NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
एमसिसी विवाद

एमसिसीबारे प्रचण्ड–माधवको नयाँ प्रस्ताव, जोगिएला त गठबन्धन ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम–लोकतान्त्रिक गठबन्धनको विकल्पमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग सत्ता सहकार्य गर्ने प्रस्ताव राखेपछि गठबन्धनको भविष्य संकटमा परेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतामा गठबन्धन दलहरूबीच सहमति हुन नसके सत्ता समीकरण फेरबदल हुने सम्भावना बलियो हुँदै गएको छ । गठबन्धन टुटेसँगै पार्टीको भविष्य नै संकटमा पर्ने स्थिति देखा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान पूर्वस्थायी कमिटी बैठक बोलाएका थिए । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाबारे गम्भीर समीक्षा भएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

‘एमसिसीकै कारण गठबन्धन टुट्ने स्थिति बन्नु गम्भीर विषय हो । यसबारे बैठकमा गम्भीर समीक्षा भएको छ’, गजुरेलले भने, ‘सम्झौतामा पार्टीले लिएको सैद्धान्तिक पूर्व अडान कायमै राखी गठबन्धन जोगाउन प्रधानमन्त्रीसँग अन्तिम पटक छलफल गर्ने निर्णय भयो ।’

गजुरेलले गठबन्धन जोगाउने अन्तिम सुत्रबारे केही प्रतिक्रिया नदिएपनि एमसिसी संसद्बाट अनुमोदनका लागि नयाँ विकल्पको खोजी भइरहेको अर्का नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । उनका अनुसार गठबन्धन कायमै राखी प्रधानमन्त्रीसँग सहमति जुटाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

गठबन्धन टुटेसँगै पार्टीको भविष्य नै संकटमा पर्ने स्थिति देखा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान पूर्वस्थायी कमिटी बैठक बोलाएका थिए । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाबारे गम्भीर समीक्षा भएको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

विवादकाबीच सरकारले आइतबार सदनमा टेबुल गरेको एमसिसी सम्झौता सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि बिहीबार कार्यसूचीमा राखेका थिए । सम्झौता प्रतिनिधि सभाबाट पारित नहुने सूचना पाएपछि प्रधानमन्त्रीले देउवाले संसद् बैठक नै स्थगित गर्न लगाएका थिए । प्रचण्डको भूमिकाप्रति सशंकित देउवाले प्रतिपक्षी एमालेसँग सहकार्यको प्रस्ताव राखेका थिए ।

माओवादीका एक पूर्वस्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्री देउवासँग थप छलफल गरी गठबन्धन कायमै राख्ने विकल्प खोजी भइरहेको बताए । ‘सम्भवत् आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी निर्णायर्थ टेबुल हुन सक्छ’, उनले भने, ‘एमसिसी सम्झौतामा हाम्रो अडान यथावत राखी संसद्बाट बाहिरिन सक्छौं । यसबारे एकीकृत समाजवादी र जसपाका नेताहरूसँग पनि छलफल भइरहेको छ ।’

उनका अनुसार प्रधानमन्त्री यो विकल्पमा सहमति भए गठबन्धन पनि जोगिने एमसिसी पनि पास हुनेछ । यस विकल्पमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सकारात्मक रहेको उनले जिकिर गरे । प्रचण्डकै सल्लाहमा नेपालले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग भेट गरी नयाँ प्रस्ताव राखेका छन् । पछिल्लो प्रस्तावबारे प्रधानमन्त्रीको प्रतिक्रियाबारे दुवै पक्षका सचिवालयले केही बोलेको छैन । प्रचण्ड–माधवको प्रस्तावमाथि प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा रहेका छन् ।

यस विषयमा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले सत्ता गठबन्धन कायमै राख्ने विषयमा विभिन्न विकल्पबारे छलफल भइरहेको बताए ।

‘एमसिसीबारे हाम्रो पूर्ववत अडान कायमै छ । गठबन्धन अहिल्यै टुटिसक्यो भन्न मिल्दैन । गठबन्धन जोगाउन विभिन्न विकल्पबारे छलफल भइरहेको छ’, उनले भने, ‘राजनीति भनेको विभिन्न सम्भावनाको खेल हो । संविधान, लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान गठबन्धन बनेकाले एमसिसीकै कारण टुट्न हुँदैन भन्ने सबैले मनन् गरेका छन् ।’

यी दुई पार्टीको मध्यमार्गी उपायले काम गरे आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सैद्धान्तिक छलफलका लागि एमसिसी सदनमा निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

त्यसबेला माओवादी र एकीकृत समाजवादीका सांसदहरूले एमसिसीको विपक्षमा अभिव्यक्ति दिँदै संसद्बाट बाहिरिने छन् । सांसदहरूले उठाएको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएपछि सभामुखले एमसिसीलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।माओवादी र एकीकृत समाजवादीका सांसदहरू बाहिरिएको खण्डमा उपस्थित कुल संख्याको ध्वनी मतका आधारमा सभामुखले मत विभाजन नगरी निर्णय लिनेछन् ।

संसद् सुरू हुनासाथ एमालेका सांसद बेल घेराउमा उत्रिने भएकाले उनीहरूको मत गणना नहुने विश्वास लिइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष