NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मन्त्रीको दाबी, ‘नागढुङ्गा सुरुङमार्ग समयमै बन्छ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले नागढुङ्गा सुरुङ तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरेकी छिन् । आज निर्माणस्थलको अनुगमनपछि आयोजनाका कर्मचारी र निर्माण कम्पनीसँगको छलफलमा उहाँले अहिलेसम्मको निर्माण सन्तोषजनक रहेको उल्लेख गरिन् । सुरुङ निर्माणको गति र गुणस्तर दुवै राम्रो बनाउन निर्माण कम्पनीले मेहनत गरेको उनले उल्लेख गरिन् ।

सुरुङमा आउने कुनै पनि किसिमका समस्या समाधानका लागि आफू तयार रहेको उनले बताइन् ।

उनले भनिन्, ‘आर्थिक वा अरु कुनै पनि किसिमको समस्या आउँदा समाधानका लागि लागिनेछ ।’

सुरुङ निर्माण नेपालका लागि पनि सिकाइ भएको मन्त्री यादवको भनाइ थियो । यहाँबाट सिकेको अनुभवबाट अरु ठाउँमा पनि प्रयोग गर्नुपर्ने उनले बताइन् ।

नागढुङ्गा सुरुङ आयोजनाका प्रमुख नरेशमान शाक्यले अहिले पनि स्थानीयवासीलाई मुआब्जाका लागि दिन रकम अपुग भइरहेको बताए । विगतदेखि नै मुद्दामा रहेका पाँच घरको टुङ्गो नलागेकाले निर्माणमा बाधा पुगेको उनको भनाइ छ ।

आयोजनाको हालसम्म भौतिक प्रगति २९ दशमलव एक प्रतिशत र मोबिलाइजेसन पेश्कीसमेत आर्थिक प्रगति ४४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
हालसम्म मुख्य सुरुङ निर्माण ३३ दशमलव दुई प्रतिशत र निष्कासन सुरुङ ५२ दशमलव नौ प्रतिशत सकिएको छ ।

मन्त्री यादवसँगै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटालगायत निर्माणस्थल पुगेका थिए । उनीहरूले काठमाडौं जिल्लातर्फ भइरहेको निर्माणको अवलोकन गरे ।