NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

करिब १० लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ ।

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन ।

मङ्गलबार बेलुकी सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज आज बिहान ५ः१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले जानकारी दिए ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मङ्गलबारदेखि सुरु भएको भक्तजनको भीड आज बिहानसम्म पनि कायम रहेको थियो । आज बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जनाएको छ ।

राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो ।

यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए ।

बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करिब १० लाख भक्तजनले दर्शन गरेको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाएका थिए । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उनले बताए ।