NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव

काठमाडौं । युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापन सम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।

हाम्राकुरा डटकमका पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु भएको बताए ।

विज्ञ उज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताए ।

उनले मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक नियकायहरूबिच सहकार्य हुनु आवश्यक भएको उल्लेख गरे ।

अधिवक्ता बाबुराम आचार्यले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पारे ।

काउन्सिलले सैद्धान्तिक रूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उनले सुझाव दिए । पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताए ।

पत्रकारिताको न्यूनतम मूल्यमान्यता कायम राख्नकै लागि भए पनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने उनको भनाइ थियो ।