NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ३ गते
अनौठो सत्य

एउटा रहष्यमय न्यायाधीश, जसलाई फाँसीमा झुण्ड्याइयो

काठमाडौं । मृत्युदण्डको प्रावधान भएका मुलुकमा अदालतका न्यायाधीशले अपराधीलाई फाँसीको सजाय सुनाएका घटना त दिनहुँ हामी सुन्ने गर्छौं, तर भारतको न्यायिक इतिहासमा एकजना यस्ता न्यायाधीश पनि रहे, जसलाई अदालतले फाँसीको सजाय दियो । न्यायाधीशलाई नै अदालतले फाँसीमा झुण्ड्याएको यो प्रसंग ४६ वर्षअघिको हो ।

सन् १९७६ मा न्यायाधीश उपेन्द्रनाथ राजखोवालाई फाँसी दिइएको थियो । आखिर किन ? यसको भयानक कहानी छ ।

घटना प्रसंग सुरु हुन्छ, सन् १९६९ बाट । आसामको डुबरीमा जिल्ला सेसन न्यायाधीशका रूपमा उपेन्द्रनाथको सरुवा हुन्छ । न्यायाधीश उपेन्द्रनाथ सरकारी क्वार्टरमा बस्न थाले । उनका तीन छोरी र श्रीमतीचाहिँ त्यसबेला गुवाहटीमा थिए, जहाँ उनको घर थियो । विभिन्न ठाउँमा सरुवा भइरहने भएकाले उनले आफ्नो घर भाडामा दिएका थिए ।

आसाममा सरस्वती पूजा निकै तामझामका साथ मनाइन्छ । सन् १९७० को फेब्रअरी महिना चलिरहेको थियो र सरस्वती पूजाको बिदा थियो । न्यायाधीश उपेन्द्रनाथले सरस्वती पूजाका लागि श्रीमती पुतली राजखोवा, छोरीहरू निर्मला, जोनाली र रूपालीलाई डुबरी बोलाए । जेठी छोरी निर्मलाले कलेज तहसम्मको पढाइ पुरा गरिसकेकी थिइन्, बाँकी छोरीहरू कलेज पढ्दै थिए ।

स्वतन्त्र भारतको न्याय सेवाको इतिहासमा उपेन्द्रनाथ राजखोवा नै यस्ता न्यायाधीश हुन्, जसलाई फाँसीमा झुण्ड्याइयो । तर, आजसम्म पनि उनले त्यो हत्या किन गरे भन्ने तथ्य रहष्यकै गर्भमा छ

न्यायाधीश साहब सन् १९७० को २ फेब्रुअरीमा सेवा निवृत्त हुँदै थिए । त्यसैले सेवा निवृत्तअघि परिवारका साथ घुमघाम गर्ने उद्देश्यले उनले सबैलाई आफूकहाँ डाकेका थिए । यस्तैमा उनी सेवा निवृत्त भए । तैपनि, उनी सरकारी क्वार्टरमै बसिरहेका थिए ।

केही दिनपछि साना दुई छोरीहरूको परीक्षा आइरहेकाले उनीहरू गुवाहटी फर्कन्छन्, तर श्रीमती र जेठी छोरीचाहिँ डुबरीमै रोकिन्छन् ।

उपेन्द्रनाथले गुवाहटीस्थित आफ्नो घरमा भाडामा बस्नेलाई घर खाली गर्न सन्देश पठाउँछन् । आफू सेवा निवृत्त भइसकेकाले फेब्रुअरीमा कुनै पनि दिन त्यता आउनसक्ने सन्देश उनले पठाएका हुन्छन् ।

उनी श्रीमती र जेठी छोरीका साथ सरकारी क्वार्टरमा बसिरहेकै थिए । एक दिन उनले क्वार्टरको बगैंचा रेखदेख गर्ने माली र अर्दलीलाई बोलाए । उनको क्वार्टर परिसरमा बाथरुम छेउमै एउटा रुख थियो, जसका हाँगाहरू बाथरुमतर्फ फैलिएका थिए ।

उपेन्द्रनाथले अर्दली र मालीलाई बाथरुम छेउको रुख काटने मात्र होइन, जरासहित उखेलेर फाल्न आदेश दिन्छन् । रुख धेरै ठूलो थिएन, जरासहित त्यसलाई हटाउँदा त्यहाँ एउटा ठूलो खाल्डो बन्न पुग्छ । उनले त्यो खाल्डो अझ गहिरो गरी खन्न भन्छन् ।

‘यहाँ यत्रो खाल्डो किन मालिक ?,’ मालीको प्रश्न ।

‘म कुचबिहारबाट एउटा सुगन्धित फूलको वृक्ष ल्याएर रोप्न चाहन्छु, ताकि नयाँ आउने न्यायाधीश र अन्य अधिकारीले यसलाई सम्झिरहून्’, उपेन्द्रनाथ भन्छन् ।

न्यायाधीशकी श्रीमती पनि त्यही थिइन् । त्यो खाल्डो देखेर उनलाई अनौठो लाग्छ । यस्तैमा एकपटक न्यायाधीश अदालतमा भएकै बेला श्रीमतीले मालीलाई बोलाएर त्यो खाल्डो पुर्न लगाउँछिन् । साँझ क्वार्टरमा फर्कंदा खाल्डो पुरिएको देखेपछि न्यायाधीश निकै आक्रोशित हुन्छन् र मालीलाई बोलाएर पुनः माटो बाहिर निकालेर खाल्डो बनाउन लगाउँछन् ।

क्वार्टरको भान्साको ठीक बाहिर पनि एउटा रुख थियो । न्यायाधीशले त्यो रुख पनि पहिलाको रुखजस्तै जरासहित उखेलेर फाल्न र त्यहाँ गहिरो खाल्डो बनाउन लगाउँछन् । त्यो दोस्रो खाल्डोमा पनि कुचबिहारबाट ल्याइने फूलको रुख लगाउने कुरा उनी मालीलाई बताउँछन् । यसरी ‘जज साहब’को आवास परिसरमा दुई वटा गहिरा खाल्डा तयार हुन्छन् ।

उनी सेवा निवृत्त भएको एक साता बितिसकेको थियो । सन् १९७० फेब्रुअरी १० को साँझ उनले आफ्ना माली र अर्दलीलाई बोलाएर भन्छन्, ‘तिमीहरू पूजा हेर्न र बजारमा घुम्न जाऊ । कति काम मात्र गर्छौ ?’

अर्दली र माली क्वार्टरबाट बजार घुम्न निस्कन्छन् । न्यायाधीश उपेन्द्रनाथ पनि श्रीमती र जेठी छोरीलाई लिएर पूजामा सहभागी हुन र बजार घुम्न निस्कन्छन् । राती घर फर्कन्छन् ।

भोलिपल्ट बिहान ११ फेब्रुअरी । बिहानै उपेन्द्रनाथ घरबाट बाहिर कम्पाउन्डमा निस्कन्छन् । कामदारहरू पनि सेवामा हाजिर हुन्छन् । तर, उनीहरूले उपेन्द्रनाथकी श्रीमती र छोरीलाई देख्दैनन् ।

‘मालिक, मेम साहब र बडी बिटियालाई त देखिनँ नि, कहाँ जानुभयो ?,’ एक कामदार सोध्छन् ।

‘एकजना आफन्त बिरामी भएकाले हिजो राति फोन आयो, उनीहरू बिहानै गइसके,’ उपेन्द्रनाथ भन्छन् ।

मालिकले भनेको कुरामा शंका गर्ने कुरा आएन । उनीहरू पत्याउँछन् । तर एकाएक कामदारहरूको दृष्टि बाथरुम छेउको खाल्डोनेरको भागमा पर्छ । उनीहरू के देख्छन् भने केही दिन पहिले खनेको त्यो खाल्डो अब पुरिएको थियो । न त मालिकले भनेझैं त्यहाँ कुनै फूलको बिरुवा नै लगाइएको थियो । कामदारहरूलाइ अचम्म लाग्छ ।

कामदारहरू यो मामिलामा धेरै छिद्रान्वेशण गर्दैनन्, किनकि, उनीहरूको दिमागमा कुनै अनिष्टको कल्पनासमेत थिएन । यस्तैमा १४ फेब्रुअरीका दिन उपेन्द्रनाथ गुवाहटी फोन गर्छन् । उनका बाँकी दुई साना छोरीहरू गुवाहटीमा कुनै आफन्तकहाँ बस्थे । दार्जिलिङ घुम्न जाने योजना बनेकाले दुई छोरीलाई आफूकहाँ पठाउन फोनमार्फत उनी सन्देश दिन्छन् ।

२५ फेब्रुअरीका दिन दुवै छोरीहरू गुवाहटीबाट बसमा डुबरी पुग्छन् । न्यायाधीश स्वयं छोरीहरूलाई लिन बसपार्क पुग्छन् । साँझ क्वार्टरमा खाना खान्छन् । माली र अर्दलीहरू पनि साँझसम्म उनीहरूसँगै हुन्छन् ।

भोलिपल्ट २६ फेब्रुअरीको बिहान । उपेन्द्रनाथ उठ्छन्, कामदारहरू पनि सेवामा हाजिर हुन्छन् । तर कामदारहरूले अघिल्लो दिन मात्र गुवाहटीबाट आएका दुई छोरीहरूलाई देख्दैनन् । आखिर साँझ खानाखाने बेलासम्म देखेका दुइ छोरीहरू एकाएक कता गए ? कामदारहरूमा कौतुहल जाग्नु स्वाभाविकै थियो । यसबारेमा उनीहरूले जिज्ञासा राख्दा न्यायाधीश भन्छन्, ‘अचालक फोन आएकाले उनीहरू कोक्राधार भन्ने ठाउँमा गएका छन् । त्यही उनीहरूकी आमा र ठूली दिदी पनि पुग्दैछन् ।’

काम सकेर आफ्नो निवासतिर गइरहेका माली र अर्दलीले पुनः अर्को आश्चर्यलाग्दो दृश्य देख्छन् । भान्सापछाडी खनेको दोस्रो खाल्डो पनि पुरिएको थियो । त्यहाँ पनि फूलको कुनै विरुवा लगाइएको थिएन । अर्थात् १० फेुब्रअरीमा पहिलो खाल्डो पुरिन्छ र अर्को दिन न्यायाधीशकी श्रीमती र जेठी छोरी गायब हून्छन्, २५ फेबु्रअरीमा दोस्रो खाल्डो भरिन्छ र बाँकी दुई छोरीहरू पनि गायब हुन्छन् ।

परिदृष्य बडा रहष्यमय लाग्छ, कामदारहरूलाई । तैपनि, न्यायाधीशको परिवारको मामिलामा उनीहरू केही बोल्दैनन्, शंकालाई मनमै दबाउँछन् । सन् १९७०, अप्रिलको मध्यसम्म न्यायाधीश उपेन्द्रनाथ सरकारी क्वार्टरमा एक्लै बिताउँछन् । अप्रिल १५ मा सरकारी क्वार्टर छाडेर उनी डुबरीबाट अन्त कतै जान्छन् ।

यसबीचमा विभिन्न मानिसहरूले श्रीमती र छोरीहरूका बारेमा सोध्दा उनको जवाफ हुन्थ्यो, ‘उनीहरू सबै अहिले दिल्लीमा छन्, म पनि दिल्ली जाँदैछु । हामी सबै त्यही भेटदैछौं ।’

उपेन्द्रनाथको निवृत्तिपछि उनको ठाउँमा एन.के. चौधरी जिल्ला न्यायाधीशको पदवहाली गर्न डुबरी आइपुग्छन् । नयाँँ न्यायाधीश त्यही क्वार्टरमा परिवारका साथ बस्न थाल्छन्, जहाँ त्यसअघि उपेन्द्रनाथ बस्थे ।

सोही वर्ष मईमा सरकारी क्वार्टरका अर्दली जयप्रकाशले उपेन्द्रनाथलाई सिलिगुडीमा अकस्मात भेट्छन् । सिलिगुडीमा जयप्रकाशका नातेदारको घर थियो । भेटका क्रममा उपेन्द्रनाथ सिलिगुडीस्थित जयप्रकाशको आफन्तको निवासमा पनि पुग्छन् ।

‘म काम विशेषले यहाँ आएको हुँ, होटल शोभायमा बसेको छु, यो कुरा अरू कसैलाई नभन्नु है,’ उपेन्द्रनाथ अर्दलीलाई भन्छन् ।

केही दिन जयप्रकाशकै घरमा बसेर उपेन्द्रनाथ आफ्नो बाटो लाग्छन् ।

०००

यता उपेन्द्रनाथकी श्रीमती र तीन छोरीहरूको अत्तोपत्तो नभएपछि आफन्तहरूले खोजबिन गर्न थालिसकेका थिए । श्रीमती पुतली राजखोवाका भाइ ब्रादा शर्मा आसाम प्रहरीमा डिआइजी थिए । फेबु्रअरीयता चार महिनासम्म बहिनी र भान्जीहरूको कुनै फोन कल आइरहेको थिएन । उनीहरूसँग कुनै सम्पर्क नभएपछि ब्रादा शर्माको मनमा शंकाभाव उत्पन्न हुन्छ ।

आखिर उनीहरू कहाँ छन् ? डिआइजी आफ्नो च्यानलबाट सकेसम्म पत्ता लगाउने कोसिस गर्छन्, तर केही अत्तोपत्तो हुँदैन । हुँदाहुँदा न्यायाधीश पनि उनको सम्पर्कमा आउन छाडिसकेका थिए । अन्ततः उनी डुबरी पुग्छन् र न्यायाधीश बसेको क्वार्टरमै जान्छन्, नयाँ न्यायाधीशसँग पनि भेटछन् । पुराना कामदारसँग पनि भेटछन् । कतैबाट केही जानकारी मिल्दैन ।

यस्तैमा अदालतका अर्दली जयप्रकाशसँग डिआइजीको भेट हुन्छ, जुन अर्दलीले केही दिनअघि उपेन्द्रनाथलाई सिलिगुडीमा भेटेका थिए ।

डिआइजीले सोधपुछ गरेपछि अर्दलीले भनिदिन्छन्, ‘मैले जज साहबलाई सिलिगुडीमा भेटेको थिएँ, उहाँ त्यहाँको होटल शोभायमा बस्नुभएको छ । तर उहाँले मेरोबारेमा कसैलाई केही नभन्नु भन्नु भएको छ ।’

कुरा अनौठो थियो । आफू होटलमा बसेको कुरा उपेन्द्रनाथ किन लुकाउन चाहन्थे ? गुवाहटीमा आफ्नै घर छ । आसामका विभिन्न ठाउँमा आफन्तहरू छन् । जज साहब आखिर किन होटलमा बसिरहेका छन् ? यो प्रश्नले डिआइजीको मनमा शंका झन् घनिभूत हुँदै जान्छ ।

डिआइजी तत्काल सिलिगुडी जान्छन् । स्थानीय प्रहरीलाई लिएर उनी होटल शोभाय पुग्छन् । रजिस्टर हेरेपछि पत्तो लाग्छ, होटलको रुम नम्बर ३ मा धेरै दिनदेखि उपेन्द्रनाथ बसिरहेका रहेछन् । प्रहरीको टिम रुम नम्बर ३ मा पुग्छ । उपेन्द्रनाथ आफ्नो सालो डिआइजीलाई देखेर केही भयभीत हुन्छन् ।

‘मेरी बैनी र भान्जीहरू कहाँ छन् ?,’ डिआइजीले सोध्छन् ।

उपेन्द्रनाथ अनेक बहाना बनाउन थाल्छन् । कहिले उनीहरू दिल्लीमा त कहिले कोक्राधार त कहिले गुवाहटीमा भएको भनेर ढाँट्छन् । उनको कुरा पत्यारलाग्दो नभएपछि डिआइजीले कडिकडाउ गरेपछि बल्ल उनी भन्छन्, ‘म तपाईंहरूलाई केही भन्न चाहन्छु, तर बोलेर होइन, लेखेर ।’

कागज कलम ल्याइन्छ । उपेन्द्रनाथ आसामिया भाषामा कागजमा लेख्छन्, ‘१९७० फेब्रुअरी १० को राति मेरी श्रीमतीको गोडा अचानक चिप्लियो, उनी भुँइमा गिरिन् र टाउकोमा चोट लागेकाले उनको मृत्यु भयो । आमाको मृत्युको शोक सहन नसकेपछि जेठी छोरीले निन्द्राको गोली ओभरडोज खाइन् र उनको पनि मृत्यु भयो । भोलिपल्ट उनीहरूको लासलाई लगेर मैले ब्रह्मपुत्र नदीमा बगाइदिएँ ।’

‘बाँकी साना दुई छोरीहरू सोनाली र रूपालीचाहिँ कहाँ छन् ?’, डिआइजी सोध्छन् ।

उपेन्द्रनाथ जवाफमा भन्छन्, ‘सुरुमा आमा र जेठी दिदीको निधनको खबर मैले बाँकी दुई छोरीहरूलाई दिइनँ । तर कहिलेसम्म लुकाउन सक्थें र ? २५ फेब्रुअरीमा जब साना छोरीहरू आए, मैले उनीहरूलाई गाडीमा राखेर ब्रह्मपुत्र नदीको किनारमा लगेँ । मैले उनीहरूलाई जब आमा र जेठी दिदीको निधनको खबर सुनाएँ, स्तब्ध भएर उनीहरूले पनि ब्रह्मपुत्र नदीमा हामफालेर आत्महत्या गरे ।’

न्यायाधीश उपेन्द्रनाथको यो कथा सुनेपछि डिआइजीले उनलाई ठीक यस्तै बयान मेजिस्ट्रेटसमक्ष दिनुपर्ने आग्रह गरे । उपेन्द्रनाथले त्यसमा सहमति जनाए । अनि दुई मिनेटका लागि बाथरुम जान पाऊँ भन्दै बाथरुमतिर गए ।

केही समयपछि बाथरुमबाट चिच्याएको आवाज आउँछ । प्रहरीहरू बाथरुम तोडेर भित्र पस्दा उपेन्द्रनाथ चक्कुले आफ्नो पेटमा प्रहार गरिसकेका थिए र रक्ताम्य भइसकेका थिए । उनले आत्महत्याको कोसिस गरेका थिए ।

उनलाई तत्काल प्रहरी अस्पताल लगिन्छ । निकै कोसिसपछि उपेन्द्रनाथको ज्यान जोगिन्छ । प्रहरी अब गम्भीर ढंगले घटनाको छानबिन गर्न थाल्छ । अन्ततः सन् १९७० अगस्त ९ मा सोधपुछका क्रममा न्यायाधीश उपेन्द्रनाथले सत्यतथ्य कबुल्छन्, ‘हो, मैले नै आफ्नी श्रीमती र तीन छोरीहरूको हत्या गरेको हुँ । र, उनीहरू सबैको लास त्यही सरकारी क्वार्टरमै गाडिदिएको छु ।’

उपेन्द्रनाथको यो खुलासाले सनसनी मच्चाउँछ । न्यायाधीश उपेन्द्रनाथले हत्याको कारण बताउँदैनन्, बस् लास गाडेको ठाउँ मात्र बताउँछन् । अर्थात् क्वार्टरको बाथरुम र भान्सा छेउका तिनै दुई खाल्डामा उनले श्रीमती र छोरीहरूको लास गाडेका थिए ।

१० अगस्टमा जिल्ला न्यायाधीशबाट क्वार्टरमा सर्च गर्ने अनुमति प्राप्त हुन्छ । ११ अगस्टमा प्रहरीको टिम गएर बाथरुम र भान्साछेउको पुरिएको खाल्डो खन्न थालिन्छ । बाथरुम छेउको खाल्डोबाट दुई वटा कंकाल फेला पर्छ, जुन न्यायाधीशकी श्रीमती र जेठी छोरीको थियो । भान्सा छेउको खाल्डोबाट पनि दुई लास फेला पर्छ, जुन न्यायाधीशका दुई छोरीहरूको थियो ।

यस काममा एकजना अर्दलीले उपेन्द्रनाथलाई सहयोग गरेको खुलासा हुन्छ र ती अर्दली पनि पक्राउ पर्छन् । यो घटना अब मिडियादेखि जताततै चर्चामा आउँछ । वरिष्ठ सरकारी अधिकारीहरूको निवास भएको क्षेत्रमै त्यो पनि न्यायाधीशको निवासमा चार जनाको हत्या भएको घटनाले आसाममा मात्र होइन, सिंगो भारतमा सनसनी मच्चाउँछ ।

आश्चर्य त के भने, न्यायाधीश उपेन्द्रनाथ हत्या त कबुल गर्छन्, तर हत्याको कारण भने पटक्कै बताउँदैनन् । उनलाई डुबरीमै न्यायिक हिरासतमा राखिन्छ । न्यायाधीशमाथिको मुद्दा भएकाले यसका लागि विशेष न्यायाधीशको व्यवस्था मिलाइन्छ । प्रहरी पनि आफ्नो अनुसन्धान पूरा गरेर आरोपपत्र दाखिला गर्छ ।

सन् १९७२ नोभेम्बर १३ मा यो मुद्दामा सुनुवाइ हुँदै थियो । एउटा सेवा निवृत्त न्यायाधीश अदालतमा अभियुक्तको कठघरामा उभिँदै थिए । तर १२ नोभेम्बरको राति उपेन्द्रनाथले दोस्रो पटक आत्महत्याको कोसिस गर्छन् । आफूलाई घाइते बनाउँछन् । उनलाई पुनः अस्पताल लगिन्छ । यसका कारण अदालतको सुनुवाइ रोकिन्छ ।
यो मुद्दामा एउटा अड्चन के थियो भने यसको कुनै साक्षी थिएन । अनि सेवा निवृत्त हुनासाथ न्यायाधीशले किन तीन दशक सँगै बिताएकी पत्नी र १८ वर्ष उमेर नाघिसकेका तीन छोरीहरूको हत्या गरे ? आखिर त्यस्तो के कारण थियो, न्यायाधीशजस्तो मान्छेलाई हत्यारा बनाइदियो ? यो भने स्वयं न्यायाधीश उपेन्द्रनाथले पटक्कै बताएनन् ।

तैपनि, घटनाक्रम र अभियुक्तको बयानको यथार्थ पुष्टिका आधारमा मुद्दाको सुनुवाइ हुन्छ र सन् १९७३ जनवरी २७ मा अदालतले पूर्वन्यायाधीश उपेन्द्रनाथ राजखोवालाई मृत्युदण्डको फैसला सुनाउँछ ।

यो फैसलाविरुद्ध उपेन्द्रनाथ गुवाहटी उच्च न्यायालयमा अपील गर्छन् । एक वर्षसम्मको सुनुवाइपछि गुवाहटी उच्च न्यायालयले पनि तल्लो अदालतको फैसलालाई नै सदर गरिदिन्छ । उच्च न्यायालयमा हारेपछि उपेन्द्रनाथ सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछन्, तर सन् १९७५ मा सर्वोच्च अदालतले पनि उनको फाँसीको सजायलाई कायमै राखिदिन्छ ।

सबैतिरबाट हारेपछि उनी राष्ट्रपतिसमक्ष दयाको याचना गर्दै पुग्छन्, तर राष्ट्रपतिबाट पनि उनको याचिका खारेज हुन्छ ।

सन् १९७६ फेबु्रअरी १४ (भ्यालेन्टाइन डे) मा उनलाई फाँसी दिइन्छ ।

यसरी स्वतन्त्र भारतको न्याय सेवाको इतिहासमा उपेन्द्रनाथ राजखोवा नै यस्ता न्यायाधीश हुन्, जसलाई फाँसीमा झुण्ड्याइयो । तर, आजसम्म पनि उनले त्यो हत्या किन गरे भन्ने तथ्य रहष्यकै गर्भमा छ । उपेन्द्रनाथसँगै हत्याको कारण विलुप्त छ ।