त्रिविले भन्यो ‘अब अनसन र तालाबन्दीको आडमा स्थायी हुने दिन गए’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनसन र तालाबन्दीको दबाबमा आंशिक प्राध्यापकलाई करार र स्थायी नियुक्ति दिने परिपाटी अब अन्त्य गर्ने बताएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
यसअघि अनसन र तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीलाई भौतिक, मानसिक र नैतिक दबाव दिई आंशिकलाई स्वतः करार र करारलाई स्वतः वा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने परम्परा रहेको जनाउँदै अब त्यो स्वीकार्न नसकिने त्रिविले स्पष्ट पारेको छ ।
‘खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल सावित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुचि राख्ने, सिर्जनशील, लगनशील, अनुशासित शिक्षकहरूलाई त्रिविले सदैव स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
आंशिक प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविसभाको विगतको निर्णयको माग गर्दै आंशिक प्राध्यापकले माघ ६ गते तालाबन्दी गरेका थिए । यसैको प्रतिक्रियास्वरुप आज त्रिविले आज विज्ञप्ति निकालेको हो ।
प्रतिक्रिया