NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदै

काठमाडाैं । चन्द्रागिरि नगरपालिका स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ । संघीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ ।

हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निः शुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसका अतिरिक्त बीमा कार्यक्रम कार्यान्वयनले नगरवासीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको छ ।

चन्द्रागिरि-२ मसिनेमा आयोजित ‘टेलिहेल्थ क्याम्प’को शुभारम्भ गर्दै नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको छ । विपन्न नागरिकको स्वास्थ्य सुधारमा यसले गुणात्मक फड्को मार्नेछ ।’

चन्द्रागिरि-४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू)  एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको उनले जानकारी दिए । उनले भने, ‘नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौँ ।’

नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुसँगका सहकार्यमा कोभिड-१९ को पिसिआर परीक्षणमा नगरवासीलाई सहयोग गरिराखेको छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।

नगरपालिकाको सहयोगमा टेलिउपचार टिम र पहिलो पाइला नेपालद्वारा आयोजित सो टेलिहेल्थ क्याम्पमा ६० भन्दा बढी बिरामीले टेलिउपचार एपमार्फत विशेषज्ञ चिकित्सक तथा २०० भन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा चिकित्सकसँग स्वास्थ्य सेवा लिएका थिए ।

स्वास्थ्य शिविरमा हाडजोर्नी तथा आन्तरिक रोग विशेषज्ञ डा दीपेन्द्र शाह, महिला रोग विशेषज्ञ डा आकृति भारती र जनरल फिजिसियन डा. लक्ष्मी पन्थीले बिरामीहरुलाई एपमार्फत निःशुल्क परामर्श उपलब्ध गराएको पहिलो पाइला नेपाल काठमाडौँ शाखाका अध्यक्ष विवेक अर्यालले जानकारी दिए ।

उनले भने, ‘स्वास्थ्य संस्थामा पहुँच नपुग्ने ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई विशेषज्ञ चिकित्सक सेवा प्रदान गर्न टेलिहेल्थ क्याम्प प्रभावकारी हुँदै आएको छ ।’

यसैगरी डा. आशिषकुमार झा, स्वास्थ्यकर्मी भरत महर्जन, सीता थापा, अमित चौधरीले प्रत्यक्ष सेवा प्रदान गरेका छन् । विशेषज्ञ चिकित्सक र बिरामीबीचको दूरी कम गराउन तथा ग्रामीण भेगमा नै विशेषज्ञ चिकित्सक सेवा विस्तार गर्न टेलिहेल्थ क्याम्प सञ्चालन गरिएको टेली उपचारका संयोजक सुरज गिरीले जानकारी दिए ।

उनले भने, ‘मोबाइल फोन, ट्याब्लेट तथा ल्यापटपको प्रयोग गरी घर तथा अफिसमा नै बसेर आफ्नो स्वास्थ्य समस्या अनुरुपका चिकित्सकसँग स्वास्थ्य परामर्श टेली उपचार एपमार्फत लिन सकिन्छ ।’ चन्द्रागिरि-२ मसिनेका ६६ वर्षीया सरस्वती तामाङ तथा ६८ वर्षीय माइला तामाङले पायक पर्ने स्थानमा स्वास्थ्य सेवामा लिन पाएकामा औधी खुसी व्यक्त गरे ।

यसरी प्रदान गरिन्छ टेलिउपचार सेवा

टेलिउपचार बिरामीहरुलाई विशेषज्ञ चिकित्सकसँग अनलाइनमार्फत स्वास्थ्य सेवा जाँच गराउने एक आधुनिक प्रविधिका रुपमा स्थापित मोबाइल एप हो । टेलिउपचारमार्फत घर तथा अफिसमा नै बसेर आफ्नो समस्याअनुरुप विशेषज्ञ चिकित्सकसँग मोबाइल, ल्यापटप तथा ट्याब्लेटको प्रयोगमा स्वास्थ्य जाँच गराउन सकिन्छ ।

यो एपको प्रयोग गरी बिरामीहरुले घरमा नै बसेर स्वास्थ्य समस्या चिकित्सकलाई भन्न सक्दछन् । बिरामीसँगको अनलाइन भिडियो परामर्शपश्चात लक्षणअनुसार चिकित्सकले औषधि तथा आवश्यक सल्लाह प्रदान गर्ने अध्यक्ष अर्यालले बताए ।

चिकित्सकको सल्लाहले बिरामीले आवश्यकताअनुसार ‘रिपोर्ट’ कार्डका रुपमा राख्न सक्दछन् । बिरामीको सुरक्षित स्वास्थ्य रेकर्ड तथा ‘डिजिटल प्रेसकिप्सन’ एपमा नै राख्न सकिने जनाइएको छ ।