चाँगुनारायणदेखि थानकोटसम्मको यातायात सुरु
भक्तपुर । चाँगुनारायण नगरपालिका-४ दुवाकोटस्थित नेपाल इञ्जिनीयरिङ कलेज अगाडिबाट चन्द्रागिरी नगरपालिकाको थानकोटसम्म आजदेखि यातायात सेवा सुरु भएको छ ।
सार्वजनिक यातायातका साधनको सहज पहुँच नपुगेको यस क्षेत्रमा भक्तपुरबाट काठमाडौँं हुँदै थानकोटसम्म ऋषिसिद्धि यातायातका २२ वटा सार्वजनिक बस सञ्चालनमा आएका हुन् । यातायात सेवाको नगर प्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्दै डिजिटल चाँगुनारायणलाई व्यवस्थित बनाउन नगरपालिकाले यो रुटमा सञ्चालन भएका यात्रुबाहक बसमा जिपिएस प्रणाली जडान गरी एप्समार्फत नियमन तथा अनुगमन समेत गरिने बताए ।
नगरपालिकाको यस क्षेत्रमा सार्वजनिक यातायातको सहज पहुँच नपुगिरहेको अवस्थामा आजबाट एकैसाथ सञ्चालनमा आउने २२ वटा बसले यहाँका बासिन्दालाई अब यातायातमा चौतर्फी पहुँच पुगेको बताए । चाँगुनारायणबाट भक्तपुरहुँदै रत्नपार्क जाने बससेवा सञ्चालन भइरहेपछि मूलपानी, पेप्सीकोलाहुँदै काठमाडौँसम्म जाने यातायात सेवा नहुँदा समस्या परेकामा अब यो समस्या पनि हटेको उनको भनाइ थियो ।
चाँगुनारायणबाट भक्तपुरहुँदै काठमाडौं जाने र चाँगुनारायणबाटै पेप्सीकोलाहुँदै थानकोटसम्म जान यहाँका बासिन्दालाई अब निकै सजिलो भएको भन्दै उनले थानकोटसम्म जाने एउटै रुटको बस यहाँबाट सञ्चालन हुनु निकै उपलब्धि भएको बताए ।
चाँगुनारायणबाट काठमाडौँको मूलपानी चौर, पेप्सीकोटा, जडीबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, कुलेश्वर, कलंकी हुँदै थानकोटसम्म जाने र सोही रुटबाट फर्कने चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी सिद्धान्न न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका तर्फबाट चाँगुनारायण-४ का वडाध्यक्ष अध्यक्ष बुद्धिलाल महर्जन र ऋद्धिसिद्धि यातायातका अध्यक्ष लवकुमार केसीले सहमति पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया