NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अमेरिका र बेलायतले लगाए रुसमाथि इन्धन प्रतिबन्ध

एजेन्सी । अमेरिकाले रुसबाट आयात हुने पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार रुसबाट अमेरिका  आयात हुने इन्धनमा पूर्णरुपमा रोक लगाउने घोषणा गरेका हुन् ।  अमेरिकासँगै बेलायतले पनि सन् २०२२ को अन्तिमसम्म चरणबद्ध रुपमा इन्धन आयात कटौती गर्ने भएको छ ।

बाइडेनको घोषणापछि अमेरिकी प्रतिबन्धले रुस पछि हट्न बाध्य हुन सक्ने सुरक्षा विशेषज्ञहरूले विश्लेषण गरेका छन् ।

साउदी अरब र अमेरिकापछि रुस विश्वको तेस्रो ठूलो इन्धन निर्यातकर्ता हो । अमेरिकाले रुसबाट ८ प्रतिशत र बेलायतले ६ प्रतिशत इन्धन आयात गर्दै आइरहेका थिए ।

युक्रेन र रुसबीच युद्ध सुरु भएलगत्तै अहिले विश्व बजारमै इन्धनको मूल्यमा अत्याधिक वृद्धि भएको छ । रुसबाट आयात बन्द हुनासाथ उपभोक्ता, उद्योग, वित्तीय बजारले अर्को विकल्प खोज्नुपर्ने हुन सक्छ । युरोपेली संघले पनि रुसबाट आयात गर्ने इन्धन कटौती गर्दै गइरहेको छ । इयूले सन् २०३० सम्म रुसमाथिको उर्जा निर्भरता कम गर्ने बताइसकेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले यस कदमले रुसको अर्थव्यवस्थामा चोट पुग्ने बताएका छन् । पेट्रोलियम पदार्थको निर्यात रुसी अर्थव्यवस्थाको महत्वपूर्ण स्रोत हो । तर रुसका साथै यसको असर अन्य पश्चिमी देशलाई पनि पर्ने देखिन्छ । युरोप, अमेरिकाका ठूला कम्पनीहरुले रुसमा कामकाज बन्द गरिसकेका छन् । म्याकडोनाल्ड र कोकाकोलाले पनि हालै रुस छोडेका छन् ।

युक्रेन र रुसबीच १३ दिनदेखि युद्ध जारी छ । रुसले युक्रेनका केही भाग नियन्त्रणमा लिए पनि राजधानी किभ कब्जा गर्न सकेकाे छैन ।