NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पल प्रकरणमा दुर्गेश– पीडितको पक्षमा बोलेको हुँ, कानूनलाई सघाउँछु

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँमा रहेका पल शाह प्रकरणबारे मोडल दुर्गेश थापाले पुनः आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

पल प्रकरणमा मुछिएका दुर्गेशले आफ्नो आलोचना चुलिएपछि फेसबुकमा लामो स्ट्याटस लेख्दै पीडितको न्यायको पक्षमा आफू उभिएको जनाएका छन् । उनले आफूमाथि लागेका विभिन्न आरोपको समेत खण्डन गरेका छन् ।

उनले आफू न्यायको पक्षमा रहेको र सदैव कानून कार्यान्वयनमा सघाउन तत्पर रहेको बताएका छन् ।

दुर्गेशले मंगलबार बिहान लेखेको फेसबुक स्ट्याटस

नाबालिग बालिकालाई ललाईफकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पूरा गर्ने काम गरिएको रहेछ। स्वार्थ पूरा भएपछि बेवास्ता गर्न थालियो। निकटको सम्बन्ध विकट बन्यो। बालिका एकोहोरो भइन्। नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन्। मायाप्रेमको खोल ओढेर आफूमाथि शोषण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन्। दिनदिनै उनको मानसिक अवस्था कमजोर हुँदै गयो।

बालिकाले धेरैपटक मुद्दा हाल्न कोसिस गरिन् अरे, हामीसँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए ।  मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केस रोक्न लगाइन्थ्यो रे। फेसबुकमा एउटा कुरा बालिकाले पीडामा लेखेर हालिन् भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नुभएकै छ।

१/२ महिना मिलेजस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुँदै हिँड्नपर्ने अवस्था भएछ । पीडाले थिचिएकी बालिकाले म्यानेजरसँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे। पछि बालिकालाई विभिन्न बहानामा गाली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बेइज्जत गर्दिनेजस्ता कुराहरू गर्ने र बालिकालाई गाली बेइज्जत गरेर हयारेसमेन्ट गर्नेजस्ता कार्यहरू भएछन्।

सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन्। सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कैयौँ गुणा गाह्रो छ, टुटेको सम्बन्ध र समस्याबारे कुरा गर्न। कलिलो दिमागलाई सायद बिग्रँदो सम्बन्धले झनझन् कमजोर बनायो। त्यसैले उनी लगभग डिप्रेसनमा पुगिन्।

उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकारभित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर मलगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पिडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्। सायद अभिभावक सोचेर होला। किनकि म पल शाह जसले पीडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ।

तर, पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन्। नाबालिकाको पीडा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो। यही क्रममा मैले बालिकाले आफ्नै ज्यान फाल्नेजस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ। जसले हामीबीचको राम्रो सम्बन्धमा झनझन् दरार आउन थाल्यो।

मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ। हामीले गरेको छलफलमा बालिकाले आफ्नो पीडा पनि सुनाएकी थिइन्। त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौँ, जुन कुरा सार्वजनिक भएको अडिओबाट हटाई सुनियोजित बनाएका रहेछन्  अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ।सार्वजनिक अडिओ (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन ।

अडिओमा पललाई झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ, त्यो मेरो आवाज नभई स्वयम् पलका म्यानेजर कृष्ण जोशीको हो। त्यसपछि यो विषयमा म कहीँ कतै संलग्न नरहेको सबैमा जानकारीका लागि अनुरोध छ । भेटघाट कुनै षडयन्त्र गर्न होइन, उनीहरूबीच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो । जुन अडिओ सार्वजनिक भयो, त्यो करिब करिब ७ महिना पहिलेको हो।

पीडित नाबालिकाको आरोप गम्भीर रहेकाले त्यो बारे पलसँग बुझ्न खोज्दा हामीलाई नै उनले दुश्मनन ठाने। पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिकामाथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ। उनलाई न्यायका लागि लड्न आँट र भरोसा दियौँ। यसलाई उनले आफूविरुद्धको जालझेल सम्झे ।

प्रहरीमा पलविरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडिओलाई सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो। जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्तासाफ गर्ने आशय राखियो। आफूविरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो। जबकि केही महिनाअगाडि पलले आफ्नो म्यानेजरलाई हटाएका थिए । सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन: म्यानेजर बनाएर काममा राखियो । तपाईंहरू आफै बुद्धिजीवी हुनुहुन्छ, आफैँ बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर!

ज्यानसमेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो। यस्ता विभिन्न हतकण्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो।

हामी न्यायको पक्षमा छौँ। जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौँ । हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनुपर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौँ । तपाईंहरूले दिएको ताली र गाली सबै स्वीकार्य छ ।