NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

युक्रेनमा रुसी आक्रमणको प्रभाव : झण्डै ४ लाखले देश छाडे, ४० लाख विस्थापित हुने अनुमान

काठमाडौं । रूसले बिहीबार आक्रमण गरेयता दशौं हजार युक्रेनी देश छोडेर भागेका छन् । रुसी आक्रमण जारी रहे यो संख्या बढेर ४० लाखसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् । यदि स्थिति थप खराब बनेको खण्डमा यूएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीलाई व्यवस्थापन गर्ने योजना बनाएको छ ।

पोल्याण्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा युक्रेनी नागरिकहरूले शरण लिएका प्रारम्भिक सूचना छ ।

पोल्याण्ड

पोल्याण्डका सीमा रक्षकहरूको भनाइअनुसार करिब एक लाख ५६ हजार युक्रेनी पोल्याण्डको सीमा पार गरेर भागेका छन् । शुक्रबार मात्रै ५० हजार युक्रेनी पोल्याण्ड पुगेका थिए ।

पोल्याण्डका अधिकारीले ९० प्रतिशत शरणार्थीहरूलाई साथीभाइ वा सम्बन्धले स्थापना गरिरहेको भएता पनि सीमा नजिकै नौवटा स्वागत केन्द्रहरू स्थापना गरिएको बताएका छन् ।

रूसको आक्रमण अघि पोल्याण्डमा १५ लाख युक्रेनीमुलका नागरिकले बसोबास गर्दै आएका छन् ।

देशभरिका मानिसहरू नयाँ व्यक्तिहरूलाई आवास, पैसा, लुगाफाटा र काम दिन जुटिरहेका बताइएको छ ।

रोमानिया

बिहीबारदेखि रोमानिया पुगेका ४७ हजार युक्रेनीमध्ये २२ हजार अन्य मुलुकमा गइसकेको सरकारले बताएको छ ।

अधिकांश मानिसहरू देशको उत्तरमा सिरेट हुँदै यात्रा गरिरहेका छन्, जहाँ मार्माटाई नजिकै दोस्रो शिविर स्थापना गरिएको छ । रोमानियालीहरूले पनि शरणार्थीहरूलाई खाना र लुगाफाटा अनुदान दिन सामाजिक सञ्जालहरूमार्फत् सबैलाई आग्रह गरेका छन् ।

हङ्गेरी

यस आक्रमणपश्चात् लगभग ७१ हजार यूक्रेनी शरणार्थी हङ्गेरी पुगेका यहाँको आन्तरिकमामिला मन्त्रालयले जानकारी गराएको छ ।

जाहोनीजस्ता धेरै सीमावर्ती शहरहरूले स्वागत केन्द्रको रूपमा सार्वजनिक भवनहरू स्थापना गरेका छन् । साधारण मानिसहरूले खाना र लुगा अनुदान दिएका छन् ।

मोल्दोभा

शनिबारको अन्ततिर कम्तीमा पनि २५,००० युक्रेनी नागरिक मोल्दोभा पार गरेका थिए । संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीको मध्य युरोप प्रमुख रोलान्ड शिलिङले ‘हृदयविदारक स्थिति’प्रति यसको प्रतिक्रियाका लागि सानो राष्ट्र माल्दोभाको प्रशंसा गरेका छन् । उनले स्थानीय जनताका साथसाथै मोल्दोभियाली सरकारले कठीन परिस्थितिमा व्यवहार गर्ने तरिकामा ‘साँच्चै प्रभावकारिता’ देखिएको बताए ।