NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

आजको संसद् बैठक पनि प्रभावित हुन सक्ने

काठमाडौं । एमसिसीलाई संसदमा कसरी अगाडि बढाउने भन्ने विषयमा दलहरूबीच श्रृंखलावद्ध छलफल भए पनि आज पनि संसद बैठक प्रभावित हुन सक्ने देखिएको छ ।

बिहीबार एकैदिन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी एमालेलाई विश्वासमा लिने प्रयासस्वरुप दुईपटक छलफल गरे पनि निकास ननिस्किएको दाबी नेताहरूले गरेका छन् । एमालेको माग अनुसार संसद्को अवरोध हटाउने गरी सहमति नहुँदै एमाले अध्यक्ष केपी ओली पोखरा लागेका छन् । संसद बैठक अघि नै प्रधानमन्त्री देउवाले ओलीसँग वार्ता गर्ने तय थियो । तर ओली पूर्व निर्धारित कार्यक्रम अनुसार पोखरा पुगेपछि शुक्रबार एक बजे बस्ने भनिएको बैठक पनि प्रभावित हुन सक्ने देखिएको हो ।

तर कांग्रेस नेता मीन विश्वकर्माले अहिलेसम्म संसद बैठक चल्ने जानकारी नै पाएको बताए । ‘केपी ओली काठमाडौं बाहिर भए पनि सहमतिको प्रयासका लागि बनेको कार्यदलले छलफल गरिरहेको छ’ विश्वकर्माले भने, ‘त्यसैले आजको संसद् बैठक हिजो जस्तै प्रभावित हुन्छ भन्ने लागेको छैन ।’

तर बिहीबार जस्तै शुक्रबार पनि संसद् बैठक अघि एमसिसीको विषयमा कसरी अघि बढ्ने भन्ने प्रष्टता नभएसम्म बैठक गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा छैनन् ।

एमसिसीको विषयलाई कांग्रेसले ध्वनीमतका आधारमा पास गर्ने अडान लिएको छ । तर माओवादीले मत विभाजनमा लानुपर्ने तर्क गर्दै आएको छ । पहिले नै प्रक्रियामा विवाद पनि हुने र एमसिसीको विषयमा सहमति पनि हुने आधार नदेखिए आजको बैठक पनि प्रभावित हुन सक्ने देखिएको हो ।

बिहीबार एमसिसीको विषयमा सैद्धान्तिक छलफल हुने भन्दै बोल्न चाहने सांसदलाई ५ मिनेट समय दिने समझदारी बनेको थियो । तर बैठक सुरु हुनुपर्ने बेलामा प्रधानमन्त्रीले सभामुखसँग आग्रह गरी बैठक स्थगित गराएका थिए । त्यसपछि एमसिसी पास गर्नमा सत्तारुढ दलमा कुरा नमिल्ने अवस्था देखेकोले एमालेसँग एकै दिन दुई चरणमा देउवाले वार्ता गरेका थिए ।

तर एमालेले सभामुखलाई हटाउनुपर्ने माधव नेपालका पार्टीका १४ सांसदलाई कारवाही गर्नुपर्ने विषयलाई मुख्य शर्त बनाएको छ । तर कांग्रेस र एमालेबीच ठोस सहमति भइसकेको छैन ।

यही बीचमा एमालेका माग सम्बोधन गर्न आफू पनि तयार रहेको जनाउ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् । यस्तोमा ओली सत्तारुढबाटै तानातानमा परेका छन् । तर कार्यान्वयन गराउन सक्ने भरपर्दो र बलियो पक्षसँग एमसिसीका विषयमा मिलेर जानेबारे ओली लचिलो भएका छन् ।

यता माओवादीले पनि सरकारमा बस्ने वा नबस्नेबारे आजै निर्णय लिने बताएको छ ।