NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

कांग्रेसलाई झट्का दिंदै पञ्जाबमा आम आदमीले यसरी जित्यो दुई तिहाई

काठमाडौं । लगातार तीनपटक दिल्लीमा मुख्यमन्त्री चलाएको आम आदमी पार्टीले कांग्रेसको परम्परागत पकड रहेको पञ्जाबमा पनि सरकार बनाउने भएको छ । आम आदमीले पञ्जाव विधानसभाका ११७ मध्ये ९२ सिट जितेर एक्लै दुई तिहाईको सरकार बनाउने पक्का गरेको हो ।

पञ्जाबका २२ लाख मतका आधारमा पार्टीभित्रबाट मुख्यमन्त्रीको उम्मेदवार बन्न सफल भएका भगवन्तसिंह मान अब मुख्यमन्त्री बन्दैछन् । जबकी अघिल्लोपटकको निर्वाचनमा कांग्रेसले पञ्जाबमा ११७ मध्ये ७७ सिट जितेर सरकार गठन गरेको थियो । यसपटक कांग्रेस कमजोर बन्दै जम्मा १८ सिटमा खुम्चिन पुगेको छ ।

अघिल्लोपटकको निर्वाचनमा भने आम आदमीले पञ्जावमा २० सिटमात्रै थियो । तर दिल्लीमा केजरीवालले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारीका क्षेत्रमा गरेको सुधारले उनको वैकल्पिक पार्टीलाई अर्को प्रदेशमा पनि बलियो दुई तिहाईको सरकार बनाउने अवसर आएको हो । दिल्लीमा आम आदमीले गरेको वाचा र सात वर्षमा गरेका सुधारले पञ्जाबी मतदातालाई पनि छोएको यो परिणामले देखाएको छ ।

गोवामासमेत आम आदमीले २ सिट जितेको छ । नरेन्द्र मोदीको पार्टीलाई गोवामा सरकार गठन गर्न एक सिट नपुगेको बताइन्छ ।

केजरीवालको भ्रष्टाचारविरुद्धको अभियानलाई नयाँ मतदाताले पनि रुचाएका छन् । पार्टी स्थापना नै भ्रष्टाचारविरोधी र सामाजिक सुधारको अभियानबाट सुरु गरेका उनको नारालाई अब केन्द्र दिल्लीबाट बाहिर पनि रुचाउन थालिएको छ ।