NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

धनुषा कांग्रेस सभापतिको निर्वाचन रोचक मोडमा, दोस्रो चरणमा शेखर पक्षका प्रसैला निर्णायक

काठमाडौं । सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधि र डा. शेखर कोइराला समूह धनुषा जिल्लाकाे नेतृत्वमा उत्रेपछि भिडन्त रोचक मोडमा पुगेको छ । पहिलो चरणमा तीनै पक्षका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि अब दोस्रो चरणकाे निर्वाचन हुने भएको छ ।

पहिलो चरणमा भने निधि पक्षका सभापतिका उम्मेदवारले सबैभन्दा बढी भोट ल्याए । निधि पक्षका योगेन्द्र पजियारले १२४८ मत ल्याउँदा संस्थापन देउवा पक्षका सन्तोषकुमार यादवले ८८३ मत ल्याए । शेखर पक्षका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याए ।

अब दोस्रो चरणमा पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने पजियार र यादवबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणमा तेस्रो बढी मत ल्याएका प्रसैला निर्णायक देखिएका छन् । प्रसैला पक्षले जुन टिमलाई सघाउँछ उसैले जित्न सक्ने देखिएको छ । तर निधिका उम्मेदारले तीन सय भाेट थप्न सक्दा जित्ने देखिएकाे छ ।

१४ औं महाधिवेशनमा पहिले चरणमा नेता निधिले पनि सभापतिमा उम्मेदवारी दिएका थिए । तर दोस्रो चरणमा शेखर कोइरालालाई समर्थन नगरी देउवालाई नै समर्थन गरेका थिए । यता जिल्लाको हकमा भने निधिले देउवाका उम्मेदवारसँग प्रतिस्पर्धा गरे । धनुषा निधिको प्रभाव रहेको गृह जिल्लासमेत हो ।

पहिलो चरणमा ३०५० मतदातामा रहेकोमा २९१२ मत मात्रै खसेको थियो । १५१ मत बदर भयो । अब बिहीबार दोस्रो चरणको निर्वाचन हुन्छ ।