पाकिस्तानको एबोटाबादमा एउटा सेतो रंगको घरमा मारिएका थिए । हाश्मीलाई मारिएको घर पनि सेतो रंगकै थियो । दुवै घरको पर्खाल अन्य घरको भन्दा अग्ला थिए ।

५. दुवै जना आतंककारी मारिँदा उनका परिवारका सदस्य साथमै देखिन्छन् । अप्रेसन लादेनमा उनको परिवारका केही सदस्य पनि मारिएका थिए । हाश्मीलाई त पूरै परिवारका साथ मारिएको छ ।

६. जब लादेनलाई समाप्त पारियो त्यसपछि २०११ मे २ मा बाराक ओबामाले आफैंले यसको जानकारी गराएका थिए । यसपटक राष्ट्रपति जो बाइडेनले पनि प्रेससँग कुरा गर्दै हाश्मीको मृत्युबारे जानकारी दिए ।

७. बिन लादेन मारिएको समयमा अमेरिकी हेलिकप्टरमा प्राविधिक गडबडी देखिएकाे थियो । सीएनएनका अनुसार हाश्मीलाई मार्ने अभियानका क्रममा पनि एउटा हेलिकप्टरमा क्षति पुगेको छ ।

८.सीएनएनका अनुसार बाइडेन पाकिस्तानमा ओसामा बिन लादेनलाई मार्ने अप्रेसनको पक्षमा थिएनन् । वास्तवमा बाइडेनले लादेन बसेको क्षेत्रलाई नागरिक आवादीको क्षेत्र मानेका थिए । सूचना गलत भएको खण्डमा आम मानिस मारिन सक्ने सम्भावना थियाे । ओसामा बिन लादेनको घरबाट केही किलोमिटर टाढा पाकिस्तानी वायुसेनाको बेस स्टेशन थियो ।

पाकिस्तानी सेना र अमेरिकी कमाण्डोहरूबीच भिडन्त हुनक्ने स्थिति पनि थियो । बिन लादेनको अप्रेसनका क्रममा बाइडेन हिचकिचाएका पनि थिए । तर, अहिले हाश्मीलाई मार्ने अभियानमा भने बाइडेनले पक्का सूचना लिएर मात्रै अनुमति दिएका थिए ।

बिन लादेन मार्ने कमाण्डो तयार पार्न दुई महिना लागेकाे थियो । अहिले हाश्मीको अभियानमा पनि सोही अवधि लगाएरै कमाण्डो तयार पारिएको थियो ।