NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

दृष्टिविहीन अमिटद्वारा पुनः सगरमाथा आरोहणको तयारी

बागलुङ । न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किएका उनले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थालेका हुन् ।

आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिए । जैमिनी नगरपालिका–४, सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रहसमेत गरेका छन् । ‘अघिल्लो पटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ घण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन,’ उनले भने, ‘यस पटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।’

उनले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताए ।

केसीले लायन्स क्लब इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अक्सिजन समाप्त भएर फर्किएको सुनाए । ‘मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिबेला पनि पुनः आउने भनेको थिएँ । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दैछु,’ उनले भने ।

सन् २०२१ मा उद्योग वाणिज्य सङ्घको झण्डा बोकेर आठ हजार मिटरमाथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनुपरेको गुनासो गरे । मानसिक रूपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावको कारणले यो अभियान सङ्कटमा परेको उनले सुनाए । उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरे ।