NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

के भयो ओली र प्रचण्डबीचको छलफलमा ?

काठमाडौं । सत्ता गठबन्धनमा एमसिसीले बेमेल ल्याएपछि राजनीतिक दलबीच वार्ता श्रृंखला चलेका छन् । प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीसँग वार्ता गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बानेश्वर पुगेका हुन् ।

बैठकपछि संचारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै प्रचण्डले एमसिसी र अवरुद्ध संसद खुलाउने विषयमा कुराकानी भएको जानकारी दिए ।

‘हामीबीच एमसिसी र अवरुद्ध संसद खुलाउने विषयमा कुराकानी भयो’ प्रचण्डले भने, ‘तर कुनै सहमति भएन । आ–आफ्ना कुरामात्रै राख्यौं ।’
प्रचण्डभन्दा अघि ओलीसँग भेट गरेपछि कांग्रेस नेताहरूले सत्ता गठबन्धनको औचित्य सकिएको घोषणा गरेका थिए । यसैले माओवादीसँगको एमाले वार्ता फलदायी नभएको बुझिएको छ ।

प्रचण्डसँगको भेटपछि ओलीसँग फेरि प्रधानमन्त्री देउवाले भेट गर्दैछन् । संसदको अवरोध हटाएर एमसिसी गराउने गरी प्रधानमन्त्री र एमालेबीच सहमति बनिरहेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि संसद खुलाएर पर्याप्त छलफल गर्ने र एमसिसी पास गर्ने वातावरण बनिरहेको बताएका छन् ।
तर एमालेले सभामुखलाई हटाउनुपर्ने, माधव नेपाल पक्षका सांसदलाई कारवाही गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेका छन् ।
कांग्रेस एमालेको चासो पूरा गराएर भए पनि एमसिसी पास गर्ने धुनमा छ ।

दाेस्राेपटक ओलीसँग भेट्नु अघि देउवाले बालुवाटारमा डा. बाबुराम भट्टराईसँग पनि भेट गरेका छन्र ।

मुख्यगरी अहिले एमसिसीमा पास गर्नमा एमालेको सहयोग मिले पनि आगामी चुनावमा माओवादीले एमालेसँग गठबन्धन गर्न सक्ने डर कांग्रेसलाई छ । यसैले आगामी चुनावमा पनि माओवादीसँग गठबन्धन नगर्ने ग्यारेन्टी कांग्रेसले एमालेबाट खोजेको छ ।
माओवादीले पनि एमालेसँग चुनावी गठबन्धन चाहेको बुझिएको छ । चुनाव नजिक भएकाेले पनि गठबन्धन र अागामी समीकरण कस्ताे बनाउने भन्नेमा दलहरू लागेका छन् ।