निषेधाज्ञापछि वीरेन्द्रनगर सुनसान
कर्णाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्यू (निषेधाज्ञा) का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कर्फ्यू आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् ।
प्रशासनले कर्फ्यू तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ । सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कर्फयू लगाउने निर्णय गरेको थियो । समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कर्फ्यू जारी गरेको हो ।
कर्फयू जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) का कार्यालय तोडफोडका साथै मङ्गलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया