NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

भारतमा बेरोजगारी र ऋणका कारण आत्महत्या गर्नेको संख्या बढ्दो

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘राम्रा दिन आउँदैछन्’ भनेर जतिसुकै चर्का नारा दिए पनि भारतको आर्थिक असमानता, बेरोजगारी र गरीबीको अवस्था भने कहालीलाग्दो देखिन्छ ।

महाशक्ति उन्मुख छिमेकी मुलुक भारतमा आर्थिक संकट, बेरोजगारीले ऋणका कारण हजारौं जनता आत्महत्या गर्न बाध्य भइरहेका छन् । यसको पुष्टि बुधवार मात्र भारतका केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द रायले गरेका छन् ।

हुन त भारतमा विभिन्न कारणले वर्षेनी आत्महत्या गर्नेको संख्या लाखौं छ । तर, बेरोजगारी र ऋणका कारण आत्महत्या गर्नेहरुको संख्या पनि वर्षेनी बढदो छ ।

भारतको राज्यसभामा बुधवार गृह राज्यमन्त्री रायले आर्थिक रुपमा टाट पल्टिएर र ऋणमा डुबेर सन् २०१८ देखि २०२० को बीचमा १६ हजारभन्दा बढीले आत्महत्या गरेको तथ्यांक प्रस्तुत गरेका छन् ।

यसैगरी बेरोजगारीको पीडा खप्न नसकी यो अवधिमा ९ हजार १ सय ४० जनाले आत्महत्या गरेका छन् ।

यसअघि विश्व स्वास्थ्य संगठनले पनि आफ्नो एक रिपोर्टमा भारतलाई बढी आत्महत्या हुने देशहरूको सूचीमा २० औं नम्बरमा राखेको थियो । ताजा तथ्यांकअनुसार भारतका चेन्नई, बैंगलोर, हैदरावाद, मुम्बई, दिल्ली र कलकत्तामा आत्महत्याको दर बढेको छ ।

गृह राज्यमन्त्री रायका अनुसार सन् २०२० मा ऋण डुबेर ५ हजार २ सय १३ जनाले आत्महत्या गरेका थिए । जबकि, सन् २०१९ मा यसरी आत्महत्या गर्नेको संख्या ५ हजार ९ सय ८ थियो । सन् २०१८ मा ४ हजार ९ सय ७० जनाले आत्महत्या गरेका थिए ।

कहालीलाग्दो तथ्यांक

एक अर्को तथ्यांकअनुसार भारतमा आत्महत्या गर्नेमध्ये ६७ प्रतिशत मानिस १८ देखि ४५ वर्ष उमेरका छन् । एनसिआरबीले हालै जारी गरेको रिपोर्टअनुसार सन् २०१९ मा हरेक चार मिनेटमा भारतमा कुनै न कुनै व्यक्तिले आत्महत्या गरे । यीमध्ये ३५ प्रतिशत व्यक्ति यस्ता थिए, जो आफ्नो व्यवसाय चलाइरहेका थिए । तथ्यांकअनुसार कलेज पढने युवामा आत्महत्या दर बढदो छ । युवाहरूमा आत्महत्या दर सन् २०१८ को तुलनामा सन् २०२० मा चार प्रतिशतले बढेको छ ।

यसअघि विश्व स्वास्थ्य संगठनले पनि आफ्नो एक रिपोर्टमा भारतलाई बढी आत्महत्या हुने देशहरूको सूचीमा २० औं नम्बरमा राखेको थियो । ताजा तथ्यांकअनुसार भारतका चेन्नई, बैंगलोर, हैदरावाद, मुम्बई, दिल्ली र कलकत्तामा आत्महत्याको दर बढेको छ । भारतको १० लाखभन्दा बढी जनसंख्या भएको सहरमध्ये केरलाको कोल्लममा आत्महत्याको दर सबैभन्दा बढी ४३ दशमलव १ प्रति लाख छ । यसपछि पश्चिम बंगालको आसनसोलमा यो दर ३७ दशमलव ८ व्यक्ति प्रतिलाख छ ।

विश्व वैंकका अनुसार सन् २०१८ मा आत्महत्याको दरमा श्रीलंका २९ औं, भुटान ५७ औं, नेपाल ८१ औं, चीन ६९ औं, बंगलादेश १२० औं र पाकिस्तान १६९ औं स्थानमा छ । सन् २०२१ सम्म अन्य मुलुकमा आत्महत्या दर बढे पनि नेपाल र बंगलादेशको अवस्थामा स्थीर रहेको विश्व बैंकको पछिल्लो रिपोर्टमा उल्लेख छ । भारतमा चाहिँ आत्महत्याको दर बढदै गएको छ ।

खासगरी ऋणमा डुबेका किसान, बेरोजगार युवा र व्यवसायमा घाटा भएर टाट पल्टिएका मानिसमा आत्महत्याको क्रम बढदो रहेको तथ्यांकहरूले देखाएका छन् । सन् २०१९ मा आएर दैनिक मजदुरी गर्ने ३२ हजार ५ सय मजदुरले पनि आत्महत्या गरेको कहालीलाग्दो तथ्यांक आएको छ । कोरोना कहरका कारण जागिर खोसिएपछि विरक्तिएका मजदुरहरूले आत्महत्याको बाटो रोजेको देखिन्छ ।