NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

‘महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,’ विन्ड्सर क्यासल स्रोतले बताएको छ ।

पन्चान्नब्बे–वर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताएको स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, ‘‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘उनले हल्का चिसाको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ ।’

उनको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्य निर्देशनहरू पालन हुने विज्ञप्तिमा उल्लेख छ ।

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो ।

त्यतिबेला महारानी एलिजाबेथ आफैंले कोभिड परीक्षण गरेकी थिइन् वा थिइनन् भन्नेबारे कुनै जानकारी दिइएको थिएन । उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेटेकी थिइन् ।

उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो ।

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ । दरबारले उनलाई कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो ।