NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेसमा ११ जिल्लाको नतिजा आउँदा देउवा हावी, शेखर पक्षले कति जित्यो ?

काठमाडौं । १४ औं महाधिवेशन अन्र्तगत कांग्रेसमा १६ जिल्लाको अधिवेशन भइरहेको छ । जसमा अहिलेसम्म ११ जिल्लाको अन्तिम नतिजा आएको छ । तीन जिल्लाको नतिजा आउने क्रमममा छ । सर्लाही र सिन्धुपाल्चोकको पनि अधिवेशन हुनै बाँकी छ ।

अहिलेसम्मका १२ जिल्लामध्ये मकवानपुर, पर्सा, कैलाली, महोत्तरी, सिरहा, रौतहट र अछाम गरी सात जिल्लामा संस्थापन शेरबहादुर देउवा पक्षले जितेको छ ।

सिन्धुलीमा संस्थापनको सहयोगमा स्वतन्त्रका उपेन्द्र पोखरेल विजयी भए । बाँके, चितवन र नवलपुर र सप्तरीमा संस्थापन शेखर कोइराला पक्षले जित्यो ।

कांग्रेस सप्तरी जिल्ला सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । संस्थापन शेरबहादुर देउवा पक्षका उम्मेदवार शत्रुधनप्रसाद यादवलाई पराजित गर्दै साह सभापतिमा विजयी भएका हुन् ।

निर्वाचित साहले ११८६ मत ल्याए । पराजित यादव ११६ मतले पछि पर्दै १०७० मतमा सीमित हुन पुगे ।

अब बारा, धनुषाको नतिजा आउन बाँकी छ ।

बारा सभापतिमा संस्थापनका दुई उम्मेदवार थिए । जसमा राजेशराय यादवले ८३३ र शम्भुबहादुर बुढाथोकी ८०९ मत ल्याएका छन् ।
डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाले समर्थन गरेका रमानन्द यादवले ७०८ मत ल्याएका छन् । अब २७ फागुनमा निर्वाचन भए शेखर र सिटौला पक्ष निर्णायक हुने देखिएको छ ।

नतिजा आउन बाँकी धनुषामा विमलेन्द्र निधि पक्षका योगेन्द्र पञ्जियार जित नजिक पुगेका छन् । पहिलो चरणमा नतिजा नआएपछि दोस्रो चरणको निर्वाचन शुक्रबार हुँदैछ । दोस्रो चरणमा शेखर पक्षका उम्मेदवार दिनेश प्रसैलाले निधिका उम्मेदवारलाई समर्थन गरेका छन् । यस्तोमा संस्थापनका सन्तोष यादव पराजित हुने पक्का देखिएको छ ।

पहिलो चरणमा भने निधि पक्षका सभापतिका उम्मेदवारले सबैभन्दा बढी भोट ल्याएका थिए । निधि पक्षका योगेन्द्र पञ्यिारले १२४८ मत ल्याउँदा संस्थापन देउवा पक्षका सन्तोषकुमार यादवले ८८३ मत ल्याए । शेखर पक्षका दिनेशप्रसाद यादव प्रसैलाले ६३० मत ल्याएका थिए ।

अब सर्लाही र सिन्धुपाल्चोकमा मात्रै अधिवेशन हुन बाँकी छ ।

चितवन र नवलपुरमा भने सहमतिमा नेतृत्व चयन गरिएको छ । मकवानपुर र चितवनमा दोस्रो चरणमा निर्वाचन नगरी सहमति गरियो, नवलपुरमा भने निर्वाचन नै नगरी सहमतिमा सभापति चयन गरिएको छ ।

कहाँ कसले जिते ?

सिन्धुली

पहिलो चरणबाटै बाहिरिएका संस्थापनपक्षीय उम्मेदवार प्रेमचन्द्र दाहालले समर्थन गरेपछि दोस्रो चरणमा स्वतन्त्रका पोखरेल विजयी भए । दोस्रो चरणमा डा। शेखर कोइराला पक्षका उज्जवलप्रसाद बराल पराजित भएका थिए ।

संस्थापनले जितेका जिल्ला

मकवानपुर

मकवानपुरको नेतृत्व चयन भने फरक रह्यो । पहिलो चरणमा सबैभन्दा बढी भोट ल्याउने बुद्ध लामालाई सहमतिमा सभापति चयन गरिएको हो । सभापतिका लागि पहिलो चरणमा खसेको १ हजार ७ सय ७५ मतमा लामाले ५९२, दोस्रो भएका आनन्दराम पराजुलीले ५४५ र तेस्रो हुने जयराम लामिछानेले ५३१ मत ल्याए । तर दोस्रो बढी मत ल्याएका पराजुलीलाई आगामी स्थानीय तहको निर्वाचनमा हेटौडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमतिपछि लामालाई सभापति चयन गरिएको थियो ।

पर्सा

पर्साको नतिजा पनि फरक नै रह्यो । संस्थापनपक्षीय उम्मेदवार जनार्दन सिंह क्षेत्री ४६५ मतान्तरले विजयी भए । विजयी सिंहले एक हजार एक सय १० र श्याम पटेलले ६४५ मत मात्रै ल्याए ।

कैलाली

कांग्रेस कैलाली सभापतिमा संस्थापनपक्षीय नारायणदत्त भट्ट विजयी भए । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

महोत्तरी

महोत्तरी कांग्रेस सभापतिमा नागेश्वर यादव चयन भएका छन् । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सहमतिमा यादव सभापति चयन भएका हुन् । पहिलो चरणमा दोस्रो मत ल्याउने सुशीलकुमार यादवले समर्थन गरेपछि यादव सहमतिमा सभापति चयन भएका थिए । युवा नेता कल्याण गुरुङले संस्थापनका नागेश्वर
यादवलाई अघि सारेका थिए । डा. शेखर कोइराला र विमलेन्द्र निधिका उम्मेदवार बजरंग नेपाली पहिलो चरणबाटै बाहिरिएका थिए ।

सिरहा

रामचन्द्र यादव विजयी भएका छन् । उनी पनि संस्थापन निकटका हुन् । संस्थापन इतरका सीतादेवी यादव, पद्यनारायण चौधरीसहितका नेताको साथ पाए पनि रामसुन्दर चौधरी पराजित हुन पुगे । पुन मतदान हुनुपर्ने भन्दै पूर्व संस्थापनले विरोध गरिरहेको छ ।

रौतहट

रौतहट सभापतिमा पनि संस्थापन पक्षले बाजी मारेको छ । संस्थापन पक्षका उम्मेदवार सुनिल यादव विजयी भए । डा. शेखर कोइराला र नेता विमलेन्द्र निधिका उम्मेदवार हृदयनारायण यादवलाई संस्थापनका उम्मेदवारले पराजित गरेका हुन् ।

अछाम

संस्थापन देउवा पक्षका पुष्प शाह विजयी भएका छन् । सस्थापनकै दुई पक्षबीच प्रतिस्पर्धा भएको थियो ।

शेखर पक्षले जितको जिल्ला
बाँके

बाँके कांग्रेसको नतिजा पनि फरक नै रह्यो । पहिलो चरणमा बहुमत ल्याउन नसकेपछि फेरि चुनाव भएको थियो । पहिलो चरणमा नारायणप्रसाद गौडेलले ५६९, बादशाह कुर्मीले ५३८ र सुरेन्द्रबहादुर हमालले ३१४ ल्याए । अब गौडेल र कुर्मीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो । दोस्रो चरणमा हमालले संस्थापन पक्षका कुर्मीलाई समर्थन गरे । तर पनि दोस्रो चरणमा डा। शेखर कोइराला पक्षका गौडेल विजयी हुन पुगे ।

चितवन

चितवन कांग्रेस सभापति राजेश्वर खनाल निर्वाचित भए । पहिलो चरणका सभापतिका कुनै पनि पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा प्रवेश गरेको थियो । तर, निकटत प्रतिद्वन्द्वी मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि सहमतिमा खनाल सभापति चयन भएका हुन् । संस्थापनका श्रेष्ठले खनाललाई समर्थन गरेका हुन् । खनाल संस्थापन इतरका हुन् ।

नवलपुर

नवलपुर कांग्रेसको नतिजा पनि फरक नै देखियो । उम्मेदवारी मनोननय गरेपछि सहमतिका आधारमा पुराना नेता महेन्द्रध्वज जिसीलाई सभापति चयन गरिएको छ । नेता रामचन्द्र पौडेलसमेतको प्रयासमा जिसीलाई सभापति चयन गरिएको हो । संस्थापन पक्षका बालकृष्ण घिमिरेले उम्मेवदारी फिर्ता लिएपछि सहमतिमा जिसी सभापति चयन भएका हुन् । जिसी पूर्व संस्थापनपक्षीय नेता हुन् ।