NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाने

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग फलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब ईमिरेट्स (युएई) जाने भएका छन् ।

यसैबीच नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकीसँग आइतवार छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरे ।

अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको अवसर प्रदान गर्न, भीसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिन तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोग गर्न समेत आग्रह गरे ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्रीले छलफलका क्रममा बताएका छन् ।

राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमानै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताएको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले जनाएकाे छ ।

मन्त्री श्रेष्ठले युएई भ्रमणको क्रममा नेपाल–युएई संयुक्त समितिको वैठक पनि आयोजन गर्ने बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष