NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सरकारको आग्रहमा दोस्रो दिन पनि यसरी स्थगित भयो संसद बैठक

काठमाडौं । एमसिसीको विषमया सत्ता गठबन्धन नै धरापमा परेपछि बिहीबार सुरु हुन लाग्दै स्थगित भएको संसद बैठक फेरि स्थगित गरिएको छ ।

शुक्रबार एक बजेलाई बोलाइएको संसद बैठक पनि सुरु हुनु केही समय अघि मात्रै स्थगित गरिएको हो । अघिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुखले बैठक स्थगित गराएका थिए ।

तर शुक्रबार कानुनमन्त्री दीलेन्द्रप्रसाद बडुको आग्रहमा बैठक स्थगित गरिएको छ । मुख्यगरी एमसिसीलाई संसदमा ध्वनीमतका आधारमा अघि बढाउने कि मत विभाजनमा लाने भन्नेमा कांग्रेस र माओवादीबीच कुरा मिलेको छैन ।

कांग्रेस ध्वनीमतका आधारमा पास गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनमा फाटो आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको सहयोग लिएर एमालेसँग चरणचरणमा वार्ता गरेका छन् । तर अझै टुंगोमा पुगिनसकेकोले फेरि पनि सरकारकै आग्रहमा संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

अहिलेसम्म प्राविधिक रुपमा देउवा सरकारलाई बहुमत छ । तर एमसिसीले सत्ता गठबन्धमा विभाजन ल्याएपछि संसदमा टेबल भएको यो विषयमा सत्तारुढ दल माओवादीले नै मत विभाजनको माग गर्ने तयारी गरेको थियो । यसै कारण पहिलो दिनको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सत्तापक्षसँग बहुमत भएकोले सहजै सैद्धान्तिक छलफलमै कुनै विषय अस्वीकृत नहुनुपर्ने हो । तर एमसिसीले सत्तारुढ दलमै फाटो ल्याएपछि माओवादीले यसै छलफलमा मत विभाजन माग्ने तयारी गरेको थियो । प्रतिनिधिसभा ध्वनी मतबाट कुनै पनि विषयमा निर्णय लिइए पनि १० प्रतिशत अर्थात् २८ जना सांसद भए पनि मत विभाजन माग्न सक्छन् । यस्तोमा एमसिसीमाथि सामान्य छलफलकै क्रममा माओवादी पृष्ठभूमिका सभामुख अग्नी सापकोटाले मत विभाजन दिने तयारी गरेका थिए । यस्तोमा एमसिसीमा अन्तिम भोटिङ नै नहुँदै सरकार अल्पमतमा पर्ने देखिएपछि सरकारले संसद बैठक नै स्थगित गराएको हो ।

अब एमसिसीमा प्रष्ट बहुमत नपुग्ने स्थिति नबन्दासम्म सरकारले संसद बैठक डाक्ने विषयमा वातावरण नबनाउने देखिएको छ ।