NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पूरक प्रस्ताव ल्याएर एमसिसी पास गर्न प्रचण्ड–माधव तयार

निर्णय लिन माओवादी बैठक जारी, समाजवादीको पनि बैठक बस्दै

काठमाडौं । गठबन्धन कायमै राखी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) सम्झौतमा सहमति निकाल्न गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टी अन्तिम कसरतमा जुटेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्नका लागि गठबन्धन दलहरू तयार नभए विपक्षी एमालेसँग सहकार्य गर्ने तयारी गरेपछि यी दल आन्तरिक तयारीमा जुटेका हुन् ।

यसबारे निर्णय गर्न अहिले प्रचण्डनिवास खुमलटारमा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । एकीकृत समाजवादी पार्टीले पनि बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक राखेर छलफल गर्दैछ ।

त्यसो त, प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं एमसिसी अनुमोदनका लागि एमालेका शीर्ष नेताहरूसँग निरन्तर संवादमा छन् । यो क्रममा देउवाले एमाले अध्यक्ष केपी ओलीसँग ४ पटक भेटवार्ता गरिसकेका छन् । दुई पक्षबीचको भेटवार्ता निष्कर्षमा नपुगे पनि संवाद जारी राख्ने सहमति भएको नेताहरूले बताएका छन् ।

यता, प्रचण्ड–माधव पनि गठबन्धन जोगाइराख्न व्याख्यात्मक विश्लेषणसहित एमसिसी अनुमोदन गर्न सकारात्मक देखिएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका दोस्रो पुस्ताले एमसिसी आइपिएसको अंग नभएको र नेपालको कानूनभन्दा माथि नभएको व्याख्यासहित संसदमा पूरक प्रस्ताव दर्ता गर्न सकिनेबारे प्रचण्ड र माधव नेपाल सकारात्मक देखिएका छन् ।

पूरक प्रस्ताव सम्बन्धमा पार्टीभित्र सहमति जुटाउन आज दुवै पार्टीको बैठक बस्न लागेको हो ।