NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कप्तान र प्रशिक्षकको भिडियो सन्देश : नेपाललाई विश्वकपमा पुर्याउन सक्षम भएका छौं

काठमाडौं । आइसिसी पुरूष टि–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल शुक्रबारदेखि ओमानमा हुँदैछ । आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानको सामना गर्दैछ ।

विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप नेपालले यसअघि चार देश सम्मिलित टि–२० सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

यसैबीच, ओमानसँगको खेलको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दसानायकेले भिडियो सन्देश जारी गर्दै नेपाल विश्वकपमा पुग्न सक्षक रहेको बताएका छन् ।

कप्तान लामिछानेले सबै खेलाडी र पदाधिकारीको समान उद्देश्य नेपाललाई विश्वकपमा छनोट गराउनु नै रहेको बताएका छन् ।

‘सबैको एउटै उद्देश्य नेपाललाई विश्वकपमा छनोट गराउनु नै हो । यसअघि खेलिएका तीनवटै खेलको प्रदर्शन हेर्दा हामी विश्वकपमा पुग्न सक्षम छौंजस्तो लाग्छ । ती तीन खेलले खेलाडीको व्यक्तिगत प्रदर्शन प्रभावकारी बनायो । तयारी राम्रो भयो’, उनले भनेका छन् ।

यस्तै, प्रशिक्षक दसानायकेले तीन खेलबाट खेलाडील मैदानको अवस्था राम्रोसँग अध्ययन गर्ने मौका पाएको बताए । उनले सबै खेलाडीमा आत्मविश्वास वृद्धि भएकोसमेत दाबी गरे ।

यसअघि नेपालले ओमानसँग टि–२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त युएई छन् ।

ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि–२० विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन ।