NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

एमसिसीविरोधी नेतासँग विप्लवको उठबस : राज्यमाथि दबाव बढाउने रणनीति

काठमाडौं । बुधबारदेखि निरन्तर राजनीति भेटघाटमा सक्रिय रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज पनि भेटघाट जारी राखेका छन् ।

बिहीबार बिहान नेकपा एमालेका नेता भीम रावलसँग भेटेका विप्लवले दिउँसो माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग भेट गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसिसी फागुन १५ मा बसेको प्रतिनिधि सभाले पारित गरेपछि असन्तुष्ट रहेका विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटलाई सक्रिय बनाएका छन् ।

राष्ट्रियता निकै कमजोर रहेको अवस्थामा एमसिसीको विपक्षमा उभिएका नेताहरूसँग भेटवार्ता गर्नु स्वभाविक रहेको विप्लव समूहका नेता अनिल शर्मा विरहीले प्रतिक्रिया दिए ।

‘प्रचण्ड–माधवका कारण राष्ट्रघाती एमसिसी संसद्बाट पास भयो । यतिबेला इतिहासमै मुलुकको स्वाधिनता र राष्ट्रियता निकै कमजोर अवस्थामा छ’, विरहीले भने, ‘हामी एमसिसीको विपक्षमा उभिएका सबैसँग सहकार्य गर्न चाहन्छौं । त्यही शिलशिलामा महासचिवज्यूले राजनीति भेटघाट गर्नुभएको हो ।’

बिहीबार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेमकिपाका अध्यक्ष नारायणमान विजुच्छेसँग र राजमोका अध्यक्ष चित्रबहादुर केसीसँग भेट गरेका थिए ।

विप्लवनिकट एक नेताका अनुसार एमसिसीको विपक्षमा रहेका नेताहरूसँग भेट गरेपनि पक्षमा रहेका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग भेट नगर्ने पार्टीको नीति लिएको छ ।

एमसिसीविरोधी नेताहरूसँग विप्लवको नियमित भेटघाटलाई विप्लवले गुमेको शक्ति सञ्चय गर्ने र राज्यमाथि दबाव बढाउने रणनीतिको रूपमा हेरिएको छ ।