NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

स्थानीय निर्वाचनको मुख्य सुरक्षा चुनौती : हिमाल–पहाडमा विप्लव, तराईमा सिके

काठमाडौँ । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकायले विप्लव नेतृत्वको नेकपालाई मुख्य सुरक्षा चुनौतीको रुपमा औल्याएका छन् ।

सरकारले चुनावको मिति घोषणा गरेलगत्तै सुरक्षा निकाय आन्तरिक तयारीमा जुटेको छ । उनीहरुले विप्लव समूहलाई मुख्य सुरक्षा खतराको सुचीको पहिलो नम्बरमा राखेका हुन् ।

सुरक्षा निकायको प्रतिवेदनहरुमा विप्लव समूहले निर्वाचनलाई लक्षित गरी चन्दा आतंक लगायतका अराजक गतिविधि बढाएको उल्लेख छ ।

‘विप्लव समूहले अहिलेको राजनीतिक व्यवस्थालाई स्वीकार गरेको देखिदैन, सैन्य संरचनामा रहेको, हातहतियार समेत रहेको उक्त समूह आगामी निर्वाचनको मुख्य सुरक्षा चुनौती हो’ सुरक्षा निकायहरुले गृह मन्त्रालयलाई बुझाएको निर्वाचन सुरक्षा विश्लेषण प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो समय विप्लव समूहका कार्यकर्ताबाट स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीसँग चन्दा माग गर्ने र नदिनेलाई कालोमोसो दल्ने गरेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

सुरक्षा निकायले आगामी दिनमा यस्तो घटना बृद्धि हुनसक्ने विश्लेषण गृह मन्त्रालयलाई बुझाएको छ ।

यस्तै आगामी निर्वाचनका लागि सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि मुख्य सुरक्षा चुनौतीको रुपमा राखिएको छ ।

किसान आन्दोलन, भ्रष्टाचार विरुद्ध अभियान जस्ता नामबाट सो समूहले निर्वाचन सुरक्षा विपरित काम गर्नसक्ने औल्याएको छ ।

उक्त समूहले अहिले विभिन्न अराजक समूहबाट विध्वसात्मक गतिविधिलाई प्रोत्साहित गरेको भन्दै यो समूहबाट विशेष निगरानी बढाउनु पर्ने औंल्याएको छ ।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपनि यो समूहले निर्वाचनमा भाग लिनेबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यो समूहले निर्वाचनमा भाग लिनेबारे स्पष्ट धारणा सार्वजनिक नगरेको, यदि निर्वाचनमा भाग नै लिएपनि यसले हिंसात्मक गतिविधि गर्नसक्ने औंल्याएको छ ।

सुरक्षा चुनौतीको बिश्लेषणका आधारमा चार वटै सुरक्षा निकायले निर्वाचन सुरक्षा रणनीति तयार गर्दैछन् । त्यही क्रममा विप्लव समूह र सिके राउत समूहलाई मुख्य चुनौतीको रुपमा राखिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष