क्यासिनोलाई लाइसेन्स बाँडेकोप्रति अन्तर्राष्ट्रिय समितिको चासो
सभापति भन्छिन्, एजेन्डा तय गरेर मन्त्रीलाई बोलाउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोलाई लाइसेन्स वितरण गरेकोप्रति प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिले चासो देखाएको छ ।
समितिकी सभापति पवित्रा निरौलाले यसबारे समितिको ध्यानाकर्षण भएको र लाइसेन्स वितरण गर्ने मन्त्रीलगायत जिम्मेवार अधिकारीलाई बोलाएर छलफल गर्नेबारे सोच बनाएको जानकारी दिइन् ।
‘पर्यटनमन्त्रीज्यूले क्यासिनोको लाइसेन्स वितरण गरेको हामीले थाहा पाएका छौं,’ उनले भनिन्, ‘आज, भोलि नै यसबारे छलफल गर्ने एजेन्डा त छैन तर यसबारे छलफल गराउने सोच बनाएका छौं ।’
सोमबार र मंगालबार केही एजेन्डामा छलफल गर्ने कार्यसूची रहेको र यो सकिएपछि सदस्य तथा सांसदहरूको सुझावका आधारमा पर्यटन मन्त्रीलगायत लाइसेन्स वितरणमा संलग्न जिम्मेवार व्यक्तिलाई बोलाएर सोधीखोजी गर्ने उनले जानकारी दिइन् ।
क्यासिनोको लाइसेन्स वितरणमा पूर्ववर्ती सरकारले अंकुश लगाए पनि आले पर्यटन मन्त्रालयको जिम्मेवारीमा आएपछि पाँच वटालाई इजजात पत्र वितरण गरिसकेका छन् । विगतमा देशभर १७ वटा क्यासिनो सञ्चालनमा रहेकोमा अहिले २२ पुगेको छ ।
कतिपय कामले चर्चामा आएका आलेले क्यासिनोलाई लाइसेन्स वितरण गरेपछि आलोचना चुलिएको छ ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया