NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

फेरि फुटको संघारमा प्रचण्डको माओवादी, यी हुन् १५ वर्षमा विभाजनका प्रमुख ३ श्रृंखला

काठमाडौं । व्याख्यात्मक टिप्पणीसहित आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदन भएपछि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)भित्र अन्तरविरोध चर्किएको छ ।

एमसिसी सम्झौता प्रकरणमा पार्टी नीतिविपरीत नेता नारायणकाजी श्रेष्ठले सार्र्वजनिक अभिव्यक्ति दिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता श्रेष्ठलाई पार्टीबाट अलग हुन सुझाव दिएका थिए ।

प्रचण्ड निवास खुमलटारमा सोमबार आयाेजित पत्रकार सम्मेलनमा श्रेष्ठको अभिव्यक्तिप्रति आक्रोश पोखे । उनले पार्टी विभाजन गरे श्रेष्ठको हालत वामदेव गौतमको जस्तै हुने टिप्पणी गरेका थिए ।

शान्ति प्रक्रियामा आएपछि पटक–पटक विभाजनको मार खेपेको माओवादी केन्द्रले प्रचण्डको पछिल्लो अभिव्यक्तिले पार्टी पुनः विभाजन हुने हो कि भन्नेमा नेता–कार्यकर्तामा चिन्ता देखिएको छ ।

०६३ असार ०२ मा सशस्त्र युद्ध त्यागी प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक हुँदा नेकपा एकता केन्द्रका महामन्त्री रहेका श्रेष्ठ अर्धभूमिगत नै थिए । ०६५ पुसको अन्तिम साता नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र)बीच एकता भएको थियो । एकता पश्चात् एकीकृत नेकपा (माओवादी) राखिएको थियो ।

शान्ति प्रक्रियामा आएपछि पटक–पटक विभाजनको मार खेपेको माओवादी केन्द्रले प्रचण्डको पछिल्लो अभिव्यक्तिले पार्टी पुनः विभाजन हुने हो कि भन्नेमा नेता–कार्यकर्तामा चिन्ता देखिएको छ ।

करिब १३ वर्ष सहकार्य र संघर्ष गर्दै आएका प्रचण्ड र श्रेष्ठ अब भने सँगै जान नसकिने अवस्थामा पुगेका छन् । प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट रहेका श्रेष्ठ पार्टीबाट अलग हुने वा अन्तरविरोध चर्काउँदै दुई लाइन संघर्ष गर्नेबारे आफूनिकट नेताहरूसँग छलफल र परामर्श गरिरहेका छन् ।

एउटै पार्टीमा रहेर पनि अध्यक्ष प्रचण्डले आफ्नो समूहलाई सौतेनी व्यवहार देखाएको श्रेष्ठले आफूनिकट नेताहरूसँग गुनासो गर्दै आएका छन् । प्रचण्डसँग अब सँगै बस्न नसकिने भन्दै पार्टीबाट अलग हुन उनीनिकट नेताहरूले श्रेष्ठमाथि दबाव बढाएका छन् । तर उनीनिकट एक नेताका अनुसार पार्टीभित्र एमसिसीको विपक्षमा रहेका नेताहरू धेरै रहेकाले उनीहरूको समेत सहयोग लिइ प्रचण्डमाथि दबाव बढाउने रणनीतिमा छन् ।

‘पार्टीको आठौं महाधिवेशनको ‘म्याण्डेट’ र केन्द्रीय कमिटीको बैठकको निर्णयविपरीत प्रचण्डको एकल निर्णयबाट एमसिसी संसद्बाट अनुमोदन गरियो । उक्त निर्णयको विपक्षमा पार्टीभित्र धेरै आक्रोश बढेको छ’, उनले भने, ‘एमसिसीको विपक्षमा उभिने सबैसँग छलफल र सल्लाह गर्छौं । त्यसपछि के गर्ने भन्ने विषयमा हामी निष्कर्षमा पुग्ने छौं ।’

श्रेष्ठनिकट नेताको यस भनाइबाट पार्टीभित्र एमसिसी विरोधी नेताहरूको नेतृत्व श्रेष्ठले लिन खोजेको प्रष्ट देखिन्छ । पार्टीभित्र अन्तरसंघर्ष चलाउँदै प्रचण्डलाई दबावमा राख्ने त्यसो हुन नसके अलग हुने रणनीति तयारीमा श्रेष्ठको तयारी छ । यसअघि तीनपटक विभाजनको क्षति व्यहोरको माओवादी केन्द्रबाट श्रेष्ठ समूह अलग भए चुनवाको मुखमा प्रचण्डलाई ठूलो धक्का लाग्नेछ ।

पार्टीको कार्यदिशा विद्रोह वा शान्तिपूर्ण के हुने विषयमा अध्यक्ष प्रचण्ड र मोहन बैद्यबीच दुई लाइन संघर्ष व्यवस्थापन हुन नसक्दा ०६९ असारमा माओवादी विभाजन भएको थियो ।

यस्तो छ १५ वर्षमा माओवादी विभाजनको श्रृंखला :

बैद्य समूह अलग

तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौत भएप्रश्चात् ०६२÷६३ मा सशस्त्र युद्ध परित्याग गरी प्रचण्ड शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका थिए । ०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १२० सहित २२० सिट जितेर सबैभन्दा ठूलो दल भएको थियो ।

पार्टीको कार्यदिशा विद्रोह वा शान्तिपूर्ण के हुने विषयमा अध्यक्ष प्रचण्ड र मोहन बैद्यबीच दुई लाइन संघर्ष व्यवस्थापन हुन नसक्दा ०६९ असारमा माओवादी विभाजन भएको थियो । विभाजनबाट शिथिल रहेको माओवादी केन्द्र ०७० को दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ सिटसहित जम्मा १०६ सिटमा खुम्चिएको थियो ।

बाबुराम समूह अलग

दोस्रो संविधान सभाबाट ०७२ असोज ३ मा नेपालको संविधान जारी भएपछि प्रचण्डसँग असन्तुष्ट रहेका डा. बाबुराम भट्टराई समूह अलग भएको थियो । संविधान जारी भएलगत्तै असोज ९ मा भट्टराईले एकीकृत माओवादी परित्याग गरेको घोषणा गरेका उनले नयाँ शक्ति पार्टी खोलेका थिए ।

भट्टराईको राजीनामासँगै माओवादी जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका वैद्य, बाबुराम, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, सिपी गजुरेल लगायतका मुख्य नेताहरूको साथ गुमाएका थिए । एकपछि अर्को सारथिहरू छोड्दै गएका प्रचण्ड राष्ट्रिय राजनीतिमा निकै कमजोर बन्दै गए ।

बादल समूह अलग

०७४ को चुनावअघि वैद्य समूहमा विद्रोह गरी बादल, देव गुरुङ, पम्फा भुसाल, कुलबहादुर केसीलगायत महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा फर्किका थिए । त्यस्तै नेकपा संयुक्तबाट गणेश साहलगायत नेताहरू एकता प्रक्रियामा आएका थिए । एकताबाट निकै उत्साहित भएका प्रचण्डले एमालेसँग पार्टी एकता गरी नेकपा गठन गरेका थिए ।

नेपालको ७२ वर्षे कम्युनिष्ट इतिहासमा जनादेशबाट नेकपा सबैभन्दा शक्तिशाली कम्युनिस्ट पार्टी भएको थियो । तर, ०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि साविक पार्टीमा फर्किएका थिए । अलग–अलग पार्टी घोषणा भएपनि बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायत नेताहरू माओवादी केन्द्र फर्किएनन् ।

नेकपा विघटनबाट निकै विचलित देखिएका प्रचण्ड बादल समूह नै एमालेमा सम्माहित भएपछि निकै निराश देखिएका थिए । संशोधन नभइ यथास्थितिमा पार्टीले कुनै हालतमा एमसिसीको पक्षमा नउभिने अडान लिएका प्रचण्ड अन्ततः आफ्नै अडानमा टिक्न नसकेपछि पार्टीभित्र र बाहिर प्रचण्डको निकै आलोचना भइरहेको छ । यसैलाई हतियार बनाएर श्रेष्ठ समूहले एमसिसीको विपक्षमा रहेका नेताहरूको साथ लिएर प्रचण्डमाथि बदला लिने तयारीमा रहेका छन् ।

पार्टीभित्रको यही अन्तरविरोधमा खेलेर राष्ट्रिय राजनीतिमा प्रचण्डलाई थप कमजोर बनाउने रणनीतिमा विप्लवलगायत नेताहरू अहिले सक्रिय रहेका छन् । पार्टीभित्रको विद्रोहलाई व्यवस्थापन गर्न नसके प्रचण्डका लागि आगामी राजनीतिमा गम्भीर क्षति व्यहोर्नुपर्ने देखिएको विश्लेषण गरिएको छ ।