NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बर्खास्त हुँदै सशस्त्रका एक इन्स्पेक्टर

काठमाडौं । आचरणविपरीतको कार्य गरेपछि सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सरकारले बर्खास्तको तयारी गरेको छ ।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. प्रवीण प्रधानांग बिनाजानकारी जिम्मेवारी छाडेर सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले उनीमाथि कारबाहीको तयारी गरेको हो ।

प्रधानांगको कार्य तथा सीमा सुरक्षा विभागमा पोस्टिङ थियो । गृह मन्त्रालयका अनुसार, उनी गत पुस ९ गतेदेखि बिदा स्वीकृतबेगर अनुपस्थित छन् ।

सम्पर्क स्थापितका लागि पटक–पटकको प्रयास विफल भएपछि उनलाई सफाइ पेश गर्ने अन्तिम मौका दिएको र चित्त बुझ्दो जवाफ नआएमा सशस्त्रको नियमावलीअनुसार बर्खास्त गरिने गृह मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा बिदा स्वीकृत नगराइ लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा प्रक्रिया पुर्याएर बर्खास्त गर्न सकिने प्रावधान छ ।